देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै निरन्तर सञ्चालन भइरहेको हो ।
माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुन्छ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी बताउँछन् । स्थानीय पेमा गुरुङका अनुसार डोल्पोबुद्धका सबै विद्यालय भौतिक रूपमै सञ्चालन हुँदै आएका छन् । ‘यहाँ त वैशाखदेखि नै नियमित पठनपाठन भइरहेको छ,’ स्थानीय पेमा गुरुङ भन्छन्, ‘शनिबारबाहेक हरेक दिन बालबालिकाहरू विद्यालय जान्छन् ।’
उनका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द भएनन् । गत वर्ष परीक्षा समयमै भएका थियो । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ । सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए ।
डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् ।
वीरगञ्जका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन
वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आजदेखि ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई भौतिक उपस्थितिमा नै पठनपाठन गराउन थालिएको हो ।
पहिलो दिन विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र उपस्थित भएको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले बताए ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । फलस्वरुप विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भएकोछ । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।
वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
महानगर प्रमुख विजयकुमार सरावगीले स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा सहयोग गर्नुपर्ने निकायले अड्को थापेर बस्दा विद्यालय सञ्चालनमा ढिलाइ भएको बताए ।
‘बालबालिकालाई थुनेर राख्दा उनीहरुको भविष्य बर्बाद हुन्छ भनेर कोरोना संक्रमण घटेपछि विद्यालय खोल्न खोजेका थियौं । आफ्नो अधिकार प्रयोग गर्दा समेत केन्द्रका निकायहरुले हस्तक्षेप गर्ने प्रवृत्तिले विद्यालय खोल्न सकेका थिएनौं,’ उनले भने, ‘तत्कालका लागि ठूलो कक्षा खोलेका छौं, परिस्थिति हेरेर क्रमशः अन्य कक्षा समेत सञ्चालन गर्छौं, समस्या देखिएको खण्डमा बन्द गर्छौं ।’
प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले वीरगञ्जमा कोरोना संक्रमण घटेकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको जानकारी दिए ।