After SEE Portal

चितवनको राप्ती नगरपालिकाले विद्यार्थी नियमित गराउन छात्रावास

Bridge Course

भरतपुर, ७ जेठ (रासस) : चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्रावास सञ्चालन गरेको छ । 

नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्रावासको शुरुआत गरेको हो । नगरपालिकाको वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्रावास सञ्चालन गरिएको छ । थाकलटार माविको छात्रावास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ ।

भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित गरी छात्रावास सञ्चालनमा ल्याइएको राप्ती नगरपालिकाका शिक्षा शाखा अधिकृत हुमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले माध्यमिक तहका विद्यार्थी दुई÷तीन घण्टा लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेका कारण नियमित विद्यालय आउन नसकेको बताउनुभयो । 

“शुरुआतमा दुई विद्यालयमा छात्रावास शुरु भएको छ”, अधिकारीले भन्नुभयो, “आवश्यकता र प्रभावकारिताका आधारमा यसलाई थप गर्दै लैजान्छौँ ।” उहाँले छात्रावासमा सुत्ने, खाना पकाउने ग्यास र भाँडाकुँडाको मात्रै व्यवस्था नगरपालिकाले गरेको बताउनुभयो । 

खानेकुरा विद्यार्थीले आफैँ घरबाट ल्याउने गरेका छन् । यस्तै राप्ती नगरपालिकाको वडा नं १३ कान्दामा पनि लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालनमा ल्याएको छ । कान्दामा सबै चेपाङ बालबालिका अध्ययन गर्छन् भने थाकलटार र यौरालीटारमा अधिकांश चेपाङ र जनजाति समुदायका विद्यार्थी अध्ययन गर्छन् ।

यौरालीटारको गणेश माविको छात्रावास भवन निर्माणको काम अन्तिम चरणमा रहेको र यही महीनाभित्रै निर्माण सम्पन्न हुने प्रधानाध्यापक रामकृष्ण प्रजाले जानकारी दिनुभयो । उहाँले असारपछि छात्रावास सञ्चालन गर्नेगरी तयारी गरिएको बताउनुभयो । 

शान्तिगृह नेपालले रु ४९ लाख ६२ हजारमा छात्रावास भवन निर्माण गरिदिएको हो । त्यसको व्यवस्थापन भने नगरपालिकाले गर्नेछ ।

“छात्रावासमा ५० विद्यार्थी राख्ने योजना छ”, प्रजाले भन्नुभयो, “यसले विद्यालयको शैक्षिक अवस्था सुधार हुने आशा राखेका छौँ ।” गणेश माविमा राप्ती नगरपालिकाको वडा नं ७, ११, १२, १३ र मकवानपुरको राक्सिराङबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । 

स्कूल आउन जान दैनिक चार÷पाँच घण्टा हिँड्नुपर्ने भएपछि माध्यमिक तहका धेरै विद्यार्थी नियमित विद्यालय आउन नसकेको प्रजाले बताउनुभयो ।

थाकलटार माविका प्रधानाध्यापक सोमबहादुर लामाले छात्रावासमा सात विद्यार्थी नियमित बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “निकै टाढाका विद्यार्थी मात्रै यहाँ बस्ने गरेका छन्, अन्य विद्यार्थी ट्युसन, कोचिङ शुरु भएपछि छात्रावासमै बस्छन् ।” 

विद्यालयमा ४२२ विद्यार्थी छन् । बस्ने व्यवस्था भए पनि खानेकुराको प्रबन्ध नहुँदा समस्या हुने गरेको लामाले बताउनुभयो । राप्ती नगरपालिकामा प्रावि, निमावि र मावि गरेर ५० विद्यालय छन्।

A Levels MA