गुणस्तरीय र अनुसन्धानमूलक शिक्षाको आवश्यकता

मुलुकको विकासका लागि गुणस्तरीय र अनुसन्धानमूलक शिक्षा आवश्यक रहेको बताइएको छ । 


गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘शैक्षिक अभ्यासमा उच्च प्रभाव’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले युवालाई अनुसन्धानका क्षेत्रमा लगाइए मात्र मुलुकको विकास हुने र फाउण्डेशनले युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसादको योगदानलाई समेटेर विराटनगरमा उहाँको नाममा सङ्ग्रहालय स्थापना गरिने उहाँले जानकारी गराउनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा नीलकण्ठ मकाजु श्रेष्ठले अनुसन्धानमूलक शिक्षाको विकासका लागि काठमाडौँ विश्वविद्यालयले काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पढेका युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले स्वदेशी विश्वविद्यालयलाई अनुसन्धान गर्ने थलोका रुपमा विकास गरेमात्र मुलुकको शिक्षा क्षेत्रको विकास हुने बताउनुभयो । सरकारले नीति नियम बनाउँदा अनुसन्धानमूलक क्षेत्रमा रकम विनियोजन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले परिस्थितीअनुकूल निर्णय गर्नसक्ने नेता गिरिजाप्रसाद भएको उल्लेख गर्दै गिरिजाबाबु प्रधानमन्त्री भएका बेला नेपालको शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । गिरिजाप्रसाद फाउण्डेशन क्यानडाका अध्यक्ष तुलसी पौडेलले नेपालको शिक्षा विश्वको शिक्षालाई प्रतीस्पर्धा गर्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडन कलेजका संस्थापक प्राचार्य डा हिमलाल घिमिरेले पर्यटनबाट नेपालको समृद्धि, अर्थशास्त्री डा दधी अधिकारीले मुलुकको आर्थिक समृद्धि, डा वसन्त गिरीले हावा, पानी र खाद्यान्नबाट मानव जीवनमा पारेको असर, डा नारायण थापाले नेपालको परम्परागत शिक्षाले पारेको प्रभावसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।