After SEE Portal

प्रकाशक र प्रधानाध्यापकलाई धमाधम स्पष्टीकरण

Bridge Course

पाठ्यपुस्तकमा ठगी गर्ने प्रकाशक र विद्यालय सञ्चालकलाई आजबाट २४ घण्टे लिखित स्पष्टीकरण माग्न थालिएको छ । 

पाठ्यक्रम विकास केन्द्रले त्यस्ता प्रकाशक र प्रधानाध्यापकलाई सानोठिमीमा बोलाउँदै स्पष्टीकरण पत्र थमाएको छ । केन्द्रका पदाधिकारीहरुका अनुसार आज छ वटा प्रकाशक र २० भन्दा बढी प्रिन्सिपलका नाममा पत्र काटिएको छ । 

केन्द्रका सूचना अधिकारी (निर्देशक) गणेशप्रसाद भट्टराईले केही आएर पत्र बुझेको र बाँकीलाई भोलि पत्र बुझाइने बताउँदै भने, “कारवाही गर्न पछाडि पर्ने छैनौँ ।”

उनले पाठ्यपुस्तक प्रकाशकका साथै प्रधानाध्यापक उत्तिकै जिम्मेवार भएको बताए । “आफ्नो विद्यालयमा कुन पुस्तक प्रयोग गर्ने भन्ने तय गर्ने जिम्मेवार व्यक्ति प्रिन्सिपल हुन् । त्यसैले सबैभन्दा ठूलो कमजोरी उनीहरुकै देखिन्छ” उनले भने, “त्यसैले प्रिन्सिपललाई पनि कारवाहीको घेरामा ल्याएका हौँ ।” आर्थिक प्रलोभनका कारण विद्यालय सञ्चालक वा प्रधानाध्यापकले महंगा र अनधिकृत पाठ्यपुस्तक प्रयोगमा ल्याउने गरेका छन् । निजी प्रकाशकहरुले विद्यालय सञ्चालकहरुलाई पुस्तक हेरी ४५ प्रतिशतसम्म कमिसन दिने गरेको थाहा भएको छ । पाठ्यपुस्तकको प्रतिपृष्ठ मूल्य निर्धारण भए पनि निकै बढी मूल्य कायम गरी पुस्तक बिक्री हुँदै आएको छ । अभिभावकलाई पाठ्यपुस्तकको सूची उपलब्ध नगराएर विद्यालयले ‘फलानो पसलमा किन्न जानू’ भन्ने गरेको छ । पाठ्यपुस्तक बाहेक कापी पनि जबरजस्ती भिडाइने गरिएको छ ।

सेन्टजेभियर्स स्कुल, सेन्टमेरिज स्कुल, रोजबर्ड स्कुल लगायतलाई कारवाहीको पत्र बुझाइएको थाहा भएको छ । अन्य विद्यालयका प्रधानाध्यापक र प्रकाशकको नाम सार्वजनिक गरिएको छैन । 

यसैबीचमा केन्द्रले आज सूचना जारी गरी नेपालको नयाँ नक्सा नराखी पुरानै पाठ्यपुस्तक बिक्री गर्नेलाई कारवाही गर्ने जनाएको छ ।

हिजो शनिबार अनुगमन समितिले गरेको अनुगमनका क्रममा कतिपय विद्यालयले कक्षा २, ३ र ६ मा स्वीकृत नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको सट्टा पुरानै पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गरी विद्यार्थीलाई पाठ्यपुस्तक तथा पाठ्यसामग्री खरिदको निम्ति सूची उपलब्ध गराएको, तोकिएको विषयका बाहेक सन्दर्भ सामग्री भनी अनावश्यक सङ्ख्यामा पाठ्यपुस्तक तथा पाठ्यसामग्री खरिद गर्न अभिभावकलाई वाध्य पारिएको देखिएको सोही सूचनामा उल्लेख गरिएको छ । “जानकारीमा आएका त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण माग गरिसकिएको छ” सो सूचनामा स्पष्ट लेखिएको छ ।

अझै पनि कतिपय पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा मूल्य उल्लेख नभएको, पुरानो मूल्यसूचीमा कालो पोती वा स्टिकर टाँस गरी नयाँ मूल्य तोकेको, नेपाल सरकारले निर्धारण गरेको भन्दा अधिक मूल्य उललेख गरेको समेत पाइएकोले त्यस्ता प्रकाशकलाई कारवाहीको दायरामा ल्याउन पाविकेन्द्रले प्रतिवद्धता जनाएको छ ।

यसैबीच सञ्जीवनी पब्लिकेसनले २०७८ सालमा छापेको नैतिक शिक्षा बिक्री गरेको पाइएको छ । नयाँ पाठ्यक्रमअनुसार कक्षा ६ देखि ८ मा नैतिक शिक्षा हटाइसकिएको छ । मानव मूल्य शिक्षा नामक विषय थप गरिएको छ । तर सो प्रकाशकले नैतिक शिक्षा भिडाउन सफल भएको छ । २०७८ सालमा छपाइ गरिएको उल्लेख भएको सो पाठ्यपुस्तकमा ७५ वटा जिल्ला कायम रहेको उल्लेख छ । 

पाविकेन्द्रका सूचना अधिकारी भट्टराईले सो प्रकाशकलाई बोलाएर स्पष्टीकरणपत्र दिइसकिएको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books