A Levels MA

राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुने

राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ ।

नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको अध्ययन अध्यापन गराउन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । जनस्वास्थ्यको बिपिएच र कानूनतर्फ बिएलएलबी शुरू हुने छ । यी विषयको अध्ययनले यस भेगका शिक्षार्थीले अन्यत्र गई अत्यधिक व्ययभार व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

शिक्षार्थीलाई कम व्ययभार हुने शुल्क निर्धारण हुने जनाइएको छ । जनस्वास्थ्य विषयमा अध्ययन आवेदनको सूचना प्रकाशित भइसकेको छ । कानून विषयको स्नातक तहको पाँच वर्षे नयाँ पाठ्यक्रम तयार गरिएको बताइएको छ । उपकुलपति प्राध्यापक भरत झाका अनुसार शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई आवश्यकताअनुरूपको मानव संसाधन विकास गर्ने लक्ष्य लिई विश्वविद्यालयले करिब अढाइ वर्षमा चार वटा विषयको शिक्षा दिइरहेको छ ।

सोअन्तर्गत बिबिए, बिएससी सीएसआइटी, बिसिए र बिएससी एमएलटी विषयमा २०० शिक्षार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयको आफ्नो भवन नभएका कारण भाडामा लिई कक्षा सञ्चालन गर्नुपरेकाले शिक्षार्थीको आवेदनअनुरूपको सङ्ख्यालाई शिक्षा दिन नसकिएको अवस्था रहेको छ । विश्वविद्यालयमा एमबीए विषयको पढाइको गृहकार्य भइरहेको जनाइएको छ । विश्वविद्यालयको पूर्वाधार विकासका लागि विभिन्न स्थलको सम्भाव्य अध्ययन गरिएको छ ।

सम्भाव्य अध्ययन गरिएका स्थलमध्ये मणिमण्डपको २४ बिघाको क्षेत्रफल र फूलगामाको क्षेत्र विचाराधीन रहेको छ । आवश्यकताअनुरूपको मानव संसाधन विकासअन्तर्गत आगामी दिनमा सो विश्वविद्यालयमा आँखासम्बन्धी शिक्षा शुरू गर्ने योजनासमेत रहेको छ । जनस्वास्थ्य विषयको स्नातक तहको शिक्षाले गति लिइसकेपछि आँखासम्बन्धी शिक्षाको थालनी सोच रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कृषिसम्बन्धी स्नातक तहको शिक्षाको पूर्वाधार विकासका लागि विज्ञसहितको टोलीले सिरहा जिल्लामा सम्भाव्य अध्ययन गरेको छ । आगामी दिनमा मिथिला भूमिको दर्शन र चिन्तनलाई जीवन्त राख्न प्राच्य दर्शन र मिथिला कला विषयमा समेत शिक्षण गरिने योजना रहेको जनाइएको छ ।

Thuprai - Books and E-books