गाउँपालिकाभित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान

मकवानपुरको मनहरि गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान गर्ने भएको ।

सम्पूर्ण विद्यालयको पूर्वाधार तथा गुणस्तर सुधारका लागि गाउँपालिकाले अनुदान प्रदान गर्ने भएको हो । कोरोना भाइरसका कारण विद्यालय बन्द रहेको अवस्था शिक्षा समितिको हालै सम्पन्न बैठकले सो गाउँपालिका अन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको हो ।

पालिका भित्र रहेका विद्यालमा पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यममा पठनपाठन लागि प्रोत्साहन अनुदान दिइने गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले बताए ।

गाउँपाकिाले त्यहाँको वडा नं ६ सुनाचुरीस्थित राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन रु ६ लाख ५० हजार, मनहरि–७ को विजोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालय निर्माणका लागि रु ६ लाख ५० हजार र मनहरि–२ स्थित सीता माविलाई सूचना प्राविधिक प्रयोगशालाका लागि रु ६ लाख ५० हजार अनुदान दिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

यस्तै अङ्ग्रेजी माध्यम प्रोत्साहनका लागि मनहरिस्थित रोट्री मावि, वडा नं ४ स्थित पशुपतिनाथ मावि र वडा नं ९ स्थित रिशेश्वर अधारभूत विद्यालय तथा वडा नं १ स्थित आधारभूत विद्यालय चक्रीलाई रु ५०÷५० हजार दिने भएको छ ।

गाउँ शिक्षा ऐन २०७५ वमोजिम माध्यमिक तह सम्मको शिक्षा व्यवस्थित गरिने पालिकाको वार्षिक नीति अनुरुप गाउँपालिकाले विद्यालयलाई बजेट विनियोजन गरेको हो । गाँउपालिका भित्र संचालित सामुदायीक विद्यालयको स्तरउन्नतिमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई अनुदान छुट्याइएको अध्यक्ष उप्रेतीले बताए ।

‘शिक्षाक्षेत्रको विकासको लागि विद्यालयको भौतिक पूर्वाधार सुधार, खानेपानी, फर्निचर लगायत विपन्न जेहेन्दार विद्यार्थीहरुका लागि पोसाक, शैक्षिक तथा खेलकूद सामग्री वितरण जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ अध्यक्ष उप्रेतीले भने, ‘शिक्षामा सवैको पहुँच कार्यक्रम संचालन गरी विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने र विद्यालय छाड्ने दरमा कमी ल्याउन आधारभूत तहको शिक्षालाई निशुल्क तथा अनिवार्य गराउने नीतिलाई अनुसरण गरी बजेटको व्यवस्थापन गरेका हौं ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal