Thuprai - Books and E-books
Scholarship edusanjal

बन्द भएको विद्यालयमा विद्यार्थीको चाप

Admission edusanjal

विद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व जोगाउन पहल गरेनन् । दरबन्दीका ४ जना शिक्षक पनि नियमित विद्यालय आएनन् । निजी स्रोतमा राखिएका शिक्षक पनि पारिश्रमिक नपाएपछि विद्यालय आउँनै छाडे । विद्यार्थी संख्या घट्दैघट्दै पाँचमा पुग्यो । कहिले विद्यालयको ढोका खुल्यो । कहिले बन्दै रह्यो ।

२०४० सालमा स्थापना भएको खोटाङको एक विद्यालय वर्साैंसम्म यसरी नै चल्यो । अन्ततः २०७२ सालमा दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका–२ डाँडागाउँ, सोल्मास्थित जनजागृति आधारभूत विद्यालय पुरै बन्द भयो ।

समुदायले व्यवस्थापनमा चासो नदेखाएपछि बन्द भएको विद्यालयले समुदायकै पहलमा वैकल्पिक शिक्षा प्रदान गर्न थालेपछि देशै भरिका विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो । अहिले ५० जिल्लाका ९५ विद्यार्थी अध्ययनरत छन् ।

 

यसरी ब्युँतियो विद्यालय

विद्यालयलाई पुनः ब्युताँउन केही अभिभावकले दुई वर्षपछि पुनः चासो राखे । अभिभावकले स्वयमसेवक संस्था शुभद्रा मदन फाउण्डेसनसँग सहकार्य गरी विद्यालयलाई पुनः सञ्चालनमा ल्याए । भौतिक सम्पत्ति नभएको यो विद्यालयले दुईवर्षमा नै काँचुली फेर्यो ।

विद्यालय अहिले देशैभरिका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, अनुसन्धानकर्ताको गन्तव्य स्थलको रुपमा विकास भएको छ । ‘देशैभरिका शिक्षक, विद्यार्थी तथा नीति निर्माता बुझ्न आउँछन् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर राईले भने, ‘५० जिल्लाका ९५ जना विद्यार्थीले विभिन्न विषयमा व्यवसायिक ज्ञान हासिल गरिरहेका छन् ।’

स्थानीय शिक्षाविद् मदन राईको वैकल्पिक शिक्षाको अवधारणालाई अनुशरण गर्दै यो विद्यालयले नेपाल सरकारले लागु गरेकोे पाठ्यक्रमलाई क्रमबद्ध गरी परिमार्जन सहित अन्य १२ विषय थप गरी पठनपाठन गराउन थालेको छ । विद्यालयमा कम्प्युटर ल्याब, पुस्तकालयसहित अन्य १० प्रयोगशाला छन् । हरेक प्रयोगशालामा शिक्षक विद्यार्थी व्यस्त हुने गरेका छन् ।

कृर्षि फार्ममा विद्यार्थी

स्थानीय शिक्षाविद् मदन राईको वैकल्पिक शिक्षाको अवधारणालाई अनुशरण गर्दै यो विद्यालयले नेपाल सरकारले लागु गरेकोे पाठ्यक्रमलाई क्रमबद्ध गरी परिमार्जन सहित अन्य १२ विषय थप गरी पठनपाठन गराउन थालेको छ । विद्यालयमा कम्प्युटर ल्याब, पुस्तकालयसहित अन्य १० प्रयोगशाला छन् । हरेक प्रयोगशालामा शिक्षक विद्यार्थी व्यस्त हुने गरेका छन् ।

विद्यालयले कृर्षि फार्म, पशु फार्म, पंक्षी फार्म, माछा फार्म, भण्डारण तथा प्रशोधन उद्योग, फर्निचर उद्योग, सिलाइ कटिङ, इन्जिन तथा धातु वर्क सप, भान्छा प्रयोगशाला, स्मिङपुल जस्ता विषयमा विद्यार्थीलाई सैद्धान्तिक तथा प्रयोगात्क शिक्षा प्रदान गर्दै आएको छ ।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ र स्थानीय पाठ्यक्रम प्रारुप २०७१ अनुसार विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित तरकारी,  फलफूल र अन्न बालीलगायतका विषयलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गरी व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।

बोली, भाषा, प्रकृति–विज्ञान तथा गणित, खाना, लुगा, घर, प्रविधि, स्वास्थ्य, यौन र योग, मनोरञ्जन, मानविकी तथा व्यवस्थापन, र्सिजनशील गतिविधि, मनोयोग, सन्तुलन जस्ता विषयमा पाठ्यक्रम तयारगरी सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएका अध्यक्ष राईले बताए ।

विद्यालय जीवनोपयोगी नमूना सिकाई केन्द्रको रुपमा विकास भइरहेको छ । सिकाइमैत्री वातावरण तथा व्यवहारिक शिक्षाका कारण विद्यालय देशैंभरिका विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको हो ।

विद्यालय निःशुल्क तथा आवसीय भएका कारण विद्यार्थीहरू लाई विहान पाँच बजेदेखि १० बजेसम्म व्यस्त राख्ने गरिएको छ । विद्यालयमा ६ घण्टा सौद्धान्तिक कक्षा हुन्छ भने अन्य समय विद्यालयले सञ्चालन गरेका विभिन्न फार्ममा विद्यार्थी तथा शिक्षकहरू व्यस्त हुने गरेका छन् ।

विद्यालय निःशुल्क
माछा फर्ममा व्यस्त शिक्षक विद्यार्थी  

विद्यार्थी तथा शिक्षक खेतबारीमा तरकारी खेती गर्छन् । गोडमेल गर्छन् । पानी हाल्छन् । उत्पादन भइसकेपछि आफैं बजारमा लान्छन् । उनीहरूले उत्पादन गरेका सम्पूर्ण तरकारीहरू गाउँ तथा स्थानीय बजारमा खपत हुन्छन् । शिक्षक, विद्यार्थी, अभिभावक सबै उत्साहित छन् । सबैले श्रमको सम्मान गर्न जानी सकेको हुँदा यो विद्यालय अबको एकदुई वर्षमा नै नेपालको अनुकरणीय नमुना विद्यालय बन्ने अध्यक्ष राईको विश्वास छ ।

गोडमेल गर्दै विद्यार्थी

बन्द हुँदा कक्षा पाँचसम्म पढाइ हुने सो विद्यालयमा अहिले कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ । ‘निकट भविष्यमा नै कक्षा १२ सम्म पठनपाठन गराउने सोचमा छौं ।’ अध्यक्ष राईले भने, ‘विभिन्न देशका सफल शैक्षिक अभ्यासको अध्ययन गरी विद्यार्थीलाई बाँच्न सिकाउने शिक्षा प्रदान गर्छौं ।’

विद्यालयमा छिमेकी जिल्लाका साथै देशैंभरिका विद्यार्थी पढ्न आउछन् । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा आएजति सबै विद्यार्थीलाई भर्ना गर्न नसकिने विद्यालयले जानकारी दियो । विद्यालयमा अहिलेदेखि नै विद्यार्थीहरू नयाँ भर्नाका लागि आउने गरेका छन् । ‘विद्यालयले विद्यार्थीको रुचि अनुसारको व्यवहारिक सीप सिकाउँछ ।’ भोजपुर तिवारी भञ्ज्याङका ४७ वर्षीय प्रकाश राईले भने, ‘मेरो छोराले ५ वर्ष अघि कक्षा ७ देखि पढ्न छोड्यो, उसको रुचि वर्कसममा छ । उसलाई आउँदो शैक्षिक सत्रमा विद्यालयमा भर्ना गराउ भनेर अहिले नै आएको हुँ ।’

विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नका लागि योग्यता शिक्षा, कृषि, उद्योग, व्यापार र सेवालाई व्यवहारिक तथा सैद्धान्तिक रुपमा शिक्षण गराएर अर्थ शिक्षा प्रदान गर्ने गरेको हुँदा आफ्नो रोजाइमा परेको कक्षा ७ मा अध्ययनरत धनकुटाकी कमला राइले बताइन् । ‘मानिसबाट उत्सर्जित फोहोर तथा अन्य फोहोर मैलाबाटै अर्गानिक मलखाद बनाउँछौं ।’ उनले भनिन्, ‘विद्यालय हाताभित्रै अर्गानिक तरकारी उत्पादन गर्छौं ।’ विद्यालयमा नै बालबालिकालाई भात पकाउन, लुगा सिलाउन गाईवस्तुको स्याहारसुसार गर्न सिकाइन्छ ।

गाई दुहुँदै विद्यार्थी

विद्यालयमा दरबन्दीका शिक्षक २ जना छन् । फाउण्डेसनले १० जना शिक्षकलाई पारिश्रमिक प्रदान गरेर राखेको छ । छात्रावासमा विद्यार्थीको चाप छ । विद्यालयमा इन्टरनेटको सुविधा छैन । ‘आधुनिक सिकाइ प्रविधिका बारेमा अद्यावधिक हुन कठिन भइरहेको छ ।’ शिक्षक प्रकाश राईले भने, ‘पूर्वाधार विकासकालागि आर्थिक स्रोत जुटाउन सकेका छैनौं ।’

विद्यालय व्यवस्थापनमा अभिभावकको चासो बढेको छ । अभिभावकहरु आफ्ना छोराछोरीका मासिक प्रगति बुझ्न विद्यालय आउने गरेका छन् । टाढाटाढाका अभिभावकले फोनमार्फत  आफ्ना छोराछोरीको बारेमा बुझ्ने गरेको विद्यालयले जानकारी दियो ।

Courses edusanjal
Select college / campus
Schools edusanjal