A Levels MA

एसइईको नतिजा साउन दोस्रो सातासम्म प्रकासन गर्ने तयारी

नयाँ मापदण्डका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्याङ्न र नतिजा प्रकाशन आगामी साउनको १५ गते सम्ममा गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक मापदण्डसहितको कार्यविधि पारित गरेसंगै एसईईको नतिजा प्रकाशनको बाटो खुलेको हो ।

एसईई परीक्षामा सामेल हुनका लागि परीक्षा आवेदन फारम भरेका ५ लाख १७ हजार विद्यार्थीको मूल्याङ्न विवरण सम्बन्धित विद्यालयले असार २० गते भित्र आफ्नो शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनु पर्ने व्यवस्था सहितको कार्यविधि बोर्डले पारित गरेको छ ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वयएकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने जानकारी दियो । कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको बोर्डले जानकारी दियो।

बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरी असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी एकाइमा विवरण पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले बताए ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्याधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।

बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले मूल्याङ्कन समितिमा प्रधानाध्यापक, गणित शिक्षक, विज्ञान शिक्षक, अङ्ग्रेजी शिक्षक र वरिष्ठ शिक्षक रहने व्यवस्था मिलाइएको बताए । “गत वर्ष प्रधानाध्यापकलाई सबै जिम्मेवारी दिँदा जथाभावी अङ्क हालेको गुनासो आएपछि विषय शिक्षकलाई समावेश गर्ने निर्णय गरिएको हो” उनले भने ।

प्रयोगात्मक विषय भएमा कक्षा कार्य, हाजिरी, परियोजना कार्य आदिका लागि २० अङ्क, सैद्धान्तिक विषयका लागि ५५ अङ्क र बाँकी २५ अङ्क प्रयोगात्मकका लागि प्रदान गर्ने ढाँचा तयार गरिएको छ । त्यस्तै प्रयोगात्मक नभएका विषयमा हाजिरी, परियोजना कार्य लगायतका लागि २५ अङ्क र आन्तरिक परीक्षाको ७५ अङ्क प्रदान गर्न सकिनेछ । आन्तरिक परीक्षा सञ्चालन नगरेका विद्यालयका हकमा कुनै पनि विधिबाट परीक्षा लिएर सो अङ्क समावेश गरिदिनुपर्ने हुन्छ ।  उनले ८० प्रतिशतभन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने जानकारी दिए ।

Thuprai - Books and E-books