केयुको उपकुलपतिमा प्राडा थापा

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् ।उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले प्राडा रामकण्ठ माकजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । 

सो कमिटिमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।समितिले गरेको सिफारिस अनुसार नै कुलपति तथा प्रधानमन्त्रीले प्राडा थापालाई उपकुलपतिमा नियुक्ति दिएको सर्च कमिटिका सदस्य तथा सो विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेसराज शर्माले जानकारी दिए ।

प्राडा थापा सोही विश्वविद्यालयका रजिष्ट्रार थिए । दोस्रो कार्यकालमा उनले सो पदबाट राजिनामा दिएर सोही विश्वविद्यालयमा इन्जिनियरिङ् विषयमा प्राध्यापन  थिए ।   

उपकुलपति छनोटका  लागि  पहिलो पटक विज्ञापन गरिएको थियो । आवेदकहरु मध्येबाट छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको  थियो । समितिले पहिलो नम्बरमा पूर्व उपकूलपति प्राडा मकाजुलाई र दोस्रोमा प्राडा थापालाई सिफारिस गरेको थियो ।

काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेसा गर्दै आएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गरिसकेका छन् । नवनियुक्त थापाले ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रारको पदभार सम्हालिसकेका छन् ।

पेसाले मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका छन् ।

उपकुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालय पुगेका छन् ।

सो क्रममा उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागि पर्ने बताए । उनले हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पूर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताए ।

सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गरेका थिए । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

Thuprai - Books and E-books