बालबालिकाको शिक्षा घरबाट सुरु हुन्छ । अभिभावक बालबालिकाका प्रथम शिक्षक हुन। धेरै सफल बालबालिकाले अभिभावकको प्रोत्साहन घरमा मात्रै हैन विद्यालयमा हुँदा पनि भन्ने भएकाले आफ्ना बालबालिकालाई प्रेरणा दिनुपर्दछ । पारिस्थितिक प्रणाली विकासको सिद्धान्तअनुसार बच्चाको विकास घर, विद्यालय र समुदायमा हुन्छ । घर, समुदायले विद्यार्थीको शैक्षिक प्रदर्शनमा अधिक प्रभाव पार्दछ । यहाँ सन् १९९० मा मोट्सिङ्गरको भनाइलाई राख्न सान्दर्भिक देखिन्छ, "दुई जना आमाबाबु भएमा बालबालिकाले विद्यालयमा दुइ सय प्रतिशत सफलताको राम्रो मौका पाउँछन् ।" अहिलेको यो समयमा अभिभावक सबैलाई सबैभन्दा टाउको दुःखाइको विषय बनेको बालबालिकाको अध्ययनका सन्दर्भमा विभिन्न कुरा अपनाएर शिक्षण गर्ने भनिएको छ यो सम्भावना भएसम्म राम्रो हो । जसरी एउटा कुमालेले माटोलाई जस्तो आकारमा पनि बदल्न सक्छ त्यस्तै शिक्षक, अभिभावकले बालबालिकालाई जस्तो बनाउन चाह्यो त्यस्तै हुन्छन् । उचित समय बालबालिकालाई दिएर उनीहरुको भावना, अन्तरमन बुझेर शिक्षा दिनु अति उत्तम हुन्छ । लकडाउनको समयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अलावा व्यवहारिक ज्ञान दिन सकेमा उत्तम हुन्छ । सहरमा बस्ने धेरै बालबालिकालाई व्यवहारिक ज्ञान बारे कुनै जानकारी छैन किनकि उनीहरुले देखेका छैनन् । यस सन्दर्भमा सहरमा बस्ने एक विद्यार्थीलाई मैले अध्यापन गराउने क्रममा, "भैंसीले दूध दिन्छ" भन्दा बच्चाले अचम्म मान्दै “हो र सर ? हैन होला ?” भनेको सुन्दा लाग्यो हामी शिक्षा प्रदान गर्ने क्रममा यहाँसम्म आइपुगे छौँ कि बालबालिकालाई अरु हैन रट्नुपर्छ, धेरै नम्बर ल्याउनु पर्छ भन्ने मानसिकता हावी छ ।
ग्रामीण तथा सहरी क्षेत्रका बालबालिकालाई अभिभावकले घरायसी कार्य खाना पकाउने, तरकारी काट्ने, तरकारीमा मसलाको मात्रा राख्न लगाउने गर्दा उनीहरुमा उत्सुकता उत्पन्न भइ काम गर्ने इच्छा शक्ति बढ्छ । यसबाट बालबालिकाले धेरै सिक्ने अवसर पनि पाउँछन् ।
घरायसी गणितका रूपमा बालबालिकालाई अभिभावकले रुपियाँ दिएर पसलमा चिनी आदि सामान किन्न पठाउने र अभिभावकले उक्त सामान पहिलेको मुल्यभन्दा अलि बढी मुल्यमा खरिद गर्ने बालबालिकालाई नाफा, नोक्सानके भयो भन्न लगाउन सकिन्छ । त्यसपश्चात बालबालिकालाई प्रश्न यो कहाँबाट आएको हो ? यसमा केके कुरा राखिएको छ ? यसको उत्पादन मिति भन ? आदि प्रश्न सोधेर उत्तरको लागि सहयोग गर्न सकिन्छ । यसबाट बालबालिकामा कम्तीमा यसको उत्पादन मिति, राखिएका सामग्री जान्ने अवसर मिल्छ ।
सामाजिक व्यवहारमा नातागोताका सम्बन्ध, आफूभन्दा ठूलोलाई कस्तो व्यवहार गर्ने ? उनीहरुलाई सिकाउन सकिन्छ यसबाट बालबालिकाले सम्बन्धको बारेमा सिक्ने अवसर पाउँछन् ।
अभिभावकले बालबालिकालाई क्यारिकेचर गर्न लगाउने र उत्सुक बनाउने गरेमा बालबालिका खुशी हुन्छन् ।
नृत्य ,सङ्गीत खेलकुद लगायत रुचिअनुरुप बालबालिकालाई प्रदर्शन गर्न लगाउने गरेमा यसबाट उनीहरुले आफ्नो रुचिप्रति जागरुक हुने अवसर पाउँछन् ।
व्यवहारको सम्बन्धमा बालबालिकालाई सिकाउन सकिन्छ । यसबाट उनीहरुलाई आफूभन्दा सानालाई माया गर्ने, ठुलालाई आदर गर्ने बानीको विकास हुन्छ ।
बालबालिकालाई कम्तिमा आफूसङ्ग भएका पुस्तकको शुद्धसँग उच्चारण गर्न लगाउनुपर्दछ किनभने धेरै बालबालिकालाई राम्रोसँग शुद्ध उच्चारण गर्न आउँदैन।
व्यक्तिगत बानी व्यवहारमा समय समयमा हात धुने, नुहाउने, आफ्नो कपडा धुन लगाउने, नङ काट्न लगाउने, आफ्नो कोठा सफा गर्न लगाउने गर्दा धेरै राम्रो हुन्छ ।
अभिभावकसँग बालबालिकालाई नियमित योग गर्न लगाउने गर्दा उनीहरु स्वस्थ रहन्छन् ।
बालबालिकालाई अभिभावकले घरमा हाजिरी जवाफ गराएर उनीहरुको बुद्धिमता मापन गर्न, बढाउन सकिन्छ ।
समयमा खानेकुरा, पानी आदि कुराहरु खान, पिउन लगाउन सकिन्छ ।
अभिभावक सबै घरमा बसिरहेको समयमा बालबालिकालाई अगाडि गएर बोल्न लगाइ उनीहरुको बोल्ने क्षमता विकास गर्न सकिन्छ ।
सकेसम्म बालबालिकाको दिमागमा कोरोनासँग सम्बन्धित नराम्रा कुराहरु नराख्दा अति उत्तम हुन्छ किनकी उनीहरुलाई डराउने खालका कुराहरुले मानसिक तनाव हुन्छ ।
ठिक समयमा सुत्ने, उठ्ने, सहयोग गर्ने बानीको विकास गराउन सकेको खण्डमा स्वस्थ्य बालबालिकाको परिकल्पना साकार भै भविष्यमा उनले देखेका सपना पूरा गर्न अवश्य सकिन्छ । यसका साथै अभिभावक मोडलकारुपमा प्रस्तुत हुने, स्वस्थ आलोचना गर्ने, समय दिने, बालबालिकालाई कथाका माध्यमबाट परिश्रम र मेहनतको कुरा बुझाउने, साथी सरह व्यवहार गर्नु राम्रो हुन्छ । उपयुक्त क्रियाकलाप उचित समय तालिका बनाएर गराउँदा झनै राम्रो हुन्छ ।
अन्त्यमा,
स्कूल शिक्षाको अलावा बालबालिकालाई व्यवहारिक शिक्षा दिएमा अझ राम्रो सामाजिक सीप र सुधारिएको व्यवहारको साथ बढ्न मद्दत पुग्दछ । घरबाट राम्रो समर्थन पाउने, व्यवहारिक शिक्षा प्राप्त बालबालिकाले विद्यालयमा राम्रो ग्रेड हासिल गरेका छन् र उच्च आत्म सम्मानको साथ हुर्केका छन्
लेखक महाँकाल जनजागृत मावि बूढानीलकण्ठ नगरपालिका गोल्फुटारका विज्ञान शिक्षक हुन् ।