After SEE Portal

शिक्षण संस्था बन्दको सिफारिसको सम्भावना

Bridge Course

कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षण संस्था पुनः बन्दको सम्भावना बढेको छ । 

आज शनिबार अपरान्ह ४ बजे कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ । बैठकले शिक्षण संस्था बन्दको सिफारिस गर्ने सम्भावना रहेको बुझिएको छ ।

सीसीएमसीका संयोजक समेत रहेका नेपाल सरकारका सचिव डा. खगराज बरालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाउने निर्णय गरेकोले शिक्षण संस्था सञ्चालन गर्न छुट दिन नसकिने अवस्था रहेको बताउँदै भने, “विद्यालय परिसरभित्र विद्यार्थीको भीडलाई रोक्न सकिने अवस्था रहँदैन । आज सीसीएमसीको बैठक बोलाइएको छ । त्यसले शिक्षण संस्था बन्दको सिफारिस गर्नसक्दछ ।”

आजको बैठकमा वरिष्ठ चिकित्सकहरुलाई समेत बोलाइएको छ । यसअघि सीसीएमसीले विद्यालयका सञ्चालक, शिक्षकका सङ्घसंगठन, अभिभावक महासङ्घ लगायतका सरोकारवालासँग सुझाव लिइसकेको छ । उनीहरुले सिकाइ नपुगेको भन्दै सकभर शिक्षण संस्था बन्द नगर्न सुझाव दिएका थिए ।

सीसीएमसीको बैठकले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । सचिव डा. बरालले आफू यसबीचमा केही विद्यालयमा पुगेको र त्यहाँ विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पाएको बताए । “कक्षाकोठाभित्र पनि गए । त्यहाँ एउटा टिफिन बक्समा चार, पाँच जना विद्यार्थी घेरिएर खाइरहेको पनि देखे” उनले थपे, “विद्यालयहरुले कुनै स्वास्थ्य मापदण्ड पालना नगरेको पाए । यस्तो जोखिमको अवस्थामा विद्यालय सञ्चालन गर्नु त्यति उपयुक्त हुँदैन । विद्यालय सञ्चालन गर्नुपर्ने भएमा सिफ्टका आधारमा गर्न सकिन्छ ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब अनलाइनका माध्यमबाट पठनपाठन गर्नु उपयुक्त हुने बताए । “विद्यालयमा २५ जनाभन्दा बढी राख्नै भएन” उनले भने, “छ घण्टा पढाइरहेकोमा चार घण्टामात्र पढाउनुपर्दछ । कक्षाकोठाभित्र दूरी कायम गर्नुपर्दछ । मास्क अनिवार्य गर्नुपर्दछ । ज्वरो आएका विद्यार्थीलाई प्रवेश गराउनै भएन । स्वास्थ्य मापदण्ड पालना गर्न कठिन हुने हुँदा अनलाइन पठनपाठन गर्नु नै उपयुक्त हो ।”

हालको अवस्था कहिलेसम्म लम्बिन्छ भन्न सकिने अवस्था छैन । सरकारी पदाधिकारीहरु जोखिमका साथ शिक्षण संस्था सञ्चालन गर्ने पक्षमा छैनन् । उनीहरु विद्यालयहरुले स्वास्थ्य मापदण्डलाई हुबहु पालना गरेकोमा विश्वस्त छैनन् । तर विद्यालय सञ्चालकहरु बन्द आवश्यक नरहेको तर्क गरिरहेका छन् । कक्षा १० र १२ को परीक्षा तालिका सार्वजनिक भइसके पनि धेरै विद्यालयमा अझैसम्म कोर्स पूरा हुन सकेको छैन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले सङ्क्रमितहरुको सङ्ख्या तीन सय पुग्दैमा आत्तिएर विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । “सबै ठाँउमा भयावहको अवस्था छैन । जहाँ छ त्यहाँ अनलाइनबाट पठनपाठन गर्न सकियो र नभएका ठाँउमा स्वास्थ्य मापदण्ड पूरा पालना गरेर पठनपाठनलाई नियमित गरिराख्नु उपयुक्त हुन्छ” उनले भने ।

राष्ट्रिय प्याब्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चालन गरिरहनुपर्ने बताए । उनले भने, “सामाजिक दूरी कायम गरौँ । थर्मल गनको प्रयोग गरौँ । ज्वरो देखिएमा घर पठाइदिऔँ । तर स्कुल बन्द गर्नुभएन ।”

A Levels MA
Thuprai - Books and E-books