Ranakalin Shiksha

राजनीतिले गिजोलिएको निजामती सेवा र शिक्षा

पुख्र्यौली जिमुवाली तालुकदारीको सरकारी दानापानीको भिजानले होला निजामती सेवातिर मेरो रुझान बढेको । स्नातक पढ्दा टुसाएको शिक्षक बन्ने सोच पनि अग्रजका सङ्गतले निजामतीतिरै डोरियो । आहा ! त्यस बेलाको मेरो सपना, निजामती सेवामा छिरेपछि योग्यता क्षमताअनुसारको काम, वृत्ति विकासका अवसर, वरिष्ठ–कनिष्ठको उचित मर्यादा साँच्चै दूधको दूध पानीको पानी जस्तो । यस्तै कल्पनाले म निजामती सेवाको वात्सल्यमय काखमा पसारिन, लुटपुटिन लालायित भएँ । मौकाले सो सेवामा प्रवेश गर्ने अवसर जु¥यो पनि । 

वि.सं. २०५० को दशकको बदलिँदो राजनीतिक परिवेश, जुनसुकै कार्यालयमा काम गर्नु भनेको साँच्चै सिस्ना घारीमा घाँस काट्नु जस्तै थियो । सबैको आँखामा केवल राजनीतिक पक्षविपक्ष मात्रै हुन्थ्यो । कुनै पनि कर्मचारीको तीन कुल (आफ्नो घरपट्टि, मावली, माइती वा ससुराली) र चार पुस्ता बुझेर मात्रै ऊसँग कुरा गर्ने चलन थियो । तब त पहिलो पटक भेट हुँदा नै कोही वर्षौँदेखिको खारिएको मित्र जसरी प्रस्तुत हुन्थे भने कोही जुगौँदेखि बाझिएको शत्रु जसरी प्रस्तुत हुन्थे । यस्तो राजनीतिक दुराग्रहबाट जोगिनै गाह्रो । तैपनि बाघचाल खेलका गाई जस्तै गरी बडो सतर्कताका साथ चाल चल्दै जोगिँदै काम गर्दै रहियो । 

आर्थिक वर्षको अन्तमा कार्यसम्पादन मूल्याङ्कन फाराम भरेर हाकिमको टेबुलमा राखेको सन्दर्भमा हाकिमको टिप्पणी थियो— यी कर्मचारीको स्वभाव कस्तो खालको हो ? कार्यसम्पादन मूल्याङ्कन फाराम भरेर हाकिमको टेबुलमा राख्दो रहेछ, अनि हाकिमलाई भेटघाट गर्नुपर्ने कुरा नगर्दो रहेछ । ‘प्रथम ग्रासे मच्छिका पात’ अर्थात् पहिलो गाँसमा माखो मुखमा भने झैँ भयो । यस घटनाले आफूले कल्पना गरेको निजामती सेवाको वात्सल्यतामा घाँटी रेट्ने बगरेको धारिलो छुरी देखेँ । अब यो बादलबाट पानी पर्दैन भन्ने कुरा छ्याङ्ङ मात्रै होइन ह्वाङ्ङै पारिदिए हाकिम साहेबले । हलेदो भन्ने चिह्निसकेपछि कोट्याइरहनुपरेन । बल्ल जागिरे जीवनको अर्थ बुझ्न लागेँ । 

एउटै जिल्लामा पाँच वर्ष बिताएपछि यसो राजधानीतिर सरुवा हुनका लागि तालुक अड्डामा गएँ । लिखित निवेदनसित मौखिक अर्जीसमेत चढाउन तालुकदारका कार्यकक्षमा पस्दा म सरहका सहरमुखी साथीहरूद्वारा परिवेष्ठित हाकिमसित मेरो दुखेसो बिसाएँ । पन्पच्छेपूर्ण आँखा घुमाउँदै हाकिमले भने, “हेर्नुस्, (साथीहरूलाई देखाउँदै) यहाँहरूको त मिलाउन सकिएको छैन, अझ तपाईँ !” मुखतोड जवाफ दिनका लागि मेरो मुखमा दही जमेको त थिएन । तर थामिएँ । मलाई थाहा थियो रिसमा प्रतिक्रिया देखाउन चाहिने शक्तिभन्दा पाँचहजार गुना शक्ति चाहिन्छ रिसको आवेगको प्रतिक्रिया नदेखाउन । मैले त्यो जोसिलो यौवनावस्थामा त्यही पाँचहजार गुना बढी शक्ति प्रयोग गरेँ र प्रतिक्रिया जनाइनँ । हवस् हजुर भनी दस औँला जोडी फरक्क फर्केँ । त्यसपछि त्यो कार्यकक्षमा सरुवाको निवेदन लिएर कहिल्यै गइनँ । 

‘अझ तपाईँ’ मेरो जीवनको कायापलट अझ भनौँ कायाकल्प गरिदिने ब्रह्मसूत्र थियो त्यो । यसपछिका दिनका जागिरलाई मैले मलाई सरकारले मेरो समाज अध्ययनका लागि दिएको आजीवन छात्रवृत्तिको रूपमा लिएँ । 

कुनै चाहे नङ्गा भई फगत दङ्गा गरिरहून् ।कुनै चाहे चङ्गा भई गगन गङ्गाबीच बहून् ।।अँध्यारो स्वप्नामा सुखदुःख खुसी भै सब सहू ।अरूभन्दा भिन्नै भई फगत हाँसी खुस रहू ।।कविशिरोमणि लेखनाथ पौड्याल, तरुण तपसी ।

आजसम्म मलाई हाँसीखुसी राख्दै जीवनजगत्मा डोर्याउने मन्त्र !

झन्डै तीन दशकको जागिरे जीवनमा निजामती सेवा पद्धतिमा निकै सुधार विस्तारका हुन्डरी आउलान् र ‘सानो भनी नगर हेला, छेउको सियो माझैमा क्वै बेला’को आसमा झुन्डिएको त्यान्द्रो न चुँडियो न सुध्रियो । किन यस्तो भयो भनी बेलाबेलामा घोत्लिने गरेँ । जुनसुकै व्यक्तिको पनि विवेक पलाउने भनेको उसको शैक्षिक वा भनौँ सिकाइको पृष्ठभूमिका आधारशीलामा हो । तब म मेरो उच्च शिक्षा पढ्दाको परिवेशतिर विगतिएँ । सम्झेँ त्यो वि.सं. २०४० को दशक ! त्यस बेला क्याम्पसमा पढाइने प्राज्ञिक विषयभन्दा काङ्ग्रेस, कम्युनिस्ट र पञ्चायत ज्यादा पढ्थ्यौँ । यी तीन थरीले राम्रो काम केके गरे भन्ने त कसैले पढाएन । नराम्रो काम केके गरे भन्ने कुरा रिठो नबिराएर पढाए । त्यसमा पनि विपरीत समूह पढाइको अनौठो चलन थियो । काङ्ग्रेस समूहले कम्युनिस्टका नराम्रा कामका बारेमा पढ्थ्यो । कम्युनिस्ट समूहले काङ्ग्रेस समूहका नराम्रा काम पढ्थ्यो । पञ्चायतका नराम्रा काम काङ्ग्रेस कम्युनिस्ट दुवै समूहका अनिवार्य विषय थिए । 

गण्डकी, कोसी बेचेकोदेखि हवाइजहाज लुटेको काङ्ग्रेसका करामतसम्मका तिथिमितिसित सर्लक्क भन्थे कम्युनिस्ट खेमाका विद्यार्थीले । झापाका हली, किसानका टाउका काटेकादेखि अर्घाखाँचीमा घर लुटेको र मूर्ती चोरेसम्मका तिथिमिति काङ्ग्रेस खेमाका विद्यार्थी समूहले ओँठैमा झुन्डाएका हुन्थे । पञ्चायत दुवैको साझा विषय थियो । सत्र सालको काण्ड, पार्टी प्रतिबन्ध, २०३७ सालमा बहुदललाई हराएको, नेताहरूलाई मारेको, नमिता सुमिता काण्ड आदि पञ्चायतमा जान्नैपर्ने बाह्रखरी थिए । चीनमा पानी परे नेपालका अखिलले यहाँ छाता ओढ्छन् भनी नेविसङ्घले भन्थे भने अमेरिकाले थपडी बजाए नेविसङ्घहरू यहाँ नाच्छन् भन्थे अखिलहरूले । कुनै प्रमाण तर्कविना विभिन्न देशप्रतिको तीक्तता, व्यक्तिव्यक्तिप्रतिको तीक्तता बोकेर त्यो उर्वर जवानी बिताएका व्यक्तिले नै अहिलेको राजनीतिक वागडोर सह्मालेका छन्, कर्मचारीतन्त्र, विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षक जमातमा तिनैको हावी छ । नानीदेखि लाएको बानी अहिले पनि यिनीहरूको चाला उस्तै छ भन्ने हजारौँ होइन लाखौँ प्रमाण छन् । यस्तो नकारात्मक सोचको चिराग बालेर जिन्दगी बिताएकाबाट सकारात्मक निकास, विकास खोज्नु मुसाको सिङ खोज्नु जस्तै हो । 

भनिन्छ “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ।।२।। ब्रह्मविन्दूपनिषद्” मन नै मान्छेको बन्धन र मोक्षको कारण हो । व्यक्तिको मानसिकताको केन्द्रीय मियो मन भए पनि मनलाई पनि लगाम लगाउनेचाहिँ विवेक हो । विवेकको प्रस्फुरणले नै मानसिक नीति निर्माण हुन्छ । जसलाई हामी नैतिकता भन्छौँ । यसका लागि विभिन्न शास्त्रको अध्ययन, मनन, व्यावहारिक घटनापरिघटनाको अध्ययन तथा विश्लेषण गर्ने अवसर प्राप्त हुनु आवश्यक हुन्छ । त्यसैले व्यक्तिमा नैतिक जागरणका लागि नैतिक शिक्षाको आवश्यकता पर्छ । छोटकरीमा भन्नुपर्दा ‘ऊ’ मा ‘म’ देख्नु र ‘म’ मा ‘ऊ’ देख्नु हो नैतिक शिक्षाको निचोड ! शिक्षाका र विशेष गरी नैतिक शिक्षाका कुरा गर्दा हाम्रो देशमा शिक्षालाई विशेष बहसमा ल्याउने तीन व्यक्तित्व सम्झन योग्य हुनुहुन्छ । 

१. योगी नरहरिनाथ (१९७१—२०५९)— योगी नरहरिनाथले संस्कृत शिक्षालाई विशेष जोड दिनुहुन्थ्यो । यसको मूल मर्म थियो संस्कृत भाषामा व्यक्तिलाई नैतिकवान् बनाउने विभिन्न सन्दर्भ ग्रन्थहरू छन् जुन कुरा संस्कृत भाषा राम्ररी छिचोल्न नसक्नेले बुझ्न सक्तैन । २०२८ सालमा ल्याइएको नयाँ शिक्षा योजनामा संस्कृत विषय हटाइएकाले यसमा योगीजीको तीव्र असन्तुष्टि थियो । नयाँ शिक्षाको पठन व्यवस्थालाई उहाँ ‘बाँदरे शिक्षा’, ‘माउखाने शिक्षा’ भनेर भोलि यो शिक्षाले जन्माउने जनशक्तिको प्रवृत्तिको सङ्केत गर्नुहुन्थ्यो । मातृ देवो भवः पितृ देवो भवः आचार्य देवो भवःको मर्मविहीन शिक्षा । आज बुबाआमा वृद्धाश्रममा छन् । गुरु, शिक्षकप्रति श्रद्धा शून्य छ ।  हेपिएका छन् । जुन कुरा योगीजीले उहिले प्रक्षेपण गर्नुभएको थियो सो अहिले प्रमाणित भइरहकै छ । हामी हौँ त्यही बाँदरे शिक्षाका उत्पादन ।

२. प्राध्यापक नयराज पन्त (१९७०—२०५९)— प्राध्यापक नयराज पन्तले अल्पज्ञ विद्यार्थीलाई कक्षा उत्तीर्ण भनी प्रमाणपत्र दिने पद्धतिको विरोध गर्नुहुन्थ्यो । १०० पूर्णाङ्कमा ३२ प्राप्ताङ्क ल्याई उत्तीर्ण भन्ने पद्धतिलाई उहाँ त्रिखण्डी शिक्षा भन्नुहुन्थ्यो । वास्तवमा हुनुपर्ने (१००)मा आधाभन्दा केही बढी (५०ं)सम्मलाई काम चलाउ भन्न सकिनेमा एक तिहाइलाई नै काम चलाउ मानिनु उहाँका लागि चित्त नबुझ्ने कुरा थियो । उहाँको भनाइ थियो— यो त्रिखण्डी शिक्षाले गुरु, नेतृत्व उत्पादन गर्न सक्दैन । यसले नोकर, दास उत्पादन गर्छ । आज त्यही दासका महादासको युग चलिरहेको छ । 

पठनपाठन पूर्ण हुनुपर्छ भन्ने प्राध्यापक पन्तको मान्यता थियो । यही मान्यतालाई व्यवहारमा परख गरी देखाउन उहाँले गुरुकुल सञ्चालन गर्नुभयो । सो गुरुकुलमा आफ्ना दुवै छोरा पढाउनुभयो । कत्रो विश्वास आफूमाथि ! कति अदम्य आत्मविश्वास ! वास्तवमा एक शिक्षाविद्मा हुनुपर्ने अद्वितीय गुण !

३. डा. मोहम्मद मोहसिन (१९८९—२०६८)— डा. मोहम्मद मोहसिन औद्योगिक शिक्षामा विद्यावारिधि गर्ने नेपाली शिक्षाविद् हुनुहुन्छ । उहाँकै संयोजकत्वमा ठाकुरमान शाक्य र केशव नेपालसमेतको कार्यदलले २०२८ को नयाँ शिक्षा योजनाको खाका कोरेको थियो । 

व्यावसायिक शिक्षा अर्थात् गरी खाने शिक्षाको आवश्यकता ठानेर शास्त्रीय पठनपाठनतिर केन्द्रित संस्कृत शिक्षालाई पाखा लगाइएको छनक डा. मोहमद मोहसिनले दिएको पाइन्छ । संस्कृतलाई शैक्षिक मूल प्रवाहबाट पाखा लगाएको विरोधमा चर्को आवाज उठाउनेहरूको लगाव हेर्दा उनीहरूका सन्तानहरू सबै विदेशमा अन्यन्य विषय पढ्ने पढाउने उद्देश्यले बाहिरिएको प्रमाण पाइएको थियो । यसले गर्दा विरोधीको विरोधको प्रभाव शून्य हुँदै गयो । ‘कमाराका टाउकामा कपाल फाल्न सिक्ने’ प्रवृत्ति बुझेर राजा महेन्द्रले संस्कृत शिक्षालाई पुनस्र्थापन गर्ने आँट नगरेको बताइन्छ । यी कुराहरूले के देखायो भने वास्तवमा राष्ट्रको शिक्षाको मूल तन्त्र टुटेको वा छिँदेको आधा शतकभन्दा बढी भएको छ । यो प्रवृत्ति दिनानुदिन बढ्दो छ । शिक्षा विषयतर्फ र सरकारी शिक्षण संस्थाप्रतिको विश्वास दिनप्रति दिन घट्ने क्रममा छ । यसले समग्र राष्ट्रको शिक्षाको नेतृत्व लिने शिक्षा मन्त्रालयको शाख पनि ओह्रालो लागेको अनुभूति हुने लक्षण थुप्रै छन् । 

पञ्चायत कालपूर्व र पञ्चायत कालमा अरू थुप्रै कुरामा रेखफरेब लगाउन सकिएला तर शिक्षालाई विशेष चासो र महत्वको क्षेत्र मानिएको थियो । त्यसैले डा. डिल्लीरमण रेग्मी, लक्ष्मीप्रसाद देवकोटा, बालचन्द्र शर्मा, विश्वबन्धु थापा, कीर्तिनिधि बिष्ट, डा. हर्क गुरुङ, मरिचमान सिंह जस्ता व्यक्ति शिक्षामन्त्री भएको इतिहास छ । शिक्षामन्त्रीबाट मेला पसेर प्रधानमन्त्री बन्ने ल्याकत राख्ने व्यक्तिले हाँकेको शिक्षा मन्त्रालय अहिले ‘मालसाप्राले (माउखानेले) फोरेको माहुरीको घार जसमा माहुरी झुक्किएर पनि बस्न आउन्न’ जस्तो भएको छ । शिक्षामन्त्री शिक्षा सचिव हुनु भनेको झाराटार्न दिएको पद, ‘फालिएको आटो मेरा पाडालाई’ जस्तो सम्झेर मरेको जाँगर लिएर आउने अवस्था भएको छ ।‘उब्लने वा मासिने बेलामा नातिबाट मर्दै आउँछ’ भन्ने लोककथन जस्तै आजका शिक्षाका विभिन्न तहतप्कामा बस्नेहरूका शाखा सन्तान कसैले पनि शिक्षा विषय हेर्न पनि चाहदैनन् । सबैभन्दा तल्लो स्तरको ग्रेडले शिक्षा पढ्ने भनेर केन्द्रबाट साङ्केतिक निर्देशन भएको अवस्थामा उच्चस्तरको प्रतिभा शिक्षा क्षेत्रमा प्रवेश गर्ने अझ न्यून अवस्था सिर्जना भएको छ । देशको नीतिगत रूपमा आलीपरिको कड्करी (पकटा) बनेको क्षेत्रलाई अरूले मानमर्यादा गरिदियोस् भनी आशा गर्नु एक आकाशे फलको परिकल्पना मात्रै हो । 

शिक्षाको निरीक्षण क्षेत्रलाई सबल बनाएर शैक्षिक क्षेत्रको उत्थान हुन्छ भन्ने २०४९ को उच्चस्तरी शिक्षा आयोगको सिफारिसअनुसार २०५० देखि निरीक्षण क्षेत्रमा थुप्रै दरबन्दी सिर्जना गरी शिक्षा अधिकृत कर्मचारी भर्ना गरी राष्ट्रमा एक खालको तरङ्ग आयो । तर त्यो दरबन्दीअनुसार माथिल्लो तहमा जाने वृत्तिविकासको व्यवस्था नहुँदा त्यति ठूलो शैक्षिक जनशक्ति नै शिक्षा क्षेत्रको गलगाँड सावित भयो । यो गलगाँड साम्य हुन अझ ४÷५ वर्ष लाग्ने अवस्था छ । कर्मचारी समायोजन तथा पदस्थापनका बेला सामान्य प्रशासन मन्त्रालयले प्रचलित अनुपात र औचित्यअनुसार पदस्थापन हुन नसकेका शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी आफूले लिएर शिक्षा क्षेत्र छरितो, चुस्त गर्न खोज्दा शिक्षा क्षेत्रकै उच्चस्तरका खुराफातबाट सो कुरा ग्राह्य भएन र अनुभवी जनशक्ति केवल तलब खाने मात्र अवस्थामा ‘दिन कटनी मानु पचनी’ गरेर बस्नुपर्यो । अहिले कतिपय अवस्थामा यो भएन, ऊ भएन, प्रशासनतिरको हेपाइमा परियो, शिक्षाले गृह चलाउन सक्दैनन् भनेर शिक्षाका कर्मचारीप्रतिको पुरानो अर्थात् समायोजन पदस्थापनका बेलामा देखाएको खुराफाती चरित्रको व्याज तिराइरहेका छन्, तिर्नुपरिरहेको छ । 

शिक्षा क्षेत्रका मान्छे ज्यादै तीतो रूखो बोल्न नसक्लान्, आफ्नो डायरी, चस्मा सहयोगीलाई बोक्न नलगाउलान्, सुरक्षाकर्मीबाट नघेरिई कुनै द्वन्द्वरत पक्षसित वार्तामा बस्न सकिन्न नभनी काम सुरु गरिहाल्ने खालका कमीकमजोरी हुनसक्छन् । नत्र एक परिपक्व व्यक्तिलाई न्वारनदेखिको अनुभवको प्रमाणपत्र चाहिन्छ जस्तो लाग्दैन । तत्कालको परिवेशले पनि थुप्रै कुरा सिकाउँछ, पढाउँछ । जिल्लामा जहाँ चुनाव गराउन अप्ठ्यारो छ त्यहाँ शिक्षाका कर्मचारी पठाएर काम फत्ये गरेको कुरा प्रशासनकाले भुलेका त छैनन् । शिक्षा क्षेत्रबाट प्रशासनतिर पुगेर राम्रो कार्यसम्पादन गरेका उदाहरण पनि मनग्गे छन् । र पनि हाम्रै आपसी मतभेदले अरूले रेखफरेब गर्ने अवसर आइरहेको छ । 

आफ्नो सर अवसर पर्दा, अरूलाई नीतिगत अन्याय पर्दा चानुमानु बस्ने, काखी बजाएर, साप्रा ठटाएर रमिते बन्ने अनि पीडा चक्र आफ्ना टाउकामा वज्रँदा बडो समदर्शी बनी दर्शन छाँटेर हुन्छ र ? आफ्नै वृत्तिविकासमा गजबार र उल्टे आग्लो ठोकेर बसेको निजामती शिक्षा सेवाको के कुरा गरौँ ? यो केवल अरण्य रोदन मात्र हो, यो केवल जग हँसाइ मात्र हो । सामान्य प्रशासन मन्त्रालय सबैको प्रशासन मन्त्रालय हुन सकेको भए यस्तो रमिता हेरेर बस्ने थिएन । यो अर्को यथार्थ हो । 

वर्षैभरि झगडाझाम्टो गरेर बोली बारेर बसे पनि दसैँका दिन खाली निधार लिएर टीका थाप्न आफ्ना अग्रजछेउ गए जस्तै आजको नैतिक मूल्यमान्यताको शून्यता, व्यवस्थापकीय अकर्मण्यताको समाधानको केन्द्र शिक्षा नै हो, त्यसको कार्यान्वयन गर्ने जीवनमय बनाउने पात्र शिक्षक नै हुन् गुरु नै हुन् । त्यसैले केही सुधारको आशा राख्ने हो भने शिक्षामा नपसारिई सुखै छैन । गुरुको गुरुत्व नबुझ्नेले गुरु शब्दलाई हेला भावले लिन्छन् र आफू पतखर भएको परिचय दिन्छन् । गुरु हेला हुने देशको मुद्रा, उत्पादन, श्रम, व्यक्तित्व, भाषा, ज्ञान, शिक्षा आदि कुनैमा पनि गुरुत्व हुँदैन । गुरुत्वको अर्को नाम आकर्षण हो, वजन वा भार हो, गरिमा हो । आकर्षणहीनताले व्यापार हुँदैन । मुद्रा, उत्पादन, श्रम, व्यक्तित्व, भाषा, ज्ञान... केही बिक्दैन । यिनै हुन् गरिबीका सङ्केत सूचकहरू !

शिक्षकले निजामती सरहको सेवा सुविधाको माग गर्छन्, त्योभन्दा बढी त भन्नै सक्तैनन् । प्रोफेसरले सहसचिवको सुविधाको कुरामा आफूलाई जोड्न खोज्छन् । तर सिंहदरबारको वास्तुशास्त्र हाम्रा गुरुहरूले अझै पढ्न भ्याएका छैनन् । किनकि हामी इतिहासलाई ‘गए मरेका कुरा’ भन्छौँ र त हामी पनि ‘गए मरेका’ अवस्थामा पुगेका छौँ । सिंहदरबार चन्द्र समशेरको दरबार हो । यसको पटाङ्गिनीमा चन्द्र समशेर बसेको बेलामा एक स्नातक व्यक्ति (शास्त्री पढेको) आएर अर्जी चढाएछ— सरकार, म स्नातक हुँ, जागिर पाउँ । आफूभन्दा ज्यादा योग्यताको ध्वाँस देखाएको बुझाइ चन्द्र समशेरलाई परेछ । अनि हुकुम दिएछन्— जा तेरो स्नातक इन्द्रचोकमा गएर देखा । स्नातक व्यक्ति अँध्यारो मुख लगाएर चार पाइला उल्टो हिँड्दै फरक्क आफ्ना घर फर्केछन् । अनि अर्को व्यक्ति आएछ र अर्जी चढाएछ— सरकार, म मात्र बाह्रखरी खारेको साक्षर हुँ, जागिर पाउँ । चन्द्र समशेरबाट हुकुम भएछ— जा, कौसीतोषाखानाको खरदार भइस् । सिंहदरबारको यो काँचो वायुको थान्कामान्को नलगाएसम्म यहाँ योग्यता, क्षमता, इमानदारिताको कहिल्यै कदर हुँदैन र हुनेछैन ।

पाठकले भन्नुहोला— ए, कुनै प्रमाण उद्धृत नगरी हावा तालमा लेखिस् कि हँ ? त्यो होइन । यी सबै प्राथमिक तथ्य हुन् । प्राथमिक तथ्य आफैमा बलिया प्रमाण हुन् । यस्तै भएर त भैरव अर्यालले लेखे होलान्— 

मृत शालिक पूजित हुन्छ जहाँ । सिँगुलै उभिँदा तर मिल्छ घृणा ।। भनेर ।तर हाम्रो शैक्षिक इतिहास त्यति नाजूक छैन जति आज हामी छौँ । धिक् बलं क्षत्रीय बलं ब्रह्म तेजो बलं बलम् । एकेन ब्रह्म दण्डेन सर्वाश्त्राणि हतानिमे ।।२३।। सर्ग ५६, बालकाण्ड, वाल्मीकि रामायण (मेरो क्षत्रीय बललाई धिक्कार छ । प्रज्ञा बल पो वास्तविक बल रहेछ । एउटै प्रज्ञा बलको प्रतीक ब्रह्मदण्डले मेरा सबै शस्त्रअस्त्र बेकार भए ।) 

यो हो हाम्रा ब्रह्मज्ञानी गुरुहरूको सुनौला इतिहास । जहाँ राजा, राजनेता यसरी गुरु पाउमा लम्पसार पर्ने अवस्था आउँथ्यो । हामीले बिर्सेको शैक्षिक इतिहास हो यो । राजा विश्वरथ आफ्नै राज्यभित्रको विद्यापीठमा हस्तक्षेप गर्न जाँदा हार खाएर हैरानीमा गुरु वसिष्ठको साम्नेमा बकेको अभिव्यक्ति हो । यही घटनाले गाधिपुत्र विश्वरथ तपस्या गर्न गएर विश्वामित्र भएर फर्केका हुन् । ब्रह्मज्ञानी गुरु त्यो पारसमणि हो जसको सङ्गतमा आएको मनुष्य ब्रह्मज्ञानी बन्छ । एक विज्ञान पढाउने शिक्षकले आफ्नो क्षेत्रको जैविक विविधता बुझ्न, बुझाउन सक्तैन, एक सामाजिक शिक्षकले आफ्नो क्षेत्रको सामाजिक विविधता व्याख्या गर्न सक्तैन, एक भाषा पढाउने शिक्षकले आफ्नो क्षेत्रको भाषिक विविधताको मर्म व्यक्त गर्न सक्तैन भने विद्यार्थीले के सिक्छन् ? 

कोभिड—१९ को महामारीले थलिएको बेला बालबालिकाको पठनपाठनमा राहतका लागि अनलाइन शिक्षण, फोन शिक्षणका विकल्पहरू अघि सारिए । कतिपय शिक्षकले यसलाई प्रयोग गर्ने कोसिस गर्नुभयो । तर कतिपयले सामाजिक सञ्जालमार्फत् कम्प्युटर, स्तरीय मोबाइल, खर्चपर्चको माग पेस्नुभयो । कस्तो छ हाम्रो शैक्षिक चेत ! देशको ज्ञानको नाभिकेन्द्र हो विश्वविद्यालय । यसमा सञ्जीवनी भर्ने व्यक्तित्व हुन् प्राध्यापक । वाग्मे मनसि प्रतिष्ठिता मनो मे वाचि प्रतिष्ठिता...। बोली र मनको एकत्व खोइ ? नयाँनयाँ सिद्धान्त प्रतिपादन गर्ने ठाउँ हुन् विश्वविद्यालय । खोइ हाम्रोमा किन रित्तो ? प्राध्यापकहरूमा राजनीतिक चिराफारा किन ? एउटा नेताको, एउटा दलको भजन गाएर हिड्न सुहाउने पद हो प्राध्यापक ? विद्यालयका शिक्षकलाई पार्टीका झोले भए भनेर भन्ने, विश्वविद्यालयका महागुरु महाझोले बन्ने ! अनि त जेठा मामाको भाङ्ग्राको धोती कान्छा मामाको कुन गति !

प्राध्यापकलाई साप्ताहिक रूपमा अध्यापन गर्ने घन्टी कम गर्नु भनेको एनजिओ, आइएनजिओको पुच्छर बनेर हिड्ने फुर्सतका लागि होइन । यो त अध्ययन अनुसन्धानमा लागेर देशले ज्ञानको गुदी पाओस्, गिदी बढाउन मौका मिलोस् भन्ने उद्देश्यका लागि हो भनेर व्यवस्थित हुने हो भने देशको इज्जत कति बढ्थ्यो होला ! शिक्षकका बारेमा महाभारतमा यसरी भनिएको छ—

नास्ति सत्यात् परोधर्म नास्ति मातृ समो गुरुः । ब्रह्मणेभ्यः परं नास्ति प्रेत चेह च भूतय ।।१८।। म.भा. शान्तिपर्व अ.३४२(सत्य भन्दा अर्को धर्म छैन, आमा समानको गुरु अर्को हुन्न, गुरु, ब्राह्मण अर्थात् शिक्षक जस्तो यस लोक र परलोक सुधार्न अर्थात् वर्तमान र भविष्य सुधार्ने मानव जीवनमा अर्को छँदैछैन ।)अब अलिकति नेतृत्वतिर जाउँ— 

हाम्रो देशको प्रमुख समस्या नेतृत्वको व्यावसायीकरण हो । पञ्चायतकालमा नेताको तलब हुँदैनथ्यो । चन्दा उठाएर खाने कताकति हुँदा हुन् । झारा बेठीबाट केही श्रम शोषण गर्थे नेताले नत्र अहिलेको जस्तो कार्यक्रमका लागि आएको बजेटबाट निमोठ्ने चिमोट्ने कुरा पनि ज्यादै कम हुन्थ्यो । केन्द्रतिरबाट राजनीतिक, उच्चस्तरका कर्मचारी पाहुना पाल्ने जिम्मा जस्तै हुन्थ्यो जिल्ला सभापति, प्रधानपञ्चलाई । यसमा उनीहरू खुसी पनि हुन्थे । ठूलाबडासितको हिमचिम बढाउन पाइयो, चिनाजानी भयो भनेर । राजनीतिक जीवन चलाउन आफ्नो चलअचल सम्पत्ति खर्चेर आर्थिक स्थिति कमजोर भएका उदाहरण तमाम हुन्थे ।

अहिले त विद्यार्थी जीवनदेखि लेबी हसुर्ने बानी लागेपछि कर्मचारी भए पनि नेता नै हुनुपर्ने शिक्षक भए पनि नेता नै हुनुपर्ने तलतल वा भनौँ लतले छोड्दै नछोड्ने । अहिले शिक्षक र कर्मचारीका सामाजिक सञ्जालको अध्ययन गर्ने हो भने उनीहरूको विद्यार्थी जीवनको प्रवृत्ति पश्चप्रक्षेपण गर्न सहजै सकिन्छ । नीति भन्छ— अनायका विनिश्यन्ति नश्यन्ति बहुनायकाः । नायक अर्थात् नेता नहुनाले पनि समाज भाँडिन्छ र धेरै नेता भए पनि समाज होइन देशै मासिन्छ । अहिलेको हाम्रो समस्या ‘नश्यन्ति बहुनायका’ हो । 

वि.सं. २०५० को दशकमा थुप्रै शिक्षा अधिकृत भित्रिए शिक्षा सेवामा । राजनीतिक पहुँच, प्रशासनिक पहुँचका आधारमा कनिष्ठले वरिष्ठलाई कज्याउने अभ्यास यही दशकदेखि सुरु भयो । जलमा बसेर माछासितको विरोध किन गर्ने भनेर कतिले शक्ति नभएर कतिले विवेकले सहेर बसे पनि मानसिक द्वन्द्वचाहिँ चलिरह्यो । यसलाई केही साम्य पार्न सकिन्छ कि भनेर केही साथी मिलेर शाखा अधिकृत र विनिको पदीय मर्यादाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने मेसो गरियो । जेष्ठताको हिसाबले यो समस्यालाई निराकरण गरौँ भनी २०६४ सालका तत्कालीन शिक्षा मन्त्री, सचिव, सहसचिव, पूर्वशिक्षासचिवसमेतलाई फड्के किनारामा साक्षी राखी तमसुक लेखियो, तर सज्जनलाई पो तमसुकले काम गर्छ, साहूमारालाई सत्रोटा तमसुक लेखे पनि के हुन्छ ? अहिलेको वरिष्ठ कनिष्ठको समस्या उही पुरानू सैने खटिरो हो । अरूका लागि वेदान्त आफ्ना लागि मरणान्त भएको हो । शिक्षा सेवाका कर्मचारी जमानादेखि जुनियरद्वारा हाँकिएको निरन्तरता मात्रै हो आजको समस्या ।

सच्चा भावले पेसा गर्दा आफ्नो गुजारा र देशको सेवा हुन्छ । एक डाक्टरको पेसाको सन्दर्भ लिऊँ । एक डाक्टरको पेसा निकै संवेदनशील निकै महत्वपूर्ण हुन्छ जसले कसैको जीवनमा टेका लगाएर भरथेग गरेको हुन्छ । उसले विरामीको परिवार कुलकुटुम्बमा हाँसो खुसीको वहार छरेको हुन्छ । खास गरी नसर्ने रोगका विरामीका बालीघरे डाक्टर हुन्छन् । जीवनभर एउटै डाक्टरलाई पछ्याएर रहन्छन् । यस्तो अवस्थामा ती डाक्टरलाई लम्बीए अध्ययन “लङ्गिच्युडिनल स्टडी” गर्नका लागि प्रशस्त अवसर हुन्छ । अचेल विरामीको लामो इतिहासको उतारचढावको तथ्याङ्क राख्न खासै समस्या छैन । कम्प्युटरमा छिनभरको काम हो । विद्युतीय हुलाक “इमेल” बाट सरसल्लाह लिनदिन सकिने सुविधा पनि छ । फोनबाट, भिडियो फोनबाट विरामीको स्थिति जाँच गर्न सकिने अवस्था छ । यस्तो अवसरलाई हाम्रा डाक्टरहरूले गुमाइरहेका छन् । विभिन्न डाक्टरले आआफ्ना विरामीका सञ्चित अभिलेखलाई संयुक्त रूपमा प्रस्तुत गरी, गहन विश्लेषण गरी निचोड निकालेको अनुसन्धान पत्रले चर्चा पाएको अवस्था पढ्ने सुन्ने अवसर किन जुर्दैन हामीलाई ? विश्वविद्यालयले नै नेता उत्पादन कारखाना खोल्ने, राजनीति सेवा नभएर पेसा गराउने नीति अख्तियार गरेपछि देशको उँघसर्को कसरी होओस् र ? भ्रष्टाचार किन नमौलाओस् ! अब एक छिन यस बारे चर्चा गरौँ । 

समाजमा भ्रष्टाचारको व्यापक बढोत्तरी भए पनि यसको अर्थ सङ्कुचन भएर केवल आर्थिक अपचलन मात्रै भ्रष्टाचार हो कि जस्तो बुझ्ने गरिएको अवस्था छ । यो आर्थिक भ्रष्टाचार त भौतिक रूपमा देखिने एक सानो नमुना मात्रै हो, आइसबर्ग जस्तै हो । मन भ्रष्ट नभैकन कर्म भ्रष्ट हुँदैन र यही भ्रष्ट कर्मको परिणति हो आर्थिक भ्रष्टाचार । जब व्यक्ति मानसिक रूपले भ्रष्ट हुँदैन उसबाट अन्य भ्रष्ट कर्म हुने सम्भावना हुँदैहुँदैन । खास गरी भ्रष्टाचारको अनन्त दुष्चक्रको निर्माण शैक्षिक क्षेत्रबाटै सुरुहुन्छ र यो दुष्चक्र पटकपटक दोहोरिँदा संस्कारको रूपमा विकसित हुन्छ र स्थापित हुन्छ । ठूलो नदीको घुमाउने (भुमरी) मा पानी नयाँ थपिइरहे पनि जसरी सुकेको गोबरको गुइँठो हप्तौँसम्म उसै गरी घुमिरहन्छ त्यसै गरी घुमिरहन्छ भ्रष्टाचारको दुष्चक्र । 

च्यातिएको दिमागले गरिने हरेक काम भ्रष्ट नै हुन्छन् । त्यसैले पढ्नु वा अक्षर चिन्नु नै सदाचार हो भन्ने नदेखेर “साक्षरा विपरीताश्च राक्षसा इति निश्चितम्” भने नीतिज्ञले । यसको भावार्थ हो पढेको व्यक्तिको बुद्धि उल्टो भयो भने त्यो जस्तो राक्षस अर्को हुँदैन । यो कुरा सही पनि हो । किनकि आज राष्ट्रको शिर झुकाउने खालका नुर गिराउने खालका भ्रष्टाचार गर्ने कुनै निरक्षर होइनन् । ललिता निवास काण्ड जस्ता थुप्रै काण्ड निरक्षरले गरेका हुन् र ?मन, वचन र कर्ममा एकत्व नआएसम्म सदाचारको ढोका सधै बन्द रहन्छ भन्दै नीति भन्छ— 

वचस्येकं मनस्येकं कर्मण्येकं महात्मनाम् । वचस्यन्यत् मनस्यन्यत् कर्मण्यन्यत दुरात्मनाम् ।। यसको भावार्थ हो महात्माको मन वचन र कर्ममा एकत्व हुन्छ र दुरात्माको वचनमा एक थोक, मनमा अर्कै थोक र काममा अझ अर्कै थोक हुन्छ । आज यही समस्यामा फसिरहेका छौँ ।

यसै गरी सोच बोलीलाई अनुशासनमा राख्नका लागि एक विम्वात्मक वाक्यमा भनिएको छ—पितराः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः । यसको सोझो अर्थ हो पितृले वचन चाहन्छन् तर देवताले भाव चाहन्छन् । तर यहाँ पितर व्यवहारको विम्व हो भने देवता सोचको । सोचको शुद्धीकरणका लागि व्यवहारमा शुद्धीकरण आवश्यक मात्रै होइन अनिवार्य नै हुन्छ । समाजले बुझ्ने, देख्ने व्यवहार हो । भाव त त्यति सजिलै र तुरुन्तै बुझ्न गाह्रो हुन्छ । त्यसैले व्यक्तिको व्यवहारको अर्को शब्द बोलीव्यवहार पनि प्रयोग गरिन्छ । व्यवहारबाट भाव बुझ्ने तरिका हो यो । 

निचोड— सबै नीतिलाई नेतृत्व दिने नीति राजनीति हो । हाम्रो व्यवहार जाँतोको हातो हो राजनीति । यसमा भरिएको नकारात्मक प्रवृत्तिले अरू पनि दूषित भएको हुनाले समाज उत्थानका लागि यसको शुद्धीकरणको आवश्यकता छ । ‘विषस्य विषमौषधम्’ विषको औषधी विष नै हुन्छ भन्ने यो आयुर्वेदको सूत्र हो । सर्पको विष ‘भेनम’लाई निष्क्रिय पार्न सर्पकै विषबाट बनाइएको औषधी ‘एन्टिभेनम’ प्रयोग गरिन्छ । उल्लिखित सूत्रको उदाहरणीय प्रयोग !

नेतृत्वको खराबीले देशले राम्रो गति लिन सकेन भन्ने सन्दर्भमा नेताको नकारात्मक सोचका विरुद्ध नकारात्मक पक्षलाई केन्द्रित गरी एक आधिकारिक शोधमूलक अभिलेख तैयार गरी मौजूद नेतालाई सुधार्न नसकिए पनि आउने नयाँ पिँढी नकारात्मक सोचबाट टाढा रहून् भन्ने ध्येयले यो सन्दर्भको उठान गरिएको हो । यसका लागि देशको सत्ताको नेतृत्व गरेका विशेष गरी प्रधानमन्त्री र मन्त्रीसमेत कम्तीमा ५० जना व्यक्तिको छापा, अडियो, भिडियो रेकर्डसमेतको लम्बीय अध्ययन गर्ने व्यवस्था गर्ने । पञ्चायत कालसमेतको तुलना गर्ने हो भने २०३० सालदेखि हालसम्म अध्ययनको सीमा तोक्ने । यदि पञ्चायतपछिको अध्ययन गर्ने भन्ने हो भने २०४६ सालपछिको अवस्था अध्ययन गर्दा हुन्छ । 

अध्ययनका बुँदाहरू— बोली वा अभिव्यक्तिमा शालिनता, वचनबद्धता (आफूले बोलेका कुरामा प्रतिबद्ध), आफूले तर्जुमा गरेका योजना कार्यान्वयनमा पहलकदमी, आवेश नियन्त्रणको स्थिति अर्थात् संयमता, अनुशासनको पालना, सत्तामा हुँदा र बाहिर हुँदा बोलीव्यवहारमा फरक, लवाइखवाइमा आएको भिन्नता वा उतारचढाव, पक्षविपक्षको सन्दर्भमा आरोपप्रत्यारोप वा गालीगलौज, आरोपमा सत्यता तथ्यता जस्ता बुँदा राख्नु उपयुक्त हुनेछ । यी बुँदाका आधारमा सङ्कलन गरिएको तथ्याङ्कलाई विश्लेषण गरी नकारात्मक वा सकारात्मक सोचको भार बढीघटी के प्राप्त हुन्छ सोको निचोड निकाल्नुपर्छ ।

नकारात्मकको नकारात्मक सकारात्मक हुन्छ । यो शाश्वत गणितको नियम हो । त्यसैले विगतको नेतृत्वको नकारात्मकता खोतलेर कसैले विद्यावारिधि गर्नु आजको आवश्यकता रहेको छ । यो अध्ययनले देशको नकारात्मक ग्रह पन्छाउने छ । यसबाट निक्लेको निचोडले भावी पुस्तालाई नकारात्मक पक्षले इतिहास कलङ्कित हुन्छ भन्ने कुरा बोध हुनेछ । यसले बालबालिका भनौँ युवामा सकारात्मक सोचको विकास गर्न मद्दत हुनेछ । मृत्युपछि पनि जीवन छ । वास्तवमा बडो धीर जीवन त मृत्युपछि नै हुने गर्छ । श्रीरामको, श्रीकृष्णको, बुद्धको, इशाको, हजरत महमदको अटल जीवन अहिले पनि चलिरहेको छ । यो जीवनप्रति पनि ख्याल राख्न सुझाव दिने खालको विश्लेषणात्मक लेखनले मृत्यु पोलपोटको जस्तो हुने कि नेल्सन मन्डेलाको जस्तो भन्ने रोजाइ आफ्नै हातमा छ भन्ने कुरा बुझ्न मद्दत गर्ने छ । 

हरेक कार्यक्षेत्रका पेसाकर्मीले आफ्नो पेसालाई कसरी विश्वसनीय र मर्यादित बनाउने भन्ने कुराको चिन्तन गर्ने हो भने आफू र आफ्नो कार्यक्षेत्र सम्मानित बनाउन सकिन्छ । तर दुःखको कुरा हाम्रो निजामती सेवा जो सबै सेवालाई नियमन गर्ने अधिकार राख्छ त्यही धाबको किलो भैदिएपछि उपाय के छ र ? प्रजातन्त्रको विकल्प प्रजातन्त्र भने झैँ निजामती सेवाको विकल्प पनि अर्को छैन र हुन सक्दैन । यसभित्रको सेवाबीचको विभेद हटाएर सर्वपक्षीय सुशासनको चिन्तनमा लाग्ने परिवेश भएमा देशभित्रका शिक्षा स्वास्थ्यसमेत सबै पक्ष सबल हुनेछन् । एक सक्षम निष्पक्ष निजामती सेवा र त्यसैको काखमा रमाउने सदिक्षासहित निजामती सेवा दिवस सप्ताहको उपलक्ष्यमा सबैमा शुभकामना ।

(लेखक शिक्षा सेवाका उपसचिव हुन् ।)