शैक्षिक क्षेत्रमा राजनीति बन्द गर्नुस्: मुख्यमन्त्री डोरमणि पौडेल

चितवन, २५ मङ्सिर (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताउनुभएको छ । 

बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक संस्थामा शिक्षक सङ्घ सङ्गठनका नाममा विद्यालय बिगार्ने गरी राजनीति गर्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “शिक्षक सङ्घ, सङ्गठन तथा युनियन विद्यालयको हित र शैक्षिक गुणस्तर बढाउनका लागि हो । राजनीति गर्नका लागि होइन ।” उहाँले थप्नुभयो, “अहिले विद्यार्थीको पढाइ नै बिग्रने गरी राजनीति हुने गरेको सुनेको छु ।” शिक्षा क्षेत्रमा अब परिवर्तन गर्नु आवश्यक रहेको बताउँदै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो भएको छ भन्नुुभयो ।

अहिलेको शैक्षिक नीति परिवर्तन गरेर प्राविधिक शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “घोक्ने र घोकाउनेलाई समेत थाहा नभएको कुरा सिकाएर हुँदैन । 

अबको शिक्षा सिकाइमुखी हुन आवश्यक छ ।” विद्यालयहरु पढाउने होइन सिकाउने हुनुपर्ने भन्दै उहाँले विद्यालयमा सिकेको सीपबाहिर गएर प्रयोगमा आउनुपर्ने बताउनुभयो । प्रदेश नं ३ का सबै जिल्लाका सबै स्थानीय तहमा एक÷एकवटा प्राविधिक विद्यालय बनाउने योजना रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, ई सुरज कंसाकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानले बोल्नुभएको थियो । सो अवसरमा सात जना विद्यार्थीलाई बालकुरी रत्न पदकद्वारा सम्मान गरिएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal