After SEE Portal

‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन

Bridge Course

दमौली, २४ भदौ (रासस) : इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन गरेको छ । 

क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लागुऔषधलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले प्रहरीले सो अभियान सञ्चालन गरेको हो ।

विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्यर्सनीमा फस्न सक्ने भएकाले विद्यालयमै पुगेर सचेतना कक्षा शुरु गरिएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । 

भीमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसबाट शुरु गरिएको अभियानअन्तर्गत वडा नं ८ को मङ्गलोदय माध्यमिक विद्यालय, वडा नं १ को सिद्धार्थ माध्यमिक विद्यालय, वडा नं २ को बालविकास माध्यमिक विद्यालय, वडा नं १ को हिमालयन माध्यमिक विद्यालय र वडा नं ५ को दीपक माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार उक्त अभियानअन्तर्गत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लैङ्गिक हिंसा, ट्राफिक सचेतना, लागुऔषध तथा साइबर क्राइमका बारेमा सचेतना प्रदान गरिएको छ । 

विद्यालय तहका बालबालिकादेखि नै यस प्रकारको सचेतना जगाउन सकिए सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, राजपुर माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, खैरेनीटार माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो । 

प्रहरीले विद्यार्थीलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य अपराध, साइबर अपराध, ट्राफिक सचेतना, लागुऔषध दुव्र्यसनी तथा अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका लगायतका विषयमा सचेतना प्रदान गर्ने गरेको गिरीले बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books