एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परिक्षा (एसईई)को विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले वैकल्पिक सिकाइ प्रविधि घोषणाको शुभकामना सन्देश दिँदै भने, “यस महामारीको समाप्तिसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि परिमार्जन हुने सम्भावना बढेर गएको छ ।”

उनले जाेखिमकाे स्थिति आँकलन गरी  यथासम्भव छिटाे विद्यालयहरू पुनः सञ्चालन हुने नै छन् भन्दै विद्यालयहरू सञ्चालनमा आएसम्म आजबाट सुरू भएकाे वैकल्पिक सिकाइ प्रविधिले महत्वपूर्ण याेगदान गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी राससका अनुसार उनले देशभर वैकल्पिक माध्यमबाट पढाइ सुरु भएको सर्न्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण अवरुद्ध  शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाईसमेत ध्यान दिइएको बताए । सरकारले आजदेखि सबै विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गराएको छ । उनले लामो समयसम्म विद्यालय बन्द रहँदा समग्र शैक्षिक सत्र प्रभावित हुने भएकाले बन्दाबन्दीको अवधिमै सूचना प्रविधिका माध्यमबाट पठनपाठनको शुरुआत गरिएसँगै अबको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गरे ।

प्रधानमन्क्री ओलीले अबको जनशत्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा विश्वास व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाइ सामग्री व्यवस्था गरेको र आगामी दिनमा पाठ्यसामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने  बताए । बन्दाबन्दी खुकुलो पारिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले साना नानीहरुको सिकाइको थलो समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, “मुलुक बिग्रँदैछ छ कि ? भनेर युवाहरुले विभिन्न माध्यमबाट राखेको चासोप्रति मेरो ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक आन्दोलनका आधारमा सामाजिक न्यायसहितको संविधान स्थापना र स्थिर सरकार गठन भएकाले अब मुलुकमा कुनै पनि आन्दोलनको आवश्यकता छैन ।”