मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाद्वारा शिक्षा क्षेत्रमा सहयोग

गलेश्वर, २६ वैशाख (रासस): नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको व्यवहार, कार्यशैली र उनीहरुले लिने गरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणी भइरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानीसमेत शैक्षिक क्षेत्रमा सहयोग गरेर उदाहरणीय बनेका छन् ।

जिल्लाको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधा र व्यक्तिगत आम्दानीको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले गाउँपालिकाभित्रका शिक्षण संस्थालाई आफू निर्वाचित भएदेखि यता रु ११ लाख ५० हजार सहयोग गरेर उदाहरणीय बन्नुभएको हो । 

यसै क्रममा बुधबार गाउँपालिका केन्द्रमा रहेको मङ्गला शिक्षा क्याम्पसलाई रु दुई लाख हस्तान्तरण गर्नुभएको छ । जनप्रतिनिधि भएबापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

समुदायद्वारा सञ्चालित उक्त क्याम्पसलाई अध्यक्ष रोकाले यसअघि रु छ लाख सहयोग गरिसक्नुभएको छ । 

अध्यक्ष रोकाले गत मङ्सिरमा मङ्गला गाउँपालिका–५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई रु तीन लाख ५० हजार सहयोग गर्नुभएको थियो । 

समुदायबाट सञ्चालित शैक्षिक संस्थामा शिक्षकको तलब र भौतिक पूर्वाधारमा सहयोग पु¥याउन आफूले उक्त रकम सहयोग गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

गाउँपालिका अध्यक्षको हैसियतमा प्राप्त गर्ने रकम शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छु अध्यक्ष रोकाले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा मैले जेजति पारिश्रमिकबापतको रकम प्राप्त गर्दछु त्यो सबै शैक्षिक विकासका लागि सहयोग गर्ने छु ।” 

अध्यक्ष रोकाले निर्वाचन ताका आफूले प्राप्त गर्ने सरकारी सेवासुविधाको रकम सामाजिक क्षेत्रमा खर्चिने घोषणा गर्नुभएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal