बैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा शिक्षक व्यवस्थापन गर्नुपर्ने भएपछि अनुदान रोक्ने निर्णय गरेको हो ।
नगरपालिकाले तय गरेको मापदण्ड अनुसार विद्यार्थी नभएका विद्यालयको अनुदान असोजबाट रोक्ने निर्णय गरेको नगरपालिकाले जानकारी दियो ।
नगरले तोकेको विद्यार्थी मापदण्ड अनुसार प्रारम्भिक बालविकासमा न्यूनतम २५ जना, कक्षा १ देखि ८ सम्म ११० जना र कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम कक्षा १ देखि १२ सम्म २१० जना विद्यार्थी नभए अनुदान रकम बन्द गर्ने निर्णय गरेको छ।
पाटनका ६४ विद्यालयमध्ये ४८ विद्यालयमा नगरले तय गरेको मापदण्ड अनुसार विद्यार्थी संख्या पुग्न सकेको छैन। सङ्घीय शिक्षाको मापदण्डबाट विद्यार्थी संख्या घटाएर मापदण्ड तयार गर्दा पनि ४८ वटा विद्यालयमा विद्यार्थी संख्या कम भएको नगर शिक्षा शाखाले जानकारी दियो ।
नगरप्रमुख गोरीसिंह रावलका अनुसार नगरपालिकाले ११४ जना नगर शिक्षक राखेको छ । नगर शिक्षकका लागि पालिकाले बार्षिक रु. चार करोड भन्दा बढी रकम विनियोजन गर्दै आएको छ। नगरको आन्तरिक स्रोत ५० लाखभन्दा बढी छैन। सङ्घीय सरकारले दिने अनुदानको रकम तलबमा मात्र खर्च गर्नुपर्दा महालेखाले पनि बेरुजु ठहर गर्दै आएको उनको भनाइ छ ।
विकास बजेटबाट नगर शिक्षक पाल्नु पर्ने अवस्था आएपछि असोजदेखि लागु हुने गरी विद्यार्थी संख्या नपुगेका विद्यालयमा अनुदान नदिने निर्णय गरेको नगरप्रमुख रावलले बताए।
शैक्षिक सत्र सुरु भएको आधा समयमा गएर अनुदान रोक्दा विद्यार्थीको पठनपाठनमा समस्या पर्ने स्थानीय अभिभावकको भनाइ छ । अभिभावकका अनुसार विद्यालय स्थानान्तरण वा एकीकरण गर्ने निकास विना यस्ते निर्णय आएको अभिभावकहरु बताउँछन् ।