सामुदायिक विद्यालय सुधारमा अभिभावकको चासो

दुई महिना अघि, पिठिउँमा सानो नानी, हातमा अर्को ६ वर्षको छोरालाई हात समाउँदै धनकुटाकी मिना राई दिनको तीन बजे त्रि पद्य विद्याश्रम पुल्चोकको प्रवेशद्वारबाट बाहिर निस्किइन् । उनी हरेक दिन विहान ९.३० बजे र दिउसो ३ बजेपछि विद्यालय आउँछिन् । एक वर्ष अघिदेखि नै उनको दिन चर्या यसरी नै बितिरहेको उनी बताउछिन् ।

उनी विद्यालय पढ्न भने आएकी होइनन् । आफ्नो छोरालाई  पुर्‍याउन र लिन आएकी हुन् । यहाँ कक्षा ५ सम्म अध्ययनरत हरेक विद्यार्थीका आमाबुबा आफ्ना छोराछोरीलाई यसैगरी लिन– पुर्‍याउन आउँछन् । उनीहरु छोराछोरी  पुर्‍याउन मात्र होइन प्रगति विवरण लिन पनि यसरी नै आउँछन् । आफ्ना छोराछोरीको कमजोरीका विषयमा विषय शिक्षकसँग परामर्श गर्छन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावक त हरेक महिना जसो विद्यलयमा पुग्ने गरेका छन् । विद्यालयमा आगामी रणनीति कस्तो अपनाउने, कुन प्रक्रिया अपनाएर आप्mना छोराछोरीको सिकाइ उपलब्धि सुधार गर्ने भन्ने विषयमा शिक्षकसँग छलफल गर्ने गरेको विद्यालयका प्रधानाध्यापक कदमबाबा प्रधानले बताइन् । ‘अभिभावकको प्रत्यक्ष चासोले हाम्रो विद्यालयको सिकाइ उपलब्धिमा सुधार भएको हो ।’

यो विद्यालयमा इसीडी देखि कक्षा १२ सम्म पठनपाठन हुन्छ । भने सीटीइभीटीबाट सम्बन्धन लिएर २०७१ देखि कम्प्युटर इन्जिनियरिङको कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयले जेसीटी कम्प्युटर कोर्ष पनि सञ्चालन गर्दै आएको छ । साधारण विषयमा भन्दा यो विषयमा विद्यार्थीको आकर्षण बढी रहेको छ । भौतिक पूर्वाधर र मानव संसाधनको अभावका कारण इच्छुक जतिलाई पढाउन नसकिएको विद्यालयले जानकारी दियो । यो शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पठनपाठन हुन थालेको छ । अहिले

विद्यालयको शैक्षिक उपलब्धि पनि अब्बल रहेको छ । यो विद्यालयबाट २०७४ मा ८० जनाले एसईई दिएका थिए । ती मध्ये ३१ जनाले ४ जीपीए, १७ जनाले ३.६ जीपीए, १६ जनाले ३.२ र १६ जनाले २.८ जीपीए ल्याएका थिए । भने, २०७५ को एसईईमा १४ जनाले ए प्लस,२७ जनाले ए, ३३ जनाले बी प्लस, ७ जनाले बी र १ जनाले सी प्लस ग्रेड ल्याएका छन् ।

विद्यालयले नतिजा सुधारका लागि विशेष पहल गर्ने गरेको छ । कक्षा १० र ८ लाई शैक्षिक सत्र सुरु भएको केही समयपछि दैनिक तीन घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको विद्यालयले जानकारी दियो ।

विद्यालयमा विद्यार्थीको आकर्षण कम भएपछि विद्यालयले २०७१ साल देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको हो । विद्यालय अंग्रेजी माध्यममा पठनपाठन गर्न थालेपछि विद्यार्थी पनि बढे सिकाइ पनि प्रविधिमैत्री भएको अभिभावक सीता लिम्बुले बताइन् ।

सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाउनु हुँदैन । राम्रो पढाइ नै हुँदैन । यहाँबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्नै सक्दैनन् भन्ने अभिभावकको सोचाइमा विस्तारै परिवर्तन आउन थालेको छ । सामुदायिक विद्यालयले व्यवस्थापकीय तथा शैक्षिक उपलब्धिमा सुधार गरेपछि अभिभावकको भरोसा जित्न सफल भएका हुन् ।

फरक शिक्षण शैली र कुशल व्यवस्थापनका कारण उच्च सिकाइ उपलब्धि हासिल गर्न आफ्नो विद्यालय सफल भएको त्रिपद्य विद्याश्रमकी प्रधानाध्यापक कदमबाबा प्रधान बताउँछिन् । ‘योजनावद्ध शिक्षण र नवीनतम् शिक्षण विधिका कारण हाम्रो विद्यालयको सिकाइ उपलब्धि राम्रो भएको हो ।’ उनी भन्छिन्,‘बालमैत्री तथा प्रविधिमैत्री शिक्षण सिकाइका कारण हाम्रो विद्यालय विद्यार्थी अभिभावकको रोजाइमा परेको हो ।

शिक्षकहरू सिङ्गो शिक्षा नीति र पाठ्यक्रमको कार्यान्वयनकर्ता हुन् । शिक्षकहरू समयअनुसार शिक्षण सिपमा अपडेट हुने गरेका छन् । ‘शिक्षकहरू समयको गति र आधुनिक शिक्षण विधिसंँग अपडेट हुनुहुन्छ त्यसैले हाम्रो विद्यालयमा गुणस्तरीय शिक्षण हुने गरेको छ ।’ प्रधानाध्यापक प्रधानले बताइन् ।

यो विद्यालयले नर्सरी देखि कक्षा १० सम्म नै वार्षिक, कार्यतालिका, शैक्षणिक योजना, एकाइ योजना बनाइ शिक्षण गर्ने गरेको छ । विद्यालय हरेक तहको शिक्षण योजना तथा मूल्याङ्कन योजना फरक ढंगले गर्ने गरेको छ । यसका लागि विषयगत विभाग र विषयगत परीक्षा समितिको गठन गरेको छ । यसका लागि विद्यालयलाई थप आर्थिक स्रोतको आवश्यकता भने छैन । किनकि माथिल्लो तहका अनिवार्य विषयका शिक्षकलाई विभागको प्रमुख बनाइएको छ । सो विभागमा सम्बन्धित विषयका माथिल्लो तहदेखि तल्लो तहका विषय शिक्षकलाई हुन्छन् । विभागले कक्षा शिक्षणका क्रममा देखिएका समस्याको बारेमा सामूहिक छलफल गर्ने गरेको छ । छलफलबाट समाधानको उपाय पत्ता लगाउछन् । पत्ता लागेका उपायलाई कक्षा शिक्षणमा प्रयोग गर्छन् । सामाजिक विभागका प्रमुख शिक्षक धनबहादुर कन्दङवा भन्छन्, ‘योजनावद्ध रुपमा सिकाइ गर्दा प्रभावकारी हुन्छ । यसले अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ । शिक्षण सिकाइका क्रममा देखिएका समस्यालाई कार्यस्थलमै समाधान गर्न सजिलो हुन्छ ।’

कक्षा ८ र १० का विद्यार्थीको सिकाइ गुणस्तर सुधार गर्ने उद्देश्यले हरेक शैक्षिक सत्रमा तिहार तथा छठ पछि दोस्रो त्रैमासिक परीक्षा हुनु अगावै कक्षा ८,९ र १० का विद्यालयहरुका लागि पूर्णकालीन साप्ताहिक परीक्षा शुक्रबार र शनिवार दिनको १:३० वजे सञ्चालन गर्ने गरेको छ ।

हाम्रा सामुदायिक विद्यालयमा परम्परागत प्रवचनमा आधारित न्यारेसन सिक्नेस (वर्णनात्मक शैली)बाट ग्रस्त भएका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हो । केवल विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता विधिबाट प्रभावित हुने भएकोले हाम्रो देशका शिक्षालयमा स्तरीय पठनपाठन हुन नसकेको शिक्षक कन्दङवाले बताए । ‘शिक्षकले पढाए विद्यार्थीले बुझेनन् भने शिक्षण विधिलाई उनीहरूले बुझ्ने तरिकामा बदल्नुपछ’ उनले भने ।

विद्यालय सिकाइ सहजीकरण प्रव्रिmया सञ्चालन गर्दा विद्यार्थी केन्द्रित र बालमैत्री शिक्षण विधिको प्रयोग गर्ने गरेको छ । कक्षामा शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्ने गरेको प्रधानाध्यापक प्रधान बताउँछिन् । भने मूल्यांकन प्रक्रियालाई व्यवस्थित गरेको छ । यसका लागि परीक्षा समितिको व्यवस्था गरेको छ । परीक्षा समितिमा पनि सोही विषयका शिक्षकहरु छन् । सो समितिले प्रश्न निर्माण गर्ने, परीक्षण गर्ने गर्छन् । विशिष्टिकरण तालिकाअनुसार प्रश्न निर्माण गरी परीक्षण तथा पुनः परीक्षण गर्ने गरेको छ । जसले गर्दा परीक्षाको वैद्यता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने शिक्षकहरु बताउँछन् ।

विद्यालयका ५ वटा भवन छन् । भने ४१ कक्षा कोठा छन् । २०७२को भूकम्पबाट प्रभावित विद्यालय भवन जिल्ला आयोजना कार्यान्वयन इकाई, ललितपुरले ८ कोठे भवन निर्माण गरेको छ । निर्माण सम्पन्न भएको भवन हस्तान्तरण भने भएको छैन । तर कक्षा कोठा अभावका कारण विद्यालयले हस्तान्तरण अगावै प्रयोग गर्न थालेको छ ।

१० हजार पुस्तकहरु भएको एउटा पुस्तकालय छ । हरेक कक्षाका विद्यार्थीलाई साप्ताहिक एक घण्टी पुस्तकालयमा नै पढाउने गरिएको छ । भने विद्यार्थीको क्षमता विकासका लागि विद्यालयले साप्ताहिक रुपमा इसीए प्रोग्राम आयोजना गर्ने गरेको छ । त्यसैगरी विद्यालयको विज्ञानका विषयगत ल्यावसहित र सुविधा सम्पन्न कम्प्युटर ल्याब छ । तर विद्यालयले आप्mनै स्रोत परिचालन गरी इन्टेरनेटको व्यवस्था गरेको छ ।

कक्षा पाँच सम्म बुक कर्नरको व्यवस्था गरिएको छ । भने बुक कर्नर सिसाले ढाकेको हुँदा कहिले काँही हावा बतासले फुटाउने गरेको प्रधानाध्यापक प्रधान बताउँछिन् ।

विद्यालयमा छात्राहरुका लागि उपयुक्त शौचालय छैन । शौचालय अभावमा छात्राहरुलाई समस्या भएको छ । महानगरपालिकाकै काखमा रहेको यो विद्यालयमा ढल निकासको व्यवस्था नभएका कारण समस्या भएको छ ।

विद्यालयको अवस्थालाई अझ वृद्धि गर्न इसीडी देखि कक्षा ५ सम्म बालबालिकाको हेरचाह गर्न विद्यालयले एक जना आयाको व्यवस्था गरेको छ । भने इसीडीका लागि छुट्टै प्ले स्टेटको व्यवस्था गर्ने भएको छ ।

प्रधानाध्यापक प्रधान भन्छिन्,‘बाल मनोवैज्ञानिकको ज्ञान, विद्यार्थीको रुची र अभिभावकको भरोसा जित्न सके सामुदायिकले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नेमा कुनै शंका छैन ।’

Thuprai - Books and E-books