सौन्दर्यकला विषय पठनपाठन गराउँदै पद्यकन्या मावि

विद्यालयको ढाकाबाट बाहिर पुग्ने बितिकै स्वरोजगार विद्यार्थी उत्पादन हुने भन्ने उद्देश्यले पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीलाई सौन्दर्य कला कक्षा सञ्चालन गर्ने भएको छ ।

चालु शैक्षिक सत्रमा कक्षा ९ बाट सुरु गरिएको यो विषयको पढाइ कक्षा १२ सम्म क्रमशः पुर्याइने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक रिता तिवारीले बताइन् । ‘विद्यालयले शैक्षिक सत्र २०७३ देखि नै प्राविधिकधार तर्फ सिभिल ईञ्जिनियरिङ्गको अध्यापन गर्दै आएको  छ ।’ उनले भनिन्, ‘विद्यालय शिक्षा समाप्त भए पश्चात छात्राहरु स्वावलम्बी बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई चालू शैव २०७९ देखि कक्षा ९ र ११ बाट सौन्दर्यकला विषयको पठनपाठन सुरु गरेको  हो ।’

उनले कक्षा ९ मा सौन्दर्यकला विषयको पठनपाठन गर्ने पहिलो विद्यालयको रुपमा स्थापित हुन पाउँदा हर्षित भएको बताइन् । पहिलो वर्ष नै यो विषय १५ जना विदार्थीले रोजेको प्रधानाध्यापक तिवारीले जानकारी दिइन् ।

कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएकोमा खुसी व्यक्त गरिन् । ‘विद्यालय तथा विभिन्न निकायसँग पटक पटकको छलफल पछि अन्त्यतः सौन्दर्यकला पाठ्यक्रममा समावेश गरिएको छ’ उनले भनिन्, ‘विशेष गरी छात्राहरूको लागि आफ्नो सिप प्रदर्शन गर्ने र आत्मनिर्भर हुने बाटो समेत हो ।’

पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताएका छन् । उनले यस विषय सम्बन्धी बनाइने थप योजना र कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए ।

राष्ट्रिय पाठ्क्रम प्रारुपले सौन्दर्यकला विषयलाई माध्यमिक तहमा ऐच्छिक विषयका रुपमा राखेको छ । कक्षा ११ र १२ मा पोखरा र विराटनगरका एक एक विद्यालयले यस अघि नै पठनपाठन सुरु गरेको भएपनि कक्षा ९ देखि पहिलो पटक पद्यकन्याले सुरु गरेको  अधिकृत धमलाले जानकारी दिए । धमलाका अनुसार तयार गरेको पाठ्यक्रम अनुसार कक्षा ९ र १० मा  पाठ्यक्रम लागु गरिएको छ ।  पाठ्यक्रमले नै यसको ५०  प्रतिशत सैद्धान्तिक र ५०प्रतिशत  व्यावहारिक  कक्षा सञ्चालन गर्न निर्देश गरेको छ । प्रयोगात्मक कक्षाक लागि विद्यालयले ल्याब निर्माण गरिरहेको छ ।

Thuprai - Books and E-books