A Levels MA

नेपाल खुला विश्वविद्यालयः अनलाइन कक्षा पनि स्थगित

सूचना प्रविधिका माध्यमहरू प्रयोग गरि 'distance learning' बाट उच्च शिक्षा कार्यक्रमहरू संचालन गर्दै आएको नेपाल खुला विश्वविद्यालयले पनि आफ्ना कक्षाहरु स्थगित गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले बेलुकी ६ देखि राती ९ बजेसम्म सञ्चालन गरिँदै आएको ‘रियल टाइम अनलाइन’ कक्षा विद्यार्थीहरूलाई समस्या हुने भएकाले स्थगन गर्नुपरेको बताए । अनलाइन माध्यमबाट सञ्चालन गरिने यस्तो कक्षामा शिक्षक र विद्यार्थीको उपस्थिति अनिवार्य मानिन्छ ।

उनले भने, “एक ठाउँबाट अर्को ठाउँमा जाँदा केही विद्यार्थीहरू इन्टरनेटको पहुँचमा पनि नहुने भए । त्यसैले केही समयका लागि स्थगन गरेका हौँ ।” अन्य कक्षाहरू भने सञ्चालन भइरहेको विश्वविद्यालयले जनाएको छ ।

‘एक ठाउँबाट अर्को ठाउँमा जाँदा केही विद्यार्थीहरु इन्टरनेटको पहुँचमा पनि नहुने भए । त्यसैले केही समयका लागि स्थगन गरेका हौँ ।’

- प्रा.डा. लेखनाथ शर्मा, नेपाल खुला विश्वविद्यालय

एमफिल तहका विद्यार्थीहरूले बुझाएका प्रस्तावको प्रस्तुति र सेमिनार नियमित सञ्चालन भइरहेको छ । ती प्रस्तुति अनलाइनका माध्यमबाट गरिन्छ ।

माइक्रोसफ्ट कम्पनीसँग सहकार्यमा ‘रियल टाइम अनलाइन’ कक्षा हुँदै आएको छ । विश्वविद्यालयले विद्यार्थीको उपस्थितिमा सम्पन्न हुने प्रत्यक्ष कक्षा तथा अभिमुखीकरण कार्यक्रम, परीक्षा, तालिम, गोष्ठी, सेमिनार तथा मध्यावधि परीक्षा र आन्तरिक मूल्याकङ्नसम्बन्धी परीक्षा चैत ३० गतेसम्मका लागि स्थगित गरेको छ ।

यस्तै स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक हुन सकेको छैन । केही उत्तरपुस्तिका परीक्षण गर्न बाँकी रहेको विश्वविद्यालयले जनाएको छ । उत्तरपुस्तिका विश्वविद्यालयमै थन्किएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्येनजर गर्दै सरकारले विश्वविद्यालयमा जान नदिएपछि केही उत्तरपुस्तिका थुनिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । विश्वविद्यालयमै उत्तरपुस्तिका परीक्षण गर्ने पद्धतिको विकास गरिएको थियो । तर विश्वविद्यालय बन्द छ । उपकुलपति डा. शर्माले भने, “उत्तरपुस्तिका परीक्षकहरूलाई गाडीले ल्याउने लैजाने र बस्ने व्यवस्था मिलाउने तयारी गर्दैछौँ ।”

Multiple Choice Questions मात्र प्रयोग गरिएको प्रवेश परीक्षाको नतिजा पनि सूचना-प्रविधिलाई अँगालेको यस विश्वविद्यालयले समयमा प्रकाशन गर्न सकेन । प्रवेश परिक्षामा आवेदकहरुलाई machine readable ढाँचामा उत्तर दिन लगाइएको थियो । चिकित्सा शिक्षा अध्ययन संस्थान (IOM) लगायतका संस्थाले करिब ६ हजार विद्यार्थीका यसै ढाँचाका उत्तर पुस्तिका २४ घण्टाभित्र नै जाँच गरेर नतिजा प्रकाशन गरिसक्छन ।

उत्तरपुस्तिका परीक्षण भइसकेका विषयको नतिजा प्रकाशित गर्ने तयारी विश्वविद्यालयले गरेको छ । उत्तरपुस्तिका परीक्षण गर्न बाँकी रहेका विषयको छिटो परीक्षण गरी नतिजा सार्वजनिक गरिने भनाइ विश्वविद्यालयका पदाधिकारीहरूको छ ।

Thuprai - Books and E-books