वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ

‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन गरें ।

रहर थियो चिकित्सा शिक्षा हासिल गरेर दीन दुःखीको सेवा गर्ने । तर मानिसका सबै रहर कहाँ पुरा हुन्छ र ! त्यसलाई पुरा गर्न आर्थिक पक्षले महत्वपूर्ण भूमिका खेल्दो रहेछ । निम्न वर्गीय परिवारमा जन्मिएका मानिसको सपना साकार हुन धेरै संघर्ष गर्नुपर्दो रहेछ । तर सेवा भावले ओतप्रोत भएका विद्यार्थीलाई विषय छनोट गर्न त्यति गाह्रो नहुने त्रिभुवन विश्वविद्यालयबाट हालै सम्पन्न गरिएको ४७ औं दीक्षान्त समारोहमा ‘सुशीलादेवी शर्मा पुरस्कार’ले पुरस्कृत भएकी रोजी महर्जन बताउँछिन् । डिल्लीबजार कन्या क्याम्पस, काठमाडौंबाट शिक्षा शास्त्र संकायबाट स्नातकमा ७२.५० प्रतिशत ल्याएर उनी महिलातर्फ उत्कृष्ट भएकी हुन् ।

उनको औपचारिक शिक्षाको सुरुआत माहाङकाल सेकेन्डरी स्कुलबाट भएको हो । उनले सामुदायिक विद्यालयबाट कक्षा ८ सम्म उत्तीर्ण गरिन् । माध्यमिक तहको शिक्षा भने उनले निजी विद्यालयबाट गरिन् । नेपाली माध्यमबाट अङ्ग्रेजी माध्यममा पढ्न गएकी उनलाई केही असजिलो भयो । कठिन मेहनत पछि त्यसलाई पनि उनले सहज बनाइदिइन् । उनले अन्नपूर्ण सेकेन्डरी स्कुलबाट २०६३ सालमा एसएलसीमा ८१.७५ प्रतिशत ल्याएर उत्तीर्ण गरिन् । त्यसपछि कक्षा १२ सम्म सोही विद्यालयमा अध्ययन गरिन् । कक्षा १२ विज्ञान समूह (तत्कालीन संकाय) बाट उनले कक्षा १२ पनि ६६ प्रतिशत ल्याएर उत्तीर्ण गरिन् ।

कक्षा १२ सम्म उनले चिकित्स शिक्षाबाट नै उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् । उनले धेरै प्रयास गर्दा पनि स्कलरसीपमा पढ्न सकिनन् । केही वर्षको उनको पढाइ खेर गयो । तर, समाज सेवा गर्ने लक्ष्य जीवितै थियो । यो विचमा उनले ससाना बालबालिकालाई सिकाउने सिद्धान्तमा आधारित मन्टेसोरी तालिम लिइन् । त्यो तालिममा उनले शिक्षकलाई नै शिक्षण प्रक्रियाको मुख्य साधनका रूपमा स्वीकार गर्नु फलदायी हुने कुरा सिकिन् । शिक्षक ज्ञानदाता मात्र नभएर जीवन आदर्श पनि भएको बुझिन् । पूर्वबाल्य अवस्था जीवनको धेरै नाजुक र महत्त्वपूर्ण अवस्था हो, जहाँ जीवनको जग बसाल्ने काम हुन्छ । बालबालिकाहरूको सिक्न चाहने प्राकृतिक इच्छालाई प्रोत्साहन दिएर जीवनपर्यन्त सिक्न प्रेरित गराउन सक्ने शिक्षक बन्नु पर्छ भनेर उनले चिकित्सा शिक्षाको सपनालाई त्यागेर शिक्षक बन्ने उत्कट अभिलाशाका साथ शिक्षाशास्त्र संकायमा भर्ना भइन् ।

उनलाई विषय छनोट गर्नका लागि सेन्ट जेभिएरको ‘एउटा बालक जन्मेदेखि १० वर्षसम्मका लागि मलाइ दिनुहोस् । म उसलाई सम्पूर्ण बाँकी जीवनका लागि तयार गरिदिनेछु ।’ भन्ने वाक्य प्रेरणादायी बन्यो र विषय परिवर्तन गरिन् । उनलाई शिक्षण पेसा मन पर्छ । ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोटका साथ विषय परिवर्तन गरें’ उनी भन्छिन् ।

भविष्यको योजना

आमाबुबाका  साथमा रोजी

उनको भावी योजना शिक्षक बन्ने छ । हेल्थ एण्ड फिजिकल मुल विषय लिएर विएड गरेकी उनको लक्ष्य डबल मास्टर्स गर्ने रहेको छ । सिकाइ सिद्धान्त तथा बालमनोविज्ञान बुझ्न शिक्षा शास्त्र पढ्ने रहर छ । विषयवस्तुलाई थप ज्ञानार्जन गर्न मानविकीबाट जनसङ्ख्यामा विज्ञता हासिल गर्नुछ । यी दुवैबाट स्नातकोत्तर गर्ने लक्ष्यका साथ उनी अहिले अघि बढेको बताउँछिन् ।

सफलताले थपेको चुनौती

त्रिविले स्नातक तह चार बर्से बनायो । पहिलो व्याचमा उनी परिन् । निर्धारित पाठ्क्रम अनुसारका पाठ्पुस्तक बजारमा थिएनन् । उनको चारै वर्षको सिकाइ प्रविधिमैत्री बन्यो । उनलाई सरहरुले पनि धेरै सामग्री गुगलबाट खोजेर सिकाउनु भयो । हरेक असानमेन्टपछि तिमीले अझै राम्रो गर्न सक्छौं भन्ने वाक्य नै उनका लागि प्रेरक बन्यो । सिकाइमा उत्प्रेरणाको महत्वपूर्ण भूमिका हुने मनोविज्ञान विषयमा पढेकी उनलाई सरहरुको यो वाक्य नै सफलताको सिढी चढ्ने साधन बन्यो । ‘मैले पाएको सफलतामा म, मेरो परिवारभन्दा गुरुहरु खुसी हुनुहुन्छ ।’ उनी भन्छिन्, ‘अझै राम्रो प्रगति गरेर परिवार र गुरुको विश्वास कायम गर्नुछ, यसका लागि अझ कडा मेहनत गर्नुपर्ने चुनौती थपिएको छ ।’

विद्यार्थी सफल हुन

विद्यार्थी सफल हुन पहिला तनाव व्यवस्थापन गर्न सक्नुपर्छ । हरेक तनावलाई व्यवस्थापन गरी सकारात्मक सोचका साथ सिक्न सधैं उत्प्रेरित हुनुपर्छ । सिकाइका सर्वमान्य सिद्धान्तलाई आत्मसाथ गरी जे छ त्यो भन्दा अझ राम्रो गर्न सधै आफ्नो रोजाइलाई मजबुत गर्नुपर्छ । रुची अनुसारको विषय छनोट गर्नुपर्छ । आफ्नो लक्ष्यलाई प्राथमिकतामा राख्नुपर्छ । लक्ष्य हासिल गर्न सधै कक्षामा सरले भन्ने खोजेको कुरा बुझ्नुपर्छ । यसका लागि विद्यार्थी कोर्समा मात्र सीमित हुनु हुँदैन । अहिले प्रविधिले सिकाइलाई विश्वव्यापी बनाइदिएको छ । त्यसको सकारात्मकतालाई ध्यानमा राखी सिकाइको दायरालाई विस्तार गर्नुपर्छ । अनि सफलता सम्भव छ ।

सफलताको महत्वपूर्ण पाटोका रुपमा परिवार, शिक्षक तथा साथी समूह पर्छन् । यिनीहरुको भूमिका सफलतामा महत्वपूर्ण हुन्छ । हरेक उत्प्रेरणाले सफलताको खुड्किलो चढाउँछ । साथी समूहमा कोही कसैले बाटो बिराएमा उसलाई जीवनको अर्थ र सिकाइको महत्व बुझाउन सधै प्रयत्न गर्नुपर्छ । सबै बुझेर पनि कतिपयले सामाजिक सञ्जालको दुरुपयोग, कुलत तथा अन्य तनावलाई व्यवस्थापन गर्न नसकेपछि बाटो विराउँछन् । उनीहरुलाई संघर्षबाट सफल भएका व्यक्तिको बारेमा भनेर, पढ्न लगाएर सही बाटोमा ल्याउने कोसिस गनुृपर्छ । अनि, सफल बन्न विद्यार्थीले सिकाइ योजना बनाउने, शिक्षकको मार्गदर्शन लिने, पढ्दा लेखेर पढ्ने गरेमा अवश्य सफल भइने उनको भनाइ छ ।

शिक्षामा नकारात्मकता भित्रियो, शिक्षकको भूमिका बढ्यो

अहिले सिकाइ प्रविधिमैत्री बनेको छ । पछिल्लो दुई वर्ष कोभिडका कारण सबैतिर जर्बरजस्त सिकाइमा प्रविधि भित्रिएको छ । यसैविच ससाना बालबालिकादेखि किशोरकिशोरी इन्टरनेटको शिकार नबनेका पनि होइनन् । भएका छन् । मल्टिमिडियाले हस्तक्षेपपूर्ण तरिकाले विकृति भित्र्याएको छ । बालबालिकाले लामो समयसम्म प्रविधिको प्रयोग गरिरहदा उसको वृत्ति र विकासमा असर पर्ने विभिन्न अध्ययनले सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको भए पनि बालबालिका त्यतैतिर धकेलिँदै छन् । यसलाई तत्काल नियन्त्रणगर्न आवश्यक छ । यसमा प्रमुख भूमिका घर, परिवार र विद्यालयको भए पनि यसलाई पुरै सकारात्मकता तिर मोड्न आवश्यक छ । यो चुनौती वर्तमान समयले भित्र्याएको हो । समयले सिर्जना गरेको चुनौतीको सामना गर्ने सामर्थ्य कसैसंग छ भने त्यो शिक्षकसंग मात्र छ । त्यसैले शिक्षकको भूमिका बढेको छ ।

भनिन्छ अहिले शिक्षा शास्त्र छोरी बुहारीले पढ्ने विषय हो । तर यो धारणा नै गलत छ । शिक्षा शास्त्रमा देश काल र परिस्थितिलाई मार्गदर्शन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सामर्थ्य छ । ‘शिक्षकले नै सबै तह र तप्काका जनशक्ति उत्पादन गर्छन्, यसको गन्तव्य अथाह छ ।’ उनी भन्छिन्, ‘शिक्षामा अपार सम्भावना देखेर नै यो विषय रोजेको हुँ ।’