After SEE Portal

१६८ दिन मात्र विद्यालय खुले पुरा होलान् त तहगत सक्षमता ?

Bridge Course

वर्षभरिमा सार्वजनिक बिदा १४७ दिन बिदा हुन्छ । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ । यसरी हेर्दा एक वर्षमा १९७ दिन विद्यालय बिदा हुन्छन् । यसरी हेर्दा अब एक वर्षमा १६८ दिन मात्र विद्यालय खुल्छन् ।

सामान्यतया (अवस्था जटिल नभएमा वा महामारी नआएमा) एक शैक्षिक वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्नै पर्ने र १९२ दिन पठनपाठन गर्नै पर्ने शिक्षा नियमावलीले व्यवस्था गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले आधारभूत तह (कक्षा १—३) को बार्षिक कार्यघण्टा ८३२ र साप्ताहिक २६ पाठ्य घण्टा तोकेको छ । त्यसैगरी कक्षा ४–१० सम्म नै बार्षिक कार्यघण्टा १०२४ र साप्ताहिक पाठ्य घण्टा ३२ तोकेको छ ।

यसमा करिब १०४ घण्टा मूल्याङ्कन सम्बद्ध क्रियाकलाप सञ्चालन गर्नुपर्छ । अहिले सम्म माध्यमिक तहमा पठनपाठन सञ्चालनका लागि सामान्यतया ४५ मिनेटको एक घण्टी बनाइने गरेको छ । तर विद्यालयले वार्षिक पाठ्यभार नघट्ने गरी ६० मिनेटको एक घण्टी पनि निर्धारण गर्न सक्छन् ।

शिक्षण सिकाइमा कुनै एक विषयको पठनपाठनका लागि खर्चिएको कम्तीमा ३२ घण्टाको समयावधिलाई एक पाठ्य घण्टा मानिँदै आएको छ । पाठ्यक्रमले स्पष्ट रूपमा कुन पाठ्यवस्तुलाई कति क्रेडिट आवर दिने भनी किटान समेत गरिदिएको छ । त्यसअनुसार १ ग्रेड पोइन्ट (जीपी) बराबर ३२ घण्टा (क्रेडिट आवर) मानेर कुल ग्रेड पोइन्ट ४ हुँदा जम्मा १२८ घण्टा पढाउनुपर्ने व्यवस्था गरिएको छ । तर दैनिक पिरियड एक घण्टाको नभई ४५ मिनेटको मात्र हुँदा १२८ घण्टालाई सो बमोजिमको पिरियडमा बदल्दा १७० पिरियड हुन आउँछ । अर्थात् साप्ताहिक क्रेडिट आवर ६ भएको विषय १९२ पिरियड (दिन) पढाउनुपर्ने हुन्छ भने साप्ताहिक क्रेडिट आवर ५ मात्र भएको विषय माध्यमिक तहको एउटा विषयको निम्ति १७० (४५ मिनेटको) पिरियड तोकिएको छ ।

२०७९ मा वर्षभरिमा कति दिन विद्यालय खुल्छ ?

सरकारले परीक्षणका लागि भन्दै जेठ एक गतेदेखि लागु हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शैक्षिक सत्र २०७९ मा ४३ दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरिसकेको छ । राजपत्रमा सूचना जारी गरी २०७८ फागुन २८ नै २०७९ का बिदा सार्वजनिक गरिसकेको छ । सो राजपत्र अनुसार यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यसरी हेर्दा आइतबार पनि सोही संख्यामा पर्न आउँछन् । वर्षभरिमा सार्वजनिक बिदा १४७ दिन बिदा हुन जान्छ । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ । यसरी हेर्दा एक वर्षमा १९७ दिन विद्यालय बिदा हुन्छन् । अब एक वर्षमा १६८ दिन मात्र विद्यालय खुल्छन् ।

यसअघि बिहान १० बजे खुलेर ४ बजे बन्द हुने विद्यालय अब ९.३० मा खुलेर ४.३० मा बन्द हुन्छन् । यसरी हेर्दा चालु शैक्षिक सत्रमा अवस्था सामान्य भएको भए एक वर्षमा १३२० घण्टा बालबालिका विद्यालयमा नै हुन्थ्ये अब भने, आइतबार र शनिबार दुबै दिन सार्बजनिक बिदा हुँदा एक शैक्षिक सत्रमा ११७६ घण्टा मात्र बालबालिका विद्यालयमा हुनेछन् ।

सरकारले सालैभरि यो निर्णय कार्यान्वयन गर्ने हो भने पाठ्यक्रम विकास केन्द्रले तय गरेको प्रत्येक विषयको बार्षिक पाठ्यभारमा असर पर्ने देखिन्छ । यसका अलावा तहगत सक्षमता, पाठ्यभारमा समेत पुनःविचार गर्नुपर्ने विज्ञहरू सुझाउछन् ।

नेपालको इतिहासमा सबैको प्रहारको केन्द्रमा विद्यालय पर्दै आएको छ । विभिन्न समूहले बन्द हड्ताल गरे भने फेरी विद्यालय बन्द हुन्छन् यसरी हेर्दा बालबालिकाले कति दिन विद्यालयमा पढ्छन् ? कति दिन मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् ? विभिन्न त्रैमासिक परीक्षा, परीक्षाको तयारीका लागि दिइने बिदा, नतिजा प्रकाशनका दिन कटाउँदा विद्यार्थीले कति दिन विद्यालयमा पढ्छन् ? हेर्न भने बाँकी नै छ ।

समस्या इन्धन नै हो त ?

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार नेपालमा कुल ३५ हजार ६७४ विद्यालय छन् । ती मध्ये सामुदायिक विद्यालय २७ हजार ८१३ संस्थागत विद्यालय ६ हजार ७३२ र धार्मिक विद्यालय ११२९ ओटा छन् । ती विद्यालयमा कुल ३ लाख २० हजार ५७६ जना शिक्षक कार्यरत छन् ।

सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई मात्र आर्थिक भार बेर्होछ । तर अहिलेसम्म एक जना शिक्षकलाई पनि सरकारी कोषबाट यातायात तथा इन्धन सुविधा नदिइएको नेपाल शिक्षक महासंघले जानकारी दियो ।

त्यसैगरी, अहिले पनि ग्रामीण क्षेत्रको दुर दराजमा पढ्ने बालबालिका घण्टौं हिडेर विद्यालय जानु पर्ने बाध्यता कायमै छ । अहिले सम्म २७ हजार भन्दा बढी सामुदायिक विद्यालयको स्वामित्वमा धेरैमा दुई दर्जन मात्र यातायातका साधन छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अनुसार निजी विद्यालयको स्वामित्वमा देशभर ८ हजारको हाराहारीम मात्र बस छन् । ती पनि औसतमा ३० किलोमिटर दैनिक गुड्छन् । यसरी हेर्दा एक दिनमा एउटा गाडीले ६ लिटर तेल खर्च गर्छ । यसरी हेर्दा महिनामा चार दिन थप बिदा हुँदा देशले १ लाख ९२ हजार लिटर डिजेल खपत गर्छ । वर्तमन खरिद मूल्यलाई हेर्दा १११ रुपियाँका दरले महिनामा चार दिन बढी हुँदा २ करोड १३ लाख रुपियाँ बचत हुन्छ । तर यति बचतका लागि राज्यले महिनामा चार दिन करिब ६० लाख बालबालिकालाई पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गर्दै छ ।

सरकारले हप्ताको दुई दिन शैक्षिक संस्था पनि बिदा दिन गरेको निर्णय अविलम्ब फिर्ता लिनु पर्ने र निर्णय नसच्याएसम्म शैक्षिक अभियान्ताले आवाज उठाउनु पर्ने शैक्षिक अभियान्ता अभिषेक घिमिरे बताउँछन् । ‘पूर्वतयारी र स्पष्ट कार्ययोजना बिनाको फितलो निर्णय लाद्नु सरकारी अपराध हो १’ उनी भन्छन्, ‘बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारलाई कटौती गर्नु हुँदैन्, राज्य कोषको अन्य खर्च कटौती गरेर पनि विद्यालय खुल्नु पर्छ ।’

A Levels MA
Thuprai - Books and E-books