त्रिविमा अब अनलाइन पठनपाठन

ओमिक्रोन भेरियन्टको असरका कारण जोखिम नियन्त्रण अनिश्चित बनेपछि त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेबाट सबै सैद्धान्तिक कक्षा अनलाइनका माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले आज सूचना जारी गरी सो जनाउ दिएको हो ।

सबै क्याम्पसले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने सूचित गरिएको छ ।

सूचनामा सबै क्याम्पस र विभागले माघ १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्ने भनिएको छ ।

भौतिक उपस्थितिमा हुनुपर्ने प्रयोगात्मक कक्षा, अभ्यास शिक्षण, इन्टर्नसिप आदि सुरक्षाको मापदण्ड अपनाइ भौतिक उपस्थितिमा नै सञ्चालन गर्न निर्देशन दिइएको छ । स्थानीय तहसँग समन्वय गरी भौतिक कक्षा लिन सकिने अवस्था भएमा भौतिक कक्षा लिन सकिने स्पष्ट गरिएको छ ।

अनलाइनबाट अध्यापन गर्ने शिक्षकको अनलाइनबाटै उपस्थितिको व्यवस्था मिलाइने भएको छ । यसले गर्दा शिक्षकको पारिश्रमिक भुक्तानीको व्यवस्थामा समस्या नहुने जनाइएको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनका माध्यमबाट गरिनेछ । यसका लागि सबै अध्ययन संस्थान वा संकायले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्नुपर्ने हुन्छ ।

 

Thuprai - Books and E-books