ग्रामीण विद्यार्थीका सन्दर्भमा अनलाइन कक्षा

गत फागुनको पहिलो साताको कुरा हो । पहिलो घण्टी पढाइ सकेर म अफिस कोठामा पुग्नै लागेको थिए । मोबाइलमा घण्टी बज्यो । गोजीबाट मोबाइल फोन झिके, हेरे स्क्रिनमा नयाँ नम्बरबाट फोन आइरहेको थियो । फोन उठाए । एक जना अपरिचित व्यक्ति अनलाइन अर्थात् भर्चुअल कक्षाको बारेमा केही कुरा बुझने प्रयास गरिरहनु भएको थियो । उहाँ मेरो विद्यालय नजिकैको छिमेकी विद्यालयका शिक्षक हुनुहुँदो रहेछ । मेरो विद्यालयभन्दा उक्त विद्यालय अलि ग्रामीण क्षेत्रमा पर्दछ । मैले उहाँलाई फोनमै जाने बुझेसम्मको जानकारी दिए । उहाँले कति बुझ्नु भयो, थाहा भएन । मसँग उहाँको गफगाफको प्रसंग हाम्रो विद्यालयमा चलिरहेको भर्चुअल कक्षाको पठनपाठनसँग केन्द्रित थियो ।

मैले अध्यापन गरिरहेको शारदा माध्यमिक विद्यालय छिन्चुमार्फत भेरीगंगा नगरपालिका अन्तर्गतका पाँचवटा विद्यालयहरुमा भर्चुअल मोडबाट कक्षा शिक्षण चलिरहेको थियो । भर्चुअल कक्षा शिक्षण गर्ने शिक्षकहरुमध्ये म पनि एक थिए । भर्चुअल कक्षा शिक्षणको संयोजन भेरीगंगाा नगरपालिका नगर शिक्षा शाखाले गरेको थियो । पुसदेखि फागुनसम्म तीन महिना अंग्रेजी, गणित र विज्ञान विषयको एसईई तयारी अनलाइनअर्थात् भर्चुअल शिक्षण कार्य भयो । भर्चुअल कक्षा चल्ने सबै विद्यालयहरुमा नगरपालिकाले इन्टरनेट जडान गरी कक्षाअनुसारको टिभी सेट व्यवस्थापन गरिदिएको थियो । सुर्खेत जिल्लामै यो पहिलो प्रयास थियो ।

शारदा माध्यमिक विद्यालयको प्रयोगशालामा बनाइएको डिजिटल उपकरण जडित कन्ट्रोल कक्षबाट शिक्षण गरिन्थ्यो । त्यस विद्यालयका शिक्षकहरु जितेन्द्रराज वली (गणित), कुशेश्वर ठाकुर (विज्ञान) र म (अङ्ग्रेजी) विषयका अनलाइन शिक्षक थियौं भने अन्य विद्यालयका सम्बन्धित विषय शिक्षकहरु अफलाइन शिक्षक थिए । उनीहरु आफना कक्षामा बसी विद्यार्थीहरुको ‘मोनिटरिङ’ गर्ने र आवश्यक परेको खण्डमा सहजीकरण पनि गर्थे । भर्चुअल कक्षा अवलोकन गर्नका लागि ती विद्यालयहरुमा विभिन्न ठाँउबाट मानिसहरु आउने गर्थे । केही समयसम्म यस भर्चुअल कक्षा शिक्षण प्रसंगले जिल्लास्तरमा निकै चर्चा पायो ।

ती शिक्षक मित्र जसले मलाई फोन गर्नुभएको थियो, त्यसको तात्पर्य पनि यसै विषयसँग केन्द्रित थियो । मैले पुनः उहाँसँग फोनबाटै भलाकुसारी गरे । उहाँले आफू प्रविधि मैत्री शिक्षक समाजको सदस्य भएको कुरा बताउनुभयो । प्रविधि मैत्री शिक्षक समाजको सदस्य भएर पनि भर्चुअल कक्षा शिक्षणको बारेमा बुझन नसकेको कुरा बताउनुभयो । मैले उहाँलाई हामी कहाँ चलिरहेको कक्षा अवलोकन गर्नका लागि आमन्त्रण गरे । उहाँ मेरो विद्यालयमा आई भर्चुअल कक्षा शिक्षणको बारेमा बुझेर जानुभयो ।

माथि उल्लेखित सन्दर्भ मैले कहाँ नेर जोड्न खोजेको हो भने अचेल अनलाइन कक्षा शिक्षण प्रसंगले सामाजिक सञ्जाल र पत्रपत्रिकामा निकै स्थान पाएको छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा अनलाइन कक्षा शिक्षण कार्यको सम्भावना कति छ त ? इन्टरनेट प्रयोग गर्ने देशहरुको सूचीमा नेपाल १४४ औं स्थानमा पर्दछ । जसले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अति न्युन छ भन्ने बुझाउँछ । हाम्रो देशको विद्यमान अवस्था नियाल्दा इन्टरनेटको पहुँच केवल सहरी इलाकामा मात्र सीमित छ । लगभग ८३ प्रतिशत जनसङ्ख्या ग्रामीण इलाकामा बसोबास गर्छन् । उनीहरुका बालबालिका ग्रामीण भेगमा सञ्चालित विद्यालयमा अध्ययन गर्दछन् । वर्तमान नेपालको तथ्याङ्क हेर्ने हो भने करिव १३ प्रतिशत विद्यालयमा मात्र इन्टरनेटको पहुँच पुगेको कुरा बुझ्न पाइन्छ । यस्तो परिवेशमा हाम्रो विद्यालयका विद्यार्थीका लागि अनलाइन कक्षा कति सम्भव होला र ? 

नेपालको भूगोल अध्ययन गर्ने हो भने जनसङ्ख्याको धेरै भाग ग्रामीण इलाकामा बसोबास गर्छन् । उनीहरु सबैको घरमा बिजुली बत्ती पुर्‍याउन सकिएको छैन । टेलिफोन र टिभीका कुरा सुन्दा अनौठो मान्ने ठाँउमा अनलाइन कक्षा सञ्चालन गर्ने तयारी सुन्दा अचम्म पो लाग्छ त । इन्टरनेट पुगेको विद्यालयमा नेट फेसबुक चलाउने साधन मात्र भएको छ । आइसिटीसम्बन्धी न्युन ज्ञान भएका शिक्षकको बाहुल्यता छ । शिक्षकलाई आइसिटीसम्बन्धी तालिम छैन । आवश्यक सामग्रीको व्यवस्था गर्नका लागि शिक्षकले अरुसँग सहयोग लिनु पर्दछ । कहिलेकाहीे प्रोजेक्टरको प्रयोग गरी शिक्षण गर्दा अनौठो अनुभव गर्ने ग्रामीण विद्यार्थी जमात छ । साधन श्रोत सम्पन्न विद्यालयहरु छैनन् । विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी छैनन् । अभिभावकहरु पनि विभाजित अवस्थामा छन् । राज्य शैक्षिक सुधारप्रति गैरजिम्मेवार छ । शिक्षा विकासका लागि कोही पनि उत्तरदायी बन्न तयार छैनन् ।

मेरो बुझाइमा नेपालमा तीन थरीका अभिभावक छन् । पहिलो वर्गमा सम्पन्न अभिभावक पर्दछन् । त्यस्ता अभिभावक आफना बालबालिकालाई विदेशका महँगा विद्यालयमा पनि पढाउन सक्छन् । कतिपयले पढाइ रहेका पनि छन् । त्यस्ता अभिभावकका बालबालिकाका लागि भर्चुअल मोडको शिक्षा उपयुक्त हुनसक्छ । त्यस्ता बालबालिका आफनो घरमै इन्टरनेट प्रयोग गरी आफुलाई आवश्यक कुराहरु खोजेर पढ्न सक्छन् । 

दोस्रो वर्गमा मध्यम अभिभावक पर्दछन् । जसको घरायसी वातावरण ठिकै छ । आफुलाई खानलाउनको कुनै समस्या छैन । त्यस्ता अभिभावकका बालबालिका सकेसम्म निजी विद्यालयमा पढ्छन् । उनीहरुलाई सरकारी विद्यालयप्रति कुनै चाहना नै हुँदैन । ती अभिभावक पनि सकेसम्म आफ्ना बालबालिकाको आवश्यकता पूरा गरी पढाउन सक्छन् । त्यस्ता बालबालिका पनि इन्टरनेट सेवासँग परिचित हुन्छन् र लाभ लिन पनि सक्छन् । 

तेस्रो वर्गमा विपन्न अभिभावक पर्दछन् । त्यस्ता अभिभावकको पारिवारिक पृष्ठभूमि दयनीय छ । उनीहरुको आर्थिक अवस्था कमजोर छ । अर्काको काम गरेर आफ्नो जिजिविषा चलाउनु उनीहरुको विवशता हुन्छ । त्यस्ता अभिभावकका बालबालिका सरकारी सामुदायिक विद्यालयमा पढ्न आउँछन् । उनीहरुसँग धेरै कुराको अभाव देखिन्छ । त्यस्ता अभिभावक ग्रामीण क्षेत्रमा बस्छन् । 

ग्रामीण क्षेत्रका विद्यालयमा पढ्नेहरुका लागि साधन श्रोत सम्पन्न विद्यालय नहुनु राज्यको कमजोरी ठानिन्छ । यस्तो विभेदपूर्ण तरिकाले विद्यालयहरु चलिरहेको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्ने तयारी कतिको विवेकपूर्ण निर्णय होला ? यो कुरा निकै विचारणीय छ । नगरपालिकाले सबै कुराको व्यवस्थापन गरिदिएर अनलाइन कक्षा चलाउँदा त सबै विद्यालयका विद्यार्थीको अनलाइन कक्षा शिक्षण पहुँचमा पुग्न सकेन । केवल केन्द्रले ‘अनलाइन कक्षा सञ्चालन हुँदैछ, सबैले सम्पर्क र समन्वय गरी सहभागी हुनुहोला’ भनी उर्दी जारी गर्दैमा अनलाइन कक्षा नचल्ला कि । 

बालमैत्री र अपाङ्गमैत्री शिक्षाको बहस चलिरहेको अवस्थामा तिनै कुराको व्यवस्थापन गर्न सकिएको छैन । विद्यालयमा विद्यार्थीलाई बस्नका लागि आवश्यक फर्निचरको व्यवस्था छैन । यस्तो अवस्थालाई देखेर पनि नदेखे झैं गर्नु जिम्मेवारीबाट पन्छिनु सिवाय केही होइन जस्तो लाग्छ ।

भनिन्छ, एनटिसी र एनसेलबाट डाटा लिएर पनि मोबाइल सेवाबाटै अनलाइन कक्षा चलाउन सकिन्छ नि । हो, केही हदसम्म चलाउन सकिन्छ तर विश्व मानचित्रमा हेर्दा दक्षिण एशियाली राष्ट्रहरुमा मोबाइल डाटा धेरै महँगो छ । एक जिबी डाटाको लागि औषत खर्च २६० रुपियाँ पर्दछ । यसरी महँगो डाटाबाट अनलाइन कक्षामा सहभागी बन्न विद्यार्थी सबै तयार हुन्छन् होला त ? सहर केन्द्रित विद्यालयमा अनलाइन कक्षा सम्भव छ । अधिकांश बालबालिका ग्रामीण भेगमा बस्ने भएकोले त्यस्ता बालबालिकाका लागि असम्भव देखिन्छ ।

आजका बालबालिका भोलिका देश विकासका कर्णधार हुन् । तर लाउने, खाने आधारभूत आवश्यकता नै पूरा नभएका बालबालिका भोलिका कर्णधार बनेर देशको भविष्य कसरी कोर्लान् र ? कोरोनाको संकटले देश लकडाउन भएको अवस्थामा अनलाइन शिक्षा दिने वहानामा बालबालिकाको वैयक्तिक विकास नै लकडाउन गर्ने रणनीति बनिरहेको देखिन्छ । 

लेखक सुर्खेतको छिन्चुस्थि शारदा माध्यमिक विद्यालयका शिक्षक हुन् ।