विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्यु

एक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा भएको कुटपिटपछि मृत्यु भएको हो ।

फरक क्षमता (सुस्त श्रवण) भएका भामको छात्राबासका सहयोगी अर्जुन सेजुवालको कुटपिटबाट शनिबार मृत्यु भएको भन्दै आफ्न्तले स्थानीय प्रहरीमा जाहेरी दिएका छन् ।

कक्षा ६ मा अध्ययनरत दिलीपलाई सेजुवालले गत बिहीबार कुटपीट गरेका थिए । कुटपिटबाट घाइते भएका दिलीपलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालले औषधि दिएर फिर्ता पठायो तर उनको शनिबार बिहान छात्रबासमा मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दियो ।

हातमा सानो घाउँ थियो । दिउँसो दाहिने हात भाँचियो । सिरहाको मिर्चैया ६ स्थित स्वास्तिक पाठशालामा कक्षा ६ पढ्ने सबैले गृहकार्य गरे तर उनले गरेनन् । त्यही निहुँमा सोही कक्षामा अध्ययनरत सिरहा नगरपालिका– २ का १३ वर्षीय ऋतिक यादवलाई  केही दिनअघि उनकै शिक्षक तारा कार्कीले लठ्ठीले प्रहार गर्दा उनको हात भाँचियो ।

त्यस्तै पुस तेस्रो हप्ता रूपन्देहीको ज्ञानदिप बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई शिक्षक शैलेन्द्र बरईले प्रहार गरेको लठी आँखाछेउमा लाग्दा उनको बाँया आखा नै सुन्नियो । उनी त्यसपछि कयौं दिन विद्यालय जाननै डराए ।

गत असारमा कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु भयो । उनलाई उपचारका लागि डडेल्धुराको उपक्षेत्रीय अस्पताल हुँदै भारतको राममूर्ती अस्पतालमा पुर्‍याएपछि उपचारका क्रममा निधन भएको हो ।

केही महिनाअघि रोल्पाको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका थिए।

त्यस्तै यही शैक्षिक सत्रमा कलैया–१ स्थित नमुना निमाविमा पढ्ने पर्सा गाउँका १३ वर्षीय अजयकुमार मण्डललाई शिक्षक सोनालाल यादवले वेइज्जत गरेर तेस्रो घण्टीमै विद्यालयबाट निकालि दिएपछि उनले विष सेवन गरेर आत्मा हत्या गरको खबर सार्वजनिक भएको थियो।

झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोडिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको शिक्षिकाको कुटाईबाट यही शैक्षिक सत्रमा कानको जाली फुट्यो  ।

यी त प्रतिनिधि घटना मात्र हुन् । बारम्बार शिक्षकको कुटाइबाट विद्यार्थी अङ्गभङ्ग भएका तथा बेहोस भएका समाचार सार्वजनिक हुने गरेको छ । विद्यार्थीलाई नियन्त्रणमा राख्ने, अनुशासनमा राख्ने तथा सही बाटो देखाउने बहानामा शिक्षकहरूले पिट्दै आएका छन् । तर बालबालिकालाई मानसिक तथा शारीरिक यातना दिनु घातक हुने मनोविदहरू बताउँछन् ।

यातनाका कारण बालबालिकालाई स्कुल जान मन नलाग्ने, पेट दुख्ने, टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्नेजस्ता सानातिना असर तत्काल देखिन्छन भने दीर्घकालमा यसले विकसित रूपलिई फोबियाका रूपमा विकसित हुँदै जान्छ । निरन्तर पिटाइ, मानसिक दवाव तवा क्षमताअनुसारको पढाइ नहुँदा बालबालिकामा शिक्षक फोविया, स्कुल फोविया र परीक्षा  फोवियाजस्ता नकारात्मक असर देखा पर्ने गरेको मनोविदहरू बताउँछन् । ‘बालबालिकालाई यातना दिनु भनेको उनीहरूलाई अपराधी बनाउनु हो ।’ वालमनोविद् सुशील कडेँल भन्छन्, ‘शिक्षकले दिने यातनाको असर बालबालिकाको मस्तिष्कमा लामो समयसम्म रहन्छ, । त्यसैले विद्यालय, घर परिवार सबैलाइ समेटेर सचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ ।’ उनी थप्छन्, ‘विद्यालय र घरको वातावरणले पनि बालबालिकाको सिकाइमा असर गर्छ । पडाइप्रति मोह हट्ने, विद्यालयमा पुरा समय नबस्ने जस्ता समस्या देखापर्छन् ।’

बालबालिकाको पहिलो पाठशाला घर हो । पहिलो शिक्षक आमा । त्यसैले सबैलाई बालमनोज्ञिानको बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने शिक्षाविद्हरू बताउँछन् । बालमनोविज्ञानको ज्ञान नभएका शिक्षकलाई सो सम्बन्धी तालिम तथा तालिम प्राप्त शिक्षकलाई पुर्नताजगी तालिम सञ्चालन गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन रविकिरण अधिकारी बताउँछन् । ‘कक्षाकोठाको द्वन्द्व व्यवस्थापन प्रति शिक्षक सचेत रहुनपर्छ ।’ उनी भन्छन्, ‘त्यसैले शिक्षकमा बालमनाविज्ञानको ज्ञान हुनुपर्छ भनिएको हो ।’

बालबालिका माथि विद्यालयमा कुटपिट तथा हिंसाजन्य कार्य गर्नु नहुने सिकाइ बालमैत्री वातावरणमा गर्नुपर्ने भनिए पनि यस्ता घटनामा कमी आउन सकेको छैन । सामुदायिक विद्यालय तथा निजी विद्यालयमा दुवैमा यस्ता खालका  घटनाहरु दोहोरिरहन्छन् । कतिपय बालबालिकाले पुनः कुटाइ खाने डरमा यस्ता घटना लुकाउँछन् भने कतिपयले आत्महत्या समेत गर्ने गरेका छन् ।

अधिकांश विद्यालयमा हिंसाका घट्ना घट्ने भएपनि थोरै घटनामात्र बाहिरिने गरेका छन् । शिक्षकले बालबालिकालाई कुटेर काबुमा राख्नुपर्छ भन्ने नियत राखेर यस्ता घटना नघटे पनि शिक्षकले आफ्नो संवेग नियन्त्रण गर्न नसक्दा यस्ता यस्ता घटना बारम्बार दोरिने गरेको शिक्षाविद्को तर्क छ । शिक्षकले बालबालिकाका हरेक गतिविधिको अध्ययनगरी बेलैमा सजगता अपनाउँदा यस्ता घटनामा कमी आउने सहायक डिन अधिकारीको तर्क छ ।

केही वर्ष यता शिक्षक अभिभावक संघमा बार्षिक एक दर्जन कुटपिटका उजुरी पर्ने गरेका छन् । यिनीहरू माथि छानविन हुँदा अधिकांश घटना तत्काल द्वन्द्वको व्यवस्थापनका लागि शिक्षकले प्रधानाध्यापक तथा अभिभावकसंग परामर्श नगर्दा घटेको शिक्षक अभिभावक संघले जानकारी दियो ।

कानुनमा के छ ?

सन् २०१८ मा पारित बाल ऐन अनुसार बच्चाहरू माथि घर, विद्यालय वा अन्य स्थानमा कुनै पनि किसिमको शारीरिक सजाय दिन कानुनतः बन्देज छ । यस्तो कानुन बनाउने नेपाल दक्षिण एसियाको पहिलो देश हो भने विश्वको ५४ औं देश हो । संयुक्त राष्ट्र संघको बालअधिकार घोषणापत्रको धारा १९ बमोजिम बालबालिकामा अन्य मानिस जस्तै सबै प्रकारका शारीरिक तथा मानसिक हिंसाबाट जोगाउनु पर्ने कुरा उल्लेख छ । यसको तात्पर्य शिक्षक शिक्षिकाहरूले शारीरिक सजायको सट्टा अन्य अनुशासनात्मक अभ्यासहरू अपनाउनु पर्ने शिक्षाविद्हरूको तर्क छ ।