परीक्षा प्रस्तावप्रति आपत्ति

प्राविधिक तथा व्यावसायिक शिक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा राष्ट्रिय परीक्षा बोर्डको रहने भनी प्रस्तावित गरिएको व्यवस्थाप्रति आपत्ति जनाइएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा सञ्चालन गर्ने स्पष्ट प्रस्ताव गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले आज गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव डा. पुष्परमण वाग्लेले सो व्यवस्थाप्रति ठाडो आपत्ति जनाए ।

“एउटा ऐनले विद्यालय शिक्षा र अर्काे ऐनले प्राविधिक शिक्षालाई गभर्न गर्छ” उनले थपे, “एउटाको परीक्षा अर्काेले सञ्चालन गर्ने नियम कहीकतै छैन । यो कुरा भनेको त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा नेपाल संस्कृत विश्वविद्यालयले सञ्चालन गरेको जस्तो हो ।”

यस विषयलाई लिएर रापबोर्डका पदाधिकारीहरु पनि चकित छन् । उनीहरुले प्राविधिक तथा व्यवसायिक विषयको परीक्षा आफूहरुले सञ्चालन गर्ने विषय अमिल्दो भएको बताए ।

रापबोर्डका उच्च पदाधिकारीका रुपमा शिक्षाका वर्तमान तथा पूर्व पदाधिकारी रहने व्यवस्था गर्ने प्रस्ताव गरिएकाले उनीहरुले सिटिइभिटीलाई पनि आफ्नो मातहतमा ल्याउन खोजेको विश्लेषण सिटिइभिटीका पदाधिकारीहरुले गरेका छन् ।

यसैबीच, सिटिइभिटीले प्राविधिक र व्यावसायिक तालिम, स्वरोजगार तथा रोजगारीको अवसर प्रवद्र्धनका लागि जनसेचना अभियानको थालनी गर्ने भएको छ । 

‘सीप हुन्छ हातमा रोजगारी साथमा’ नाराका साथ सुरु गर्न लागिएको अभियान वुधबार बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा थालनी गरिएको घोषणा गरिनेछ । विद्यार्थी, प्रशिक्षार्थी, समुदाय, उद्योग तथा वाणिज्यको क्षेत्रलाई केन्द्रविन्दुमा राखेर अभियानको थालनी गरिने जनाएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम सम्बन्धमा जनचेतना अभिवृद्धि गरिनेछ । अभियान तीन मुख्य रोजगार प्रदायक क्षेत्र निर्माण व्यवसाय, पर्यटन र कृषिलाई समेटेर सञ्चालन गरिएको छ । 

सिटिइभिटीले बर्सेनि ७४ हजार जनालाई प्राविधिक शिक्षाको अवसर प्रदान गर्दै आएको छ । देशमा सबै स्थानीय तहमा प्राविधिक शिक्षालय पु¥याउने उद्देश्यअनुरुप हालसम्म ३४५ स्थानीय तहमा यस्ता शिक्षालयको पहुँच पुगेको छ । विशेष छात्रवृत्तिअन्तर्गत करिव आठ हजार जनाले आवासीय र पोशाकसहित निःशुल्क शिक्षाको अवसर पाउँदै आएका छन् ।

Thuprai - Books and E-books