विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहार

कोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिरहेका छन् । बालबालिका कहिलेबाट सहज रुपमा विद्यालय जान पाउँछन् भन्ने यकिन नभएको समयमा डोटी जिल्लाका केही स्थानीय पालिकाले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम अन्तर्गत प्रदान गरिँदै आएको पौष्टिक आहारयुक्त दिवाखाजा घरमै प्रदान गरेका छन् ।

‘शिक्षाका लागि खाद्य’ कार्यक्रम लागू भएका जिल्लाका बालबालिकालाई यो कार्यक्रम अन्तर्गत प्रदान गरिँदै आएको पौष्टिक आहार घरघरमा प्रदान गर्न थालिएको छ ।

विश्वखाद्य कार्यक्रमको सहयोगमा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम जिल्लामा लामो समयदेखि लागु भएको र सोही कार्यक्रम अन्तर्गत बालबालिकालाई घरैमा पौष्टिक आहार प्रदान गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयले जानकारी दियो ।

कोरोनाका कारण विद्यालय बन्द रहेका भए पनि नियमित रुपमा सञ्चालित सो कार्यक्रमबाट विद्यार्थीहरु बञ्चित नहुन् भन्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयका प्रमुख चेतबहादुर बमले बताए ।

पहिले प्राथमिक तहका विद्यार्थीलाई मात्र प्रदान गर्दै हाइएको यो कार्यक्रम हाल आधारभूत तहका सामुदायिक विद्यालयमा पनि लागु गरिएको छ । विद्यालयमा दिवा खाजाका रुपमा विद्यालयमा नै प्रदान गरिँदै आएको पौष्टिक आहार सामुदायिक विद्यालयको तथ्यांक अनुसार घरघरमा प्रदान गरिएको प्रमुख बमले बताए ।

‘यो कार्यक्रम अन्तर्गत हाललाई एक विद्यार्थी बराबर सात किलो चामल र दुई किलो दाल घरैमा उपलब्ध गराइँदै आएको छ ।’ प्रमुख बम भन्छन्, ‘विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पौष्टिक आहारयुक्त दिवा खाजा विद्यार्थीलाई खुवाउँदै आएका  छौं  ।’

शिखर नगरपालिका–११ अन्तर्गतका नौ आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई सो पौष्टिक आहारयुक्त खाद्यान्न हस्तान्तरण घरघरमा वितरण गरिएको छ । आधारभूत तहसम्मका बालबालिकालाई निर्धारित पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख सीताराम जोशीले जानकारी दिए ।

एकाइ प्रमुख बमका अनुसार जिल्लाका १६८ विद्यालयका करीब २० हजार ९८० विद्याथीलाई पौष्टिक आहार प्रदान गरिँदै आएको छ । भौगोलिक रुपमा विकट र आर्थिक रुपले विपन्न मानिसको बसोवास भएको विद्यालयका विदार्थीलाई तत्काल घरघरमा खाद्यान्न पुर्याइएको हो ।

Thuprai - Books and E-books