महानगरपालिकाका सबै विद्यालयमा नर्सिङ सेवा

‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम । कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाहीको तयारी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा शैक्षिक सत्र २०८० का लागि नयाँ भर्ना लिन नपाइने । हरेक शुक्रबार नियमित विद्यालय अवलोकन भ्रमण लगायतका कार्य गरेर शिक्षामा आश जगाउँदै गरेको काठमाडौ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने तयारी गरेको छ ।

अहिले स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । महानगरले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आवदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए ।

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ ।

कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम महानगरका आठ विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ ।

यसलाई बढाएर कामपाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

उक्त कार्यत्रमसँगै महानगरले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ ।

त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन् ।।

शिक्षाको गुणस्तर बढाउनु नै महानगरको लक्ष्य रहेकाले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ ।

अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको उक्त कार्यक्रम तलका कक्षामा पनि लगिने छ । महानगरका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । उनान्साठी माविमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम लागू भएको छ ।