A Levels MA

केयुमा अब बीटेकएड पढ्न पाइने

काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्ने भएको छ । सो उद्देश्यका लागि ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड)को पठनपाठन सुरु गरिँदैछ ।

विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको छ ।

विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झण्डै साढे तीन दशक बितिसक्दा पनि ती विषय अध्यापन गर्ने शिक्षक उत्पादन नभएको बताउँदै भने, “साधारण विषय अध्ययन गरेकाहरूले प्राविधिक तथा व्यावसायिक विषय अध्यापन गर्न मिल्दैन । त्यसका लागि सम्बन्धित विषयमा औपचारिक रूपमा अध्ययन गरेकाले नै पढाउनुपर्छ । नेपालमा पहिलो पटक ती विषय अध्यापन गर्ने प्रोफेसनल जनशक्ति उत्पादन गर्दैछौँ ।”

उनले साधारण धारतर्फका शिक्षकले प्राविधिक विषय पढाउन नमिल्ने र साधारण धारको विधिबाट पढाउन पनि नमिल्ने तर्क गर्दै हाल त्यस्ता संस्थामा अध्यापनरत शिक्षकलाई अध्यापनको औपचारिक विधिसँग नजोडिएको बताए ।

बीटेकएड अध्ययन गर्न न्यूनतम कक्षा १२ वा सम्बन्धित विषयमा डिप्लोमा गरेको हुनुपर्ने तोकिएको छ । चार वर्षको अध्ययनका लागि पाँच लाख ७२ हजार रुपियाँ खर्च लाग्ने जानकारी दिइएको छ । पाठ्यक्रम आठ सेमेस्टरको बनाइएको छ ।

उनले अनलाइन अवेदन खुला गरिएको र आवेदन दिन अब २२ दिन बाँकी रहेको जानकारी दिँदै सिभिलमा २० जना, सूचना प्रविधिमा ५० जना र मेकानिकल विषयमा ३० जना विद्यार्थी भर्ना गरिने बताए । जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुर, सिन्धुली सामुदायिक प्राविधिक इन्स्टिच्युट, सिन्धुली र बुटवल टेक्निकल इन्स्टिच्युट, बुटवलमा यी विषय अध्यापन गरिने भएको छ ।

हाल प्राविधिक तथा व्यावसायिक विषय इन्जिनियरिङ विषय अध्ययन गरेकाहरूले अध्यापन गर्दै आएका छन् । उनीहरूसँग अलग औपचारिक तालिम छैन । शिक्षक सेवा आयोगले साधारण विषयका लागि मात्र अध्यापन अनुमतिपत्र अनिवार्य गरेको छ र प्राविधिक विषय अध्यापन गर्नेलाई सो अनिवार्य गरिएको छैन ।

स्कुल अफ एजुकेसनका डिन डा. लुइँटेलले आयोगले अध्यापन अनुमतिपत्र अनिवार्य गरेमा बीटेकएडका जनशक्तिले पनि सो लिनुपर्ने हुनसक्छ भने ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गत एक हजार १३१ संस्थामा ७० हजार विद्यार्थी अध्ययनरत छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २८४ विद्यालयमा प्राविधिक शिक्षाको औपारिक पठनपाठन गर्दै आएको छ । विभिन्न ११ मन्त्रालयले पनि प्राविधिक तथा व्यासायिक तालिम सञ्चालन गर्दै आएको छ ।

 

 

 

Thuprai - Books and E-books