चैत्र ६ गतेदेखि देशै भरका विद्यालय कोरोना भाइरसको सङ्क्रमणका कारण बन्द छन् । केही विद्यालयलाई स्वास्थ्य सुरक्षाका लागि भन्दै क्वारिन्टाइन बनाइएको छ । लामो समयदेखि विद्यालय उमेर समूहका लाखौं बालबालिका घरैमा बस्न बाध्य छन् । यस्तो अवस्थामा विद्यालयको संरक्षकका रुपमा रहेको स्थानीय सरकारले वैकल्पिक शिक्षाका विभिन्न अवयवहरुको अनुसरण गरेका छन् । यसैक्रममा काठमाडौं महानगरपालिकाले असार एक गतेदेखि मेट्रो एफएम देखि रेडियो शिक्षण गराउँदै आएको छ । प्रस्तुत छ रेडियो शिक्षणमा सहभागी शिक्षकको शिक्षण अनुभूतिः
सबैको पहुँचमा छैन वैकल्पिक शिक्षा
पूजा गौतम (अर्याल)
शिक्षक
रंगीन बगैंचाको सुवास आफैंमा मनमोहक हुन्छ । बगैंचामा छिर्यो भने मात्र केही गरौं गरौं जस्तो स्वतः स्फुर्ति आउँछ । हो त्यही केही गरौंगरौं जस्तो मनमोहक स्थल हो विद्यालय । साना नानीबाबुहरुको मिठो तोते बोली, मनै भुलाउने अबोध तर जिज्ञासाले भरिएका अनुहारको अगाडि शिक्षण गर्नु जति रमाइलो एउटा बन्द कोठामा बसेर गर्नु कहाँ हुन्छ र ? हामी कक्षामा जे पढाउँछौं दुर शिक्षामा पनि त्यहि पढाउँछौं तर ससाना नानी बाबुहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्दा जस्तो रमाइलो हुँदैन । उनीहरुको जिज्ञासु नजर हेर्न पाइन्न अन्तरक्रिया गर्न पाइन्न । बुझे कि बुझेनन् जान्न पाइन्न । सुने कि सुनेन् पतै पाइन्न ।
कोरोना भाइरसका कारण हामी बालबालिकासंग खेल्न, रमाउन र अन्तरक्रिया गर्न पाएका छौनौं । पढाएका छौ रेडियो बाट निरन्तर । कक्षा शिक्षणमा जस्तै मेहनत गरेका छौं तर हाम्रो मेहनतले रंग ल्यायो कि ल्याएन थाहा हुँदैन । रेडियो टिभीमा पढाउँदा हामीले तयार गरेको, लेखेको कुरा पढ्छौं, तर विद्यार्थीका न्यून प्रश्न मात्र सुन्न पाउँछौं ।
सामुदायिक विद्यालयका धेरै विद्यार्थीको पहुँचमा रेडियो छैन, अझ धेरै विद्यार्थीको पहुँचमा टेलिभिजन छैन, त्यो भन्दा धेरै बालबालिकाको पहुँचमा इन्टरनेट छैन त्यसैले हाम्रा अधिकांश विद्यार्थीहरु वैकल्पिक शिक्षा लिनबाट पनि बञ्चित छन् । हामी कति गरिब छौं, भन्ने कुराको चित्र अहिले मेरो आँखा अगाडि आइरहेको छ । हाम्रा बालबालिकालाई कसरी सुशिक्षित बनाउने भन्ने विषयले अहिले मलाई चिन्तित बनाएको छ ।
विश्वका भौगोलिक तथा अन्य कारणले विषम परिस्थिति भएका मुलुकले शिक्षामा धेरै राम्रो फड्को मारिसक्दा पनि हामी धेरै पछि नै रहेछौं भन्ने आभाष भएको छ ।
हामीले हाम्रा सबै बालबालिकालाई टेलिफोन, म्यासेन्जर मार्फत काठमाडौं महानगरपालिकाबाट सञ्चालित मेट्रो एफएमबाट प्रशारिस कक्षा सुन्न र हामीसंग अन्तरक्रिया गर्न जानकारी गराएका छौं तर थोरै मात्र विद्यिार्थीले केही प्रश्न सोध्ने गरेका छन् । अहिलेको अवस्थामा सबै विद्यार्थी सामु शिक्षक र शिक्षक सामु विद्यार्थी पुर्याउनका लागि शिक्षक, अभिभावक, सञ्चार माध्यम लगायत सम्बद्ध सबैलाई आग्रह गर्न चाहन्छु ।
विद्यार्थीको मूल्याङ्कन गर्न सकिँदैन
बन्दना थापा
शिक्षक
बन्द कोठा । सुनसान परिवेश । सुरुमा केही असहज लाग्यो रेडियो शिक्षण गर्न । तर दुई तीन दिन पछि अभ्यस्त भइयो । अहिले रेडियोबाट र कक्षा शिक्षण दुवै सजिलो लाग्छ । कक्षामा विद्यार्थी संग खेल्थे, हास्थे हसाउथे उनीहरु रुँदा मन खिन्न हुन्थ्यो । उनीहरु हास्दा, रमाउँदा र सफलता प्राप्त गर्दा संसार जिते जस्तो सुख अनुभूति हुन्थ्यो । त्यो रमाइले अनुभव गर्न पाएको छैन अहिले ।
कक्षा शिक्षणमा तत्काल उनीहरुको गतिविधिबाट उनीहरुको स्तर थाहा पाएर उपचारात्मक शिक्षण गर्थे । उनीहरुका त्रुटि र कमजोरी पहिचान गरी उनीहरुलाई सुधार्न प्रर्यत्न गरे जस्तो सजिलो छैन रेडियो शिक्षण ।
हुन त हामीले पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य अनुसार पाठयोजना बनाएर त्यही अनुसार
हामी रेडियोमा बन्द कोठाबाट चिच्याइ रहेका छौं । हामीले तयार गरेका पाठ्य वस्तु विषय विज्ञ तथा हाम्रा अग्रज गुरुहरुले परिमार्जन गरेर प्रशारण गर्छौं । तर पाठ्य विषयसंग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गर्न पाउँदैनौं । विद्यार्थीको प्रश्नै प्रश्नले भरिएका नजर हेर्न पाउँदैनौं । उहीको कमजोरी पत्ता लगाएर उपचार गर्दै निरन्तर मूल्याङ्कन गर्न पाइँदैन रेडियो शिक्षणमा ।