नेपालगञ्ज, ४ पुस (रासस) : बाँकेको डुडुवा गाउँपालिका अन्तर्गतका विद्यालयमा स्थानीय अवधि भाषामा विपद् व्यवस्थापनसम्बन्धी पाठ्यक्रम लागू हुने भएको छ ।
सेभ द चिल्डेनको सहयोगमा बाँके युनेस्को क्लब र गाउँपालिकाको संयुक्त पहलमा पाठयक्रम निर्माण गरिएको हो । नेपाली भाषामा राम इकवाल मण्डल, बद्रेआलम खा, गोपीचन्द्र वर्मा र मोहम्मद हुसेन खाको समूहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधि भाषामा राकेशकुमार मिश्रले अनुवाद गर्नुभएको छ ।
बाढी, आगलागी, सर्पदंश, भूकम्प, शीतलहर, गर्मी, हुरी बतास, सवारी दुर्घटनालगायतका आठ वटा पाठ निर्माण गरी अनुवाद गरिएको छ । सो विषय कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अध्यापन गराइने गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।
अवधि समुदायका बालबालिकाले मातृ भाषामा छिटो, सहज र सरलरुपमा बुझ्नका लागि सो पाठ्यक्रम तयार पारिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत १७ वटा सामुदायिक विद्यालय र १५ वटा मदरसामा सो पाठ्यक्रम लागू गरिने युनेस्को क्लबका कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले बताउनुभयो ।
पठनपाठनका लागि उक्त विद्यालयका शिक्षकलाई आज अभिमुखीकरण गरिएको छ । शिक्षकलाई सम्बन्धित विषयवस्तुमा रही पठन शैलीका बारेमा तालीम प्रदान गरिएको हो । तालीमको उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गोर्खबहादुर थापाले स्थानीय अवधि भाषाको पाठ्यक्रमले विद्यालयमा बालबालिकाको नियमितता बढ्ने बताउनुभयो ।