नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : नेता झलनाथ खनाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताउनुभएको छ ।

‘ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसन’ को आयोजनामा आज गरिएको ‘नेपाली र ग्लोबल शिक्षा प्रणाली’ विषयक बहस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले मुलुकबाट विद्यार्थी विदेश जाने क्रम नरोकिएकाले अब विश्वका विद्यार्थी स्वदेशमा ल्याउन सक्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक रुपमा अति सुन्दर छ, उच्चशिक्षाका नाममा अहिले पनि हाम्रो अबौँ रुपैयाँ विदेशिने क्रम रोकेर अब विदेशी विद्यार्थी यहाँ ल्याएर नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्छ ।”

उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ को सुझावबमोजिम गुणस्तरीय शिक्षा र मानवीय जनशक्तिको उपयोगका लागि सरकारले योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो । फाउण्डेसनका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति नेपालमै उत्पादन गराउनु लाग्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षाविज्ञ डा जीवन खनाल र योगराज उपाध्यायले शिक्षाका नवीनतम् अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गरी खोज अनुसन्धानमूलक शिक्षा प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य केशव पोखरेलले प्रदेश सरकारले पनि नयाँ शिक्षानीति तर्जुमा गर्ने जानकारी गराउनुभयो । अनेरास्ववियुका नेता रश्मी आचार्यले शिक्षालाई उत्पादनसँग अनिवार्यरुपमा जोडेमा मात्र समृद्धि हासिल हुने उल्लेख गर्नुभयो ।

राससकर्मीसहित दुई पत्रकार सम्मानित

कार्यक्रममा नेता खनालले राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र एबिसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई सम्मान प्रदान गर्नुभयो । पत्रकारिता क्षेत्रमा निरन्तर आवद्ध रही शैक्षिक विकासमा योगदान दिएवापत् उहाँहरुलाई फाउण्डेशनले सम्मान गरेको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal