After SEE Portal

आमसञ्चार विषय अध्ययन अध्यापनको सहमति

Bridge Course

नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच आमसञ्चार अध्ययनअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

उक्त सहमतिपत्रमा हस्ताक्षर गर्दै विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा र इन्स्च्यिूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले आगामी असोजभित्रमा स्नातक पहिलो सेमेष्टरको कक्षा सञ्चालन हुने बताउनुभयो । दुवै संस्थाले आज जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी वर्षमा स्नातकोत्तर, एमफिल हुँदै पिएचडीसम्मको कक्षा सञ्चालन हुने बताएका छन् ।

विश्वविद्यालयका उपकुलपति शर्माले नेपाल खुला विश्वविद्यालयमा रहेको शैक्षिक विज्ञता र इन्स्च्यिूटमा रहेको व्यावहारिक ज्ञानको समायोजन गर्नका लागि सहमति गरिएको बताउनुभयो । यस विधामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । कलेजका प्रत्यक्ष कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि खुला विश्वविद्यालय उपयोगी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुनसुकै उमेरका र जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले अनुकूल समयमा इन्टरनेटमार्फत अध्ययन गर्न पाउँछन् ।” इन्स्च्यिूटका अध्यक्ष उप्रेतीले आमसञ्चार क्षेत्रमा काम गरिरहेको र गर्न चाहने सबैका लागि यो शुरुआत महत्वपूर्ण हुने बताउनुभयो । अहिले स्नातक तहबाट शुरु भए पनि चाँडै माथिल्ला कक्षासम्म लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

इन्स्च्यिूटका महासचिव लक्ष्मण हुमागाईंले शैक्षिक योग्यता कम भएका र हाल मिडियामा कार्यरत प्राविधिक जनशक्तिले यस कार्यक्रमबाट शैक्षिक योग्यता बढाउन सक्ने बताउनुभयो । यस कार्यक्रमअन्तर्गत स्नातक तहमा अध्ययन गर्न माध्यामिक तह(११ र १२ कक्षामा) पत्रकारिता र आमसञ्चार विषयमा अध्ययन गरेकाले भर्ना हुन सक्नेछन् । अरु विषयमा माध्यामिक शिक्षा पूरा गरेकाका लागि भने पूर्वतयारी कोर्स गर्नुपर्ने बताइएको छ । यो कोर्स र शुल्कका विषयमा भने निर्णय भइसकेको छैन ।

A Levels MA
Thuprai - Books and E-books