After SEE Portal

एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम पुष्टि

Bridge Course

एसएलसी परीक्षा बोर्डका पहिलो परीक्षा नियन्त्रकका बारेमा हुँदै आएको विवाद अब अन्त्य भएको छ । शिक्षा पत्रकार तथा लेखक प्रकृति अधिकारीले गरेको खोजीबाट पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती भएको पुष्टि भएको छ ।

निजामती कर्मचारीहरूको तलबी विवरण (सिटरोल)लाई राणाकालमा निजामती थमौती भन्ने गरिन्थ्यो । हरेक वर्ष कर्मचारी थमौती हुने वा खारेज हुने भन्ने बारेमा निजामती थमौतीमा उल्लेख गरिन्थ्यो । १९१० सालदेखि २००२ सालसम्मका निजामती थमौतीका दस्तावेज राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । सोही दस्तावेजमा पहिलो परीक्षा नियन्त्रकका बारेमा स्पष्ट उल्लेख भएको फेला परेको छ ।

एसएलसीको इतिहास र राणाकालीन शिक्षा पुस्तकका लेखक अधिकारीले सरकारी दस्तावेजमा पहिलो परीक्षा नियन्त्रकका रूपमा नन्दराम उप्रेतीले पारिश्रमिक लिएको उल्लेख भएकाले अब यस विषयमा विवाद अन्त्य भएको बताए । “परीक्षा नियन्त्रण कार्यालयले पहिलो परीक्षा नियन्त्रकका रूपमा हरमणि आदी (आचार्य दीक्षित)को नाम उल्लेख गरी बोर्डमा लेखेकाले अन्योल सिर्जना भएको थियो” उनले भने, “सरकारी लिखत आधिकारिक हुन्छ । यो प्रमाण हो । इतिहास लेखनको एउटा आधार सरकारी प्रमाण पनि हो । सबै प्रमाणबाट नन्दराम नै पहिलो परीक्षा नियन्त्रक भएको पुष्टि हुन्छ । अब विवाद जरुरी छैन ।”

एडुसञ्जालले प्रकाशन गरेको राणाकालीन शिक्षामा १९९० सालको लिखत प्रकाशित भएको छ । एडुपत्र एडुसञ्जालकै सहप्रकाशन हो । १९९० सालको निजामती थमौतीमा कात्तिक १८ गते नन्दरामलाई दर्शन गराइएको र मङ्सिर २३ गतेको दुई छापे सनदबमोजिम उनको पारिश्रमिक तोकिएको स्पष्ट उल्लेख छ । सो कुरा राणाकालीन शिक्षामा समेत उल्लेख गरिएको छ । कन्ट्रोल अफ एक्जामिनेसन नन्दराम उप्रेतीलाई वार्षिक नौ सय रुपियाँ पारिश्रमिक तोकिएको दस्तावेज अभिलेखालयमा सुरक्षित छ । उनका साथमा क्लर्क शिवलाललाई नियुक्त गरिएको थियो र उनको पारिश्रमिक वार्षिक तीन सय रुपियाँ कायम गरिएको थियो ।

पत्रकार तथा लेखक अधिकारीका अनुसार १९९१ सालको निजामती थमौतीको पाना नम्बर १३ मा कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेतीको नाम उल्लेख छ र मासिक ७५ रुपियाँका दरले वार्षिक नौ सय रुपियाँ पारिश्रमिक उल्लेख गरिएको छ । क्लर्क शिवलाललाई मासिक २५ रुपियाँका दरले वार्षिक तीन सय रुपियाँ नै कायम रहेको थियो ।

यस्तै १९९२ सालको निजामती थमौतीको पाना नम्बर १३ मा पनि कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेती नै उल्लेख छ ।

१९९३ सालको निजामती थमौतीको पाना नम्बर ९ मा कन्ट्रोलको काम गर्ने खरिदार हरमणि आदी भनेर उल्लेख छ । उनको पारिश्रमिक नन्दरामको भन्दा दुई सय रुपियाँ कम अर्थात् वार्षिक सात सय रुपियाँ तोकिएको प्रमाण निजामती थमौतीको रेकर्डमा हेर्न सकिन्छ । लिखतअनुसार हरमणिलाई भदौ ७ गतेबाट नियुक्त गरेको देखिन्छ ।

१९९० सालको एसएलसीको नतिजा १९९१ साल असार २२ मा सार्वजनिक भएको थियो । नेपाल सरकार शिक्षा विभागले सार्वजनिक गरेको नतिजाको सबैभन्दा मुनी ‘नन्दराम उप्रेती कन्ट्रोलर’ भनी उल्लेख गरिएको थियो । त्यसलाई गोरखापत्रमा प्रकाशन गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयमा १९९० देसि १९९२ सालसम्मका मार्क लेजर एउटै छ । त्यसमा लेखिएका अक्षर एकै व्यक्तिको हो भने प्रयोग भएको कलम र मसी एउटै छ । क्रम सङ्ख्या पनि १९९० देखि १९९२ सालसम्म तोडिएको छैन । “मार्क लेजरको तल हरमणिको हस्ताक्षर भएकाले परीक्षा नियन्त्रण कार्यालयले पहिलो नियन्त्रक हरमणि भनेर गलत व्याख्या गरेको हुनसक्ने देखियो” लेखक अधिकारीले भने, “त्यो मार्क लेजर एउटै वर्षमा तयार गरिएको देखिन्छ । हरमणिको पालामा मार्कलेजर तयार गरेका आधारमा गलत कुरालाई पनिकाले उल्लेख गरिदिँदा अन्योल सिर्जना भएको हो । अब यसमा द्विविधा आवश्यक छैन । कागजले प्रमाण बोलेको छ ।”

नन्दरामका भतिजा चन्द्रधर उप्रेतीको स्मृति ग्रन्थ (२०४१ सालमा प्रकाशित)मा आफ्ना काका पहिलो परीक्षा नियन्त्रक भएको उल्लेख गरिएको छ । सो ग्रन्थ प्रकाशित हुनु पूर्व नै चन्द्रधरको निधन भइसकेको थियो र निजकी पत्नीले सो ग्रन्थ छपाएकी थिइन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीले तथ्यका आधारमा परीक्षा नियन्त्रकहरूको फेहरिस्त आफूहरूले सच्याउन तयार रहेको बताउँदै आधिकारिक प्रमाणका आधारमा अब परीक्षा नियन्त्रकहरूको नाम उल्लेख भएको बोर्ड तयार गरी पनिकामा राख्ने जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books