CMAT

सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्ट

Bachelors Portal

आज विहानै त्रिविका प्राडा निरन्जन पराजुलीले लेखे,‘४ वर्षे स्नातक सकिन ६ वर्षः २ वर्षे स्नातकोत्तर सकिन ३ वर्ष । भर्ना हुने, परीक्षा हुने, रिजल्ट हुने कुनै ठेगान छैन । अब सुधार गर्छौ भन्ने प्रतिबद्धता गर्नुको साटो विश्वविद्यालयको वरियता खस्किएको दोष अरुलाई!!’ सायद उनको यो अभिव्यक्ति त्रिवि गतवर्ष भन्दा अन्तर्राष्ट्रिय स्तरमापनमा पछाडि धकेलिएपछि त्रिविले र्र्याङिकङ गर्ने संस्थाले सूचक परिवर्तन गरेर पछि परेको भन्दै सार्वजनिक गरेको विज्ञप्तिप्रति लक्षित थियो ।

वास्तवमा त्रिविको यो एउटा मात्र दृष्टान्तका लागि उपयुक्त छैन । समग्र शैक्षिक तथा प्रशासनिक गविविधिप्रति लक्षित छ । मेल खान्छ ।

त्रिविका कतिपय विभाग तथा संस्थानहरू राजनीतिक चक्रव्यूहमा फसेर विद्यार्थीको चाहनामाथि कुठराघात गरिरहेका छन् । अन्य विश्वविद्यालयले इन्जिनियरिङको प्रवेश परीक्षासकेर कक्षा सञ्चालन गर्ने तयारी गरी सक्दा पनि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा लिन नसक्नु लाज्जाबोधको उत्कर्षमा पुगिएको सरोकारवालाको ठहर छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तथा इन्जिनियर ऋषि कोइरालाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई राजनीतिको तुच्छ खेल मैदान बनाइनु दूर्भाग्यपूर्ण  भएको बताएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा डीन र विद्यार्थीहरुकाबिचको विवाद सतह आए पछि शुल्कवृद्धि मूल कारण देखिए पनि भित्री विषयमा भने समग्र नेपालको शैक्षिक वातावरण खल्ब्याउने षडयन्त्रको गन्ध देखिएको उनको विज्ञप्तिमा भनिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई राजनीतिको तुच्छ खेल मैदान बनाइनु दूर्भाग्य पूर्ण भएको उनको ठहर छ ।

आठ दशक पुरानो शिक्षण संस्था इन्जिनियरिङ अध्ययन संस्थान भित्र देखिएको अहिलेको घटनाक्रमले नेपाल इन्जिनियर्स एशोसिएसनलाई चिन्तित तुल्याएको  एसोसिएसनका महासचिव इ. रवि भूषण झाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।संस्थाको गरिमा एवं प्रतिष्ठामा आँच आउने गरी विगत केहि दिन देखि इन्जिनियरिङ अध्ययन संस्थानमा भइरहेको गतिविधिहरुलाई कुनै पनि मानेमा सकारात्मक मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

‘सर्वसुलभ शिक्षा तथा शिक्षामा सबैको पहुँच हुनुपर्ने राज्यको नीति छ, तर लामो समय देखि शुल्क वृद्धिसँग सम्बन्धित विषयमा स्व।वि।यु।लगायत विभिन्न विद्यार्थी संगठन र इन्जिनियरिङ अध्ययन संस्थान विच विवाद बढ्दै जानु र विभागीय प्रमुखहरू, प्रवेश परिक्षा शाखाका पदाधीकारीहरू लगायत विभिन्न संकाय तथा शैक्षिक कार्यक्रमका पदाधिकारीहरूले समेत राजिनामा दिने परिस्थिति आउनु चिन्ताजनक विषय हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘शुल्क वृद्धि, प्रवेश परिक्षा तथा नियमित पठन पाठनका बारेमा अन्यौलता कायम भई वर्तमान अवस्थामा विवाद भन् गिजोलिदै गइरहेको कुरा विगत देखिका विभिन्न घटना क्रमहरुले देखाइ रहेका छन् । तसर्थ संस्थानको उत्थानमा अव राज्यको अभिभावकीय हस्तक्षेप सहितको समन्यायीक भूमिका अपरिहार्य भएको छ ।’ 

विवादको कारक शुल्क वृद्धि

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागु गर्न निकै लामो कसरत गरिरहेको छ । तर विश्वविद्यालयको इतिहासमा एकछत्र राज गरिरहेको त्रिवि दलगत स्वार्थका कारण दिनप्रतिदिन निरीह बन्दै गइरहेको छ । समयमा आफ्ना कार्यसम्पादन गर्न नसकेर विद्यार्थीलाई एउटै कक्षामा तीन वर्षसम्म रहन बाध्य पार्ने त्रिविमा पुनः दलको नाङ्गो नाच सुरु भएको छ । त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले  गत साउन २५ गतको निर्णयअनुसार  शुल्क वृद्धि गरेको सूचना भदौ ५ गते २५  वर्षपछि एकैपटक दोब्बरभन्दा बढी शुल्क वृद्धि गर्यो । वृद्धि भएको शुल्कको विरोधपछि भदौ ९ गते पुनः सरोकारवालसंग छलफल पछि शुल्क निर्धारण गर्ने भन्दा बढेको शुल्क फिर्ता लियो ।

शुल्कमात्र फिर्ता लिएन उसले भदौ २५ गतेका लागि तोकेको प्रवेश परीक्षा स्थगित गर्यो । शुल्क विवादले उग्र रुप लिएपछि ९ गते स्थगित गरेको उक्त परीक्षा हिजो फेरी अर्को सूचना ननिस्कएसम्मका लागि भन्दै स्थगित गर्यो । प्रवेश परीक्षाको पर्खाईमा बसेका विद्यार्थीको एक वर्ष त्यसै खेर जाने संकेत मिलिसकेको छ ।

गत  भदौ १३ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, सत्तारुढ दलहरुसम्वद्ध विद्यार्थीहरुसँग सहमति गरेका थिए ।  बृद्धि गरिएको शुल्क फिर्ता लिन संस्थानलाई निर्देशन दिने, शुल्क पुनरावलोकनका लागि नयाँ समिति बनाउने लगायतका निर्णय सो सहमतिमा उल्लेख गरिएको  थियो ।

भदौ १८ गते  भएको त्रिवि पदाधिकारी,  इन्जिनियरिङ अध्ययन संस्थानका प्रतिनिधि, अनेरास्ववियु र स्ववियु पुल्चोकका प्रतिनिधिहरुसँग नयाँ  पाँच बुँदे सहमति गरे ।

असोज १५ गते सोमबार राती अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबीच दुई बुँदे सहमति भएको थियो । भोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।

असो १६ गते मङ्गलबार पुल्चोक क्याम्पसका विभिन्न छ विभागीय प्रमुखले आफूहरूको जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई हस्तान्तरण गर्न चाहेको संयुक्तपत्र क्याम्पस प्रमुखलाई बुझाएका थिए  । असोज १२ गते पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खर निर्वाचित स्ववियुले लिने’ भन्ने उल्लेख भएको हुँदा आफूहरूले विभागीय प्रमुखबाट हटेर स्ववियुलाई विभाग चलाउनका लागि मार्गप्रशस्त गर्न जिम्मेवारी सुम्पिएको संयुक्तपत्रमा उल्लेख गरेर राजिनामा दिए ।

शुल्क निर्धारण सम्बन्धी प्रावधान के छ ?

संस्थानले २०५३ सालमा पहिलो पटक शुल्क निर्धारण गरेको थियो ।  नियमिततर्फ ५० हजार रुपियाँ र पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपियाँ तोकिएको थियो । त्यो बेला नै प्रत्येक २–२ वर्षमा १० प्रतिशतका दरले शुल्क वृद्धि गर्ने भन्ने थियो । तर, हालसम्म शुल्क वृद्धि गरिएको थिएन । शुल्क निर्धारण गरेको २८ वर्षपछि आईओईले शुल्क वृद्धिको प्रक्रिया अगाडि बढाएको थियो । उक्त शुल्कमा पठनपाठन गर्न नसकिने भन्दै संस्थानले गत भदौ ५ गते एक सूचना जारी गर्दै शुल्क वृद्धि गरेको थियो ।

असोज १५ र शिवपुरी डाँडा

संस्थान उच्च स्रोतका अनुसार सहायक डिन प्राडा सुशील बज्राचार्यले असोज १५ गते तीन वटा क्याम्पसका स्ववियु सभापतिलाई शिवपुरीडाँडामा बोलाए । पुल्चोक क्याम्पस स्ववियु सभापति विराज अर्याल, थापाथली क्याम्पस स्ववियु सभापति पुष्कर विक्रम शाही र पूर्वाञ्चल क्याम्पस स्ववियु सभापति नविन श्रेष्ठलाई छलफलका लागि बोलाएर आफ्नै गाडीमा  लिएर गए । सबैको  फोन अफ भयो ।

शिवपुरी डाँडामा स्ववियु सभापतिसँग छलफल गरे । सो छलफलमा डिन प्राडा शशीधर जोशी पनि उपस्थित थिए । छलफलको क्रममा दुवै पक्ष सकारात्मक बने । सो छलफलमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू समेत सहभागी भए, अनि २ बुँदे सम्झौता गरियो ।

जसमा २०८० सालको बीई र बी आर्कको भर्ना कार्यक्रममा शुल्क वृद्धि नगरी पुरानै शुल्कमा नयाँ भर्ना गर्ने निर्णय भयो । त्यस्तै नयाँ प्रवेश परीक्षाका लागि असोज १७ देखि १९ गतेसम्म फारम भर्ने समय दिई असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भयो । सहमतिपत्रमा डिन जोशी, सहायक डिन बज्राचार्यसँगै विद्यार्थी संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरे ।

सहमतिको आधारमा मंगलबार बेलुका डिन कार्यालयबाट एक सूचना जारी भयो । र असोज २२ गतेदेखि प्रवेश परीक्षा गर्ने भनियो । अर्कोतिर ६ विभागीय प्रमुखहरूखोँचे थापे । उनीहरूले पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरूलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरिएको भन्दै विज्ञप्ति निकाले ।

लगत्तै प्रवेश परीक्षा बोर्डका सम्पूर्ण पदाधिकारीहरूले सामूहिक राजीनामा दिए । सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षा उक्त मितिमा सञ्चालन गर्न नसकिने भन्दै संयुक्त राजीनामा पेस गरे । प्रवेश परीक्षा रोकियो ।

डिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।

Thuprai - Books and E-books
I Tech store