CMAT

सांसद  ढकालले गरे आत्मआलोचना

बाँके निर्वाचन क्षेत्र नंं. १ बाट निर्वाचित सांसद सूर्यप्रसाद ढकालले शिक्षकको विषयमा बोलेका कुराप्रति आत्मालोचना गरेका छन् ।

साउन ७ गते शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद ढकालले शिक्षकले आधा रातसम्म रक्सी पिउने,अनुमानका भरमा पढाउने, पाँच पाँच वर्षमा शिक्षकको परीक्षा लिनुपर्ने लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । उनको भनाइप्रति विरोध सिर्जना भएपछि उनले आत्मालोचना गरेका हुन् ।

सांसद ढकालले विज्ञप्तिमा भनेका छन्, "शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केही शब्दले समग्र देश भरका शिक्षकको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो ।"

उनले विज्ञप्तिमा आफ्ना भनाइले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको उल्लेख गरेका छन। आफू सधैँ शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको र आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त विज्ञप्तिमार्फत गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति: 

"उपरोक्त सम्बन्धमा म सधै शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको अवगत गराउदै आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त गर्दछु । मिति २०८१ साउन ७ गते शिक्षा विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केहि शब्दहरुले समग्र देश भरका शिक्षकहरुको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो । उक्त शिक्षा समितिमा अभिव्यक्त भनाईहरु समस्त शिक्षक वर्गलाई अपमानित गर्ने नियत नभई यस्ता समस्या विद्यालयमा सिर्जना भएको अवस्थालाई समेत नयाँ शिक्षा ऐनले संबोधन गर्नुपर्छ भन्ने आशय मात्रै भएको स्पष्ट पार्न चाहन्छु ।

मेरा भनाईले समस्त शिक्षक तथा गुरु वर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको व्यहोरा सम्पुर्णमा अनुरोध गर्दछु ।"

Thuprai - Books and E-books