जनता टिभी र इडियुसञ्जालबीच सम्झौता

शिक्षा क्षेत्रमा सत्य-तथ्य समाचार सम्प्रेषण र समग्र शिक्षा क्षेत्रको उत्थानका लागि आज जनता प्रसारण तथा प्रकाशन लिमिटेड र इडियु सञ्जाल प्रालिबिच सहकार्यको सम्झौता भएको छ।

जनता टिभीको सभाकक्षमा विशेष समारोहबिच जनता प्रसारण तथा प्रकाशन लिमिटेडका नायव महाप्रबन्धक, माधव कार्की र इडियुसञ्जालका प्रमुख कार्यकारी अधिकृत बिदुर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

विगत एक वर्षदेखि जनता टिभीमा 'शिक्षाका कुरा' कार्यक्रम निर्माण र प्रशारण गर्दै आएका नारायण आचार्यले कार्यक्रम संचालन गर्दै यो सम्झौता शिक्षाक्षेत्रको विकासमा बलियो कदम भएको र आफू पनि उत्साहित भएको बताए । 

"विद्यार्थीलाई आफ्नो इच्छा अनुसारको शैक्षिक संस्था  तथा  पढ्न खोजेको विषय खोज्न र शिक्षण संस्थाले आफ्नो बारेमा सम्पूर्ण जानकारी सम्प्रेषण गर्न इडियुसञ्जाल आधिकारिक वेवसाइट हो," सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी आचार्यले भने,  "आजको यो सहकार्यको थालनीले शिक्षामा नीतिदेखि गुणस्तर र समग्र शिक्षाक्षेत्रको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छु ।"

कार्यक्रममा आफ्ना भनाई राख्दै नायव महाप्रबन्धक कार्कीले जनता प्रसारण तथा प्रकाशन सधैँ विभिन्न संस्थासँग सहकार्यमा सकारात्मक रहेको र इडियुसञ्जालजस्तो सूचनाको आधिकारिक वेवसाइटसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए।

संस्थाका समाचार प्रमुख टंक पन्थले सो सम्झौतामा कुनै पक्षको पनि स्वार्थ नरहेको र समय-परिधि पनि नतोकिएकोले लामो समय सँगै काम गर्न तयार रहेको जानकारी दिए।

इडियुसञ्जालका प्रमुख कार्यकारी अधिकृत आचार्यले समाचार र मनोरञ्जनको क्षेत्रमा आफ्नो मजबुत स्थान बनाउँदै गरेको जनता टिभी र पब्लिकेशनसँग सहकार्य गर्दै गर्दा देशको कुना-कन्दरामा शिक्षाको जनचेतना अभिवृद्धिमा थप टेवा पुग्ने बताए । 

"स्थापनाकालदेखि नै इडियुसञ्जाल प्रतिस्पर्दाभन्दा सहकार्यमा विश्वास गर्ने संस्था हो," प्रमुख कार्यकारी अधिकृतआचार्यले भने, "आज सँगै हातेमालो गरेर जाने बाटो खुलेको छ, यसलाई समय र परिस्थिति अनुरुप परिमार्जन गर्दै लानेछौ। "

गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध छ र हामी सबै मिल्ने हो भने नेपाललाई दक्षिण एशियाकै उत्कृष्ट शिक्षण गन्तव्य बनाउन सकिन्छ भनेर इडियुसञ्जाल विगत दस वर्षदेखि शिक्षण संस्था, शिक्षक र विद्यार्थीलाई जोड्ने काम गर्दै आएको छ।

Thuprai - Books and E-books