After SEE Portal

सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालय

Bridge Course

आगामी जेठबाट शिक्षण संस्था बन्द गर्ने निचोडमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको छ । यद्यपि मन्त्रालयले यसका बारेमा आधिकारिक निर्णय गरिसकेको छैन ।

मन्त्रिपरिषद् बैठकले मुख्य गरी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण आगामी महिनाबाट सातामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेको थियो । सार्वजनिक खर्चमा कटौती गर्ने उद्देश्य पनि हो । केही अघि सरकारले गरेको एक अध्ययनले सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत, इन्धन, खानेपानी लगायतमा वर्षभरिमा कम्तीमा डेढ अर्ब रुपियाँ बचत हुने देखाएको थियो ।

सरकारले वैशाख १४ गते गरेको यस निर्णयप्रति शैक्षिक क्षेत्रमा त्यति रुचाइएको छैन । यो निर्णय लागू गर्दा निर्धारित पाठ्यघण्टाअनुसार पठनपाठन पूरा हुन नसक्नेप्रति असन्तुष्टि देखिएको छ । यतिबेला शिक्षा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने वा नदिने भन्ने बारेमा आफूहरूले सरोकारवालाको सरसल्लाह लिइरहेको बताउँदै भने, “सरकारले गरेको निर्णयलाई नमान्ने भन्न सकिँदैन तर व्यवस्थापन कसरी गर्ने भन्नेमा परामर्श गरिरहेका छौँ । हामीहरूले निर्णय नगरिसकेको भए पनि आगामी महिनाबाट सातामा दुई दिन बिदा दिने करिब करिब निचोडमा पुगेका छौँ ।”

सरकारले तीन महिनाका लागि परीक्षणमा जाने भनेको छ । सो अवधिपछि सातामा दुई दिन सार्वजनिक बिदा कायम रहला वा नरहला अहिले नै भन्न नसकिए पनि मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर नै तयार गरिरहेको छ ।

निजी शिक्षण संस्थाका सञ्चालकहरूले भने शिक्षा क्षेत्रमा दुई दिने बिदाका बारेमा परीक्षण गर्न नमिल्ने भन्दै आपत्ति जनाएका छन् । उनीहरूले सातामा दुई दिन बिदा दिइएमा शैक्षिक सत्रभरि कोर्स सकिन कठिन हुने तर्क अगाडि सारेका छन् ।

शिक्षण संस्थामा दैनिक सरदर छ घण्टा पठनपाठन हुँदै आएको छ । शुक्रबार पूरा दिन पठनपाठन गर्दा त्यसले तीन घण्टा कभर गर्ने र बाँकी तीन घण्टामात्र कार्यघण्टा क्षति हुने तर्क शिक्षा मन्त्रालयको छ । परीक्षणका अवधिभरिको मात्र गर्दा पठनपाठनमा ३६ घण्टा क्षति हुनेछ । वर्षभरि ५२ वटा आइतबारमध्ये हिउँदे बिदा, वर्षे बिदा, दसैँ–तिहार बिदा लगायतका गरी ३२ वटा आइतबार शिक्षण संस्था बन्द हुने देखिन्छ । यस हिसाबले वर्षभरि नै आइतबार बिदा गरिएमा करिब एक सय घण्टा क्षति हुने देखिन्छ ।

सरकारी निकाय वर्षभरि २३९ दिन खुल्ने गरेका छन् । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।

“वर्षे र हिउँदे बिदा कटौती गर्नुपर्छ । दसैँमा पनि सकेसम्म बिदा कटौती गर्न सकियो भने पठनपाठन अवधि बढ्नसक्छ” मन्त्रालयका प्रवक्ता शर्माले भने, “जाडोमा मीन पचासको बिदालाई एक महिनामा झार्न सकिन्छ । त्यस्तो भएमा कोर्स पनि पूरा हुन्छ । त्यसैले बरु अन्य बिदा घटाऔँ भन्ने निष्कर्ष हामीहरूको हो ।”

नियमअनुसार हिउँदे र वर्षे बिदा ४५ दिन, स्थानीय बिदा पाँच दिन लगायतका व्यवस्था छ । स्थान र भौगोलिक अवस्था हेरेर हिउँदे र वर्षे बिदा कटौती गर्न सकिने तर्क मन्त्रालयको छ । सुझाव दिने क्रममा सरोकारवालाले विहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म पठनपठन गर्न सकिने भनेका छन् । तर सो कठिन हुने देखिन्छ । किनकी विहान साढे ९ बजेबाट विद्यालय सञ्चालन गर्न कतिपय विद्यार्थी घरबाट ८ वा साढे ८ बजे नै घरबाट निस्किनुपर्ने हुन्छ र यो त्यति व्यवहारिक नहुनसक्छ । तसर्थ मन्त्रालयले विहान १० देखि अपरान्ह ४ बजेसम्म कक्षा सञ्चालन गर्ने निर्णय गर्ने सोच बनाएको छ । मन्त्रिपरिषद्ले आगामी जेठदेखि कार्यालय समय विहान साढे ९ देखि अपरान्ह साढे ५ बजेसम्म कायम गरेको छ ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारको निर्णय स्वीकार्नुबाहेक उपाय नभएको बताउँदै भने, “तर पाठ्यघण्टामा असर गर्नु भएन । अव्यवहारिक अवस्था पनि सिर्जना नहोस् ।”

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुङ्गानाले निर्धारित पाठ्यक्रम पूरा हुन नसक्ने तर्क गर्दै थपे, “कार्य दिन घटाएर पाठ्यक्रम पूरा गर्न सम्भव नहुनसक्छ । निजामती क्षेत्र र शिक्षा क्षेत्र फरक विषय हुन् । त्यसैले निजामती क्षेत्रमा लागू गरिएको निर्णय शिक्षा क्षेत्रमा पनि लागू गर्नुपर्छ भन्ने हुँदैन ।”   

यसअघि सरकारले गत २०५६ साल साउन १ गतेबाट सातामा दुई दिन बिदा दिने अभ्यास गरिसकेको थियो । करिब दुई वर्षसम्म यसरी बिदा दिइएको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books