After SEE Portal

मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

Bridge Course

निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताउनुभयो । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन ।

भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उहाँले जानकारी दिनुभयो ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

उहाँले भन्नुभयो “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएलस्तरको भनिने उहाँको भनाइ छ । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् ।

निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books