A Levels MA

काँचुली फेर्दै मेची क्याम्पस

भद्रपुर, २७ मङ्सिर (रासस):  प्रवीणता प्रमाणपत्र तह हटाइएपछि विद्यार्थी घटेर सात सयमा खुम्चिएको पूर्वकै पुरानो मेची बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी बढेर तीन हजार हाराहारी पुगेको छ । शैक्षिक उन्नयनमा क्याम्पसको चमक बढिरहेको यो दरिलो प्रमाण हो । 

पचपन्न वर्षअघि स्थापित झापाको पहिलो उच्चशिक्षा प्रदायक संस्था मेची बहुमुखी क्याम्पसमा समयानुकूल शैक्षिक र भौतिक सुधार गर्ने कार्य सफलतापूर्वक अघि बढेपछि विद्यार्थी आकर्षण वृद्धि भएको क्याम्पसका प्रमुख कमलप्रसाद गुरागाईं बताउनुहुन्छ ।

गुरागार्इंका अनुसार भद्रपुर हाइस्कुलको एउटा कोठामा सन्ध्याकालीन पठनपाठन गराएर विसं २०२१ असोज १२ गते सञ्चालित मेची इन्टरकलेज नै त्रिभुवन विश्वविद्यालयसँग आङ्गिक क्याम्पसका रुपमा सम्बन्धन प्राप्त हालको मेची बहुमुखी क्याम्पस हो । 

पछिल्लो समयमा विश्वभर प्राविधिक र व्यावसायिक शिक्षाप्रति विद्यार्थीको रुचि बढ्दै गएको छ । यही आवश्यकता मनन गरी रोजगारीमूलक विषयको छनोट, अनुकूल शैक्षिक वातावरण र सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको मेची बहुमुखी क्याम्पसप्रति विद्यार्थीको आकर्षण ह्वात्तै बढेको हो ।

फेरिएको अवस्था

मेची बहुमुखी क्याम्पसमा हाल आठ विषयमा स्नातक तह र पाँच विषयमा स्नातकोत्तर तहको पठनपाठन भइरहेको छ । एउटै छानामुनि यति धेरै विषयको पठनपाठन गराउने अर्को क्याम्पस मेची अञ्चलमा छैन । 

सहायक क्याम्पस प्रमुख जीवन पोखरेलले बिबिए(ब्याचलर इन बिजनेश एडमिनिष्टे«शन)बिसिए(ब्याचलर इन कम्प्युटर अप्प्लिकेशन )र बिएस्सी सिएसआइटी(कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी) जस्ता विश्व जनशक्ति बजारमा सजिलै बिक्ने लोकप्रिय विषयको पढाइ हुने गरेको जानकारी दिनुभयो । विसं २०५५ देखि नेपाली विषयमा स्नातकोत्तर तहको पठनपाठन शुरु गरिएको यस क्याम्पसमा हाल समाजशास्त्र, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विषयमा स्नातकोत्तर कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

भद्रपुर–८ को १६ बिघा परिसरमा रहेको सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायको पठनपाठन एउटै भवनबाट हुँदै आएको छ । विज्ञान सङ्कायको भवन भने अलग्गै छ । क्याम्पसको पठनपाठन र प्रशासनिक क्रियाकलाप लामो अवधिसम्म पुरानो भवनबाट सञ्चालन हुँदै आएको थियो । अब प्रशासनिक काम र पठनपाठन अलगअलग भवनबाट गर्न सकिने गरी नयाँ भौतिक संरचना थपिन थालेको छ ।

प्राध्यापकलगायत १२३ जना अध्यापनरत रहेको यहाँ इ–लाइब्रेरी, छात्रावास, कर्मचारी आवासगृह, खेलमैदान, उद्यान, पार्किङस्थल, खाजागृहलगायत सुविधा छ । क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाइनाका साथै सिसीटिभी क्यामेराको सुरक्षित निगरानीमा राखिएको छ । शैक्षिक वातावरण शान्त र सुरक्षित बनाउन क्याम्पस परिसरलाई बलियो पर्खालले घेराबेरा गरिएको छ । यहाँ चौबीस घण्टा पहरा दिनका लागि पर्याप्त चौकीदार तैनाथ गरिँदै आएको छ ।

प्रशासनिक भवन र छात्रावास थपिँदै

विद्यार्थी बढ्न थालेपछि क्याम्पसले मानविकी, व्यवस्थापन र विज्ञान सङ्कायका अलगअलग भवनबाट पठनपाठन गराउने नीति लिएको छ । हालको मानविकी भवनलाई व्यवस्थापन सङ्कायको भवनमा परिणत गर्ने र नयाँ मानविकी भवन बनाउने क्याम्पसले जनाएको छ । विज्ञान सङ्कायको अलग भवन छँदैछ ।

नयाँ मानविकी भवन निर्माणका लागि त्रिवि विश्वविद्यालय अनुदान आयोगले रु दुई करोड सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ । क्याम्पसमा छात्राका लागि छात्रावास निर्माण गर्न आयोगले रु दुई करोड दिएको छ । दुई तलाको मानविकी भवन र १२ कोठे छात्रावास भवनको निर्माण आजदेखि थालिएको छ । मेची बहुमुखी क्याम्पसमा आजैदेखि नयाँ प्रशासनिक भवन सञ्चालनमा आएको छ । दुईतले १२ कोठाको प्रशासनिक भवन निर्माणमा रु एक करोड ६० लाख खर्च भएको छ ।

जिल्लावासीको अपेक्षा

क्याम्पसले बढाउँदै गरेको शैक्षिक गुणस्तर र भौतिक सुविधाप्रति सन्तोष प्रकट गर्दै जिल्लावासीले अन्तरराष्ट्रिय बजारमा बिक्नलायक उच्च शिक्षित जनशक्ति उत्पादनमा ध्यान जानुपर्ने सुझाव दिएका छन् । 

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरीबले सस्तो शुल्कमा अध्ययन गर्न पाउने क्याम्पसका रुपमा चिनिने सो क्याम्पसले अब प्राविधिक र व्यावसायिक शिक्षाको पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभयो । “पचपन्न वर्षअघिदेखि निरन्तर मेची अञ्चलवासीलाई उच्च शिक्षा प्रदान गर्दै आएको मेची क्याम्पस हाम्रा लागि गौरव हो”, पूर्वविद्यार्थीसमेत रहनुभएका नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “इतिहास बोकेको यो शैक्षिक धरोहरलाई विश्वविद्यालय नै बनाउनेतर्फ अब लाग्नुपर्छ ।”

बिएस्सी सिएसआइटीमा अध्ययनरत विशाल कार्की आइटी पढ्नका लागि भारत र अष्ट्रेलिया जान सुझाव आइरहेका बेला आफू मेची बहुमुखी क्याम्पसमा भर्ना भएको बताउनुहुन्छ । “आजका विद्यार्थी आइटी पढ्न चाहन्छन्, त्यसलाई आफ्नै आँगनको मेची क्याम्पसले पूरा गरिदिएको छ”, भविष्यमा स्वदेशमै रोजगारी गर्न चाहना राख्ने कार्की भन्नुहुन्छ, “पढाइ राम्रो छ तर एउटा अलग्गै सुविधासम्पन्न आइटी बिल्डिङ भइदिए हामीलाई सजिलो हुनेथियो ।” सो क्याम्पसमा २०४६ सालदेखि एक दशकसम्म कानून सङ्कायको स्नातक तहसम्म पढाइ हुन्थ्यो । त्यसैगरी २०६८ सालदेखि एक ब्याचका विद्यार्थीले चिया विज्ञान पढ्न पाएका थिए । हाल चिया विज्ञान र कानून सङ्काय दुवै हटेका छन् ।

मेची बहुमुखी क्याम्पसप्रति विद्यार्थीको अझ आकर्षण बढाउन इन्जिनीयरिङलगायत विषयको पठनपाठन गरिनुपर्ने माग हुन थालेको छ ।

Thuprai - Books and E-books