Managed Admission 2022

शैक्षिक सत्रको क्षतिलाई जोगाउने उपाय

Thuprai - Books and E-books

विषय उठान 

चीनको उहानमा उत्पत्ति भई विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले सुरुको अवस्थामा नेपालको विद्यालय तथा उच्च शिक्षाको शैक्षिक सत्रलाई खासै प्रभाव पारेको थिएन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा २०७६ साल चैत ५ गतेभित्र लिइसक्नुपर्ने निर्देशन दिएपछि सबै विद्यालयले आन्तरिक परीक्षा सम्पन्न गरे । चैत्र ६ गतेबाट प्रारम्भ हुने एसईईको परीक्षा चैत्र ५ गते साँझमा स्थगित गरियो । बैशाख २०७७ मा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भयो । सरकारले चैत ११ गतेदेखि देशव्यापीरूपमा बन्दाबन्दीको घोषणा गर्‍यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधि प्रयोग गरी विद्यार्थीको पठनपाठन अगाडि बढाउन निर्देशन गर्‍यो । यो आंशिकरूपमा मात्र सफल भयो । सरकारले घोषणा गरेको बन्दाबन्दी २०७७ साउन ५ गतेसम्म कायम भयो । कोभिड–१९ को सङ्क्रमण भने झन् फैलिँदै गयो । अहिले विद्यालयको पठनपाठन ठप्प प्रायः छ । वैकल्पिक शिक्षाका विधि पनि प्रभावकारी भएका छैनन् । विद्यालय शिक्षामा सरोकार राख्ने व्यक्ति, अभिभावक, शिक्षक तथा विद्यार्थीबाट शैक्षिक सत्रको क्षतिका सम्बन्धमा जिज्ञाशा, अन्योल, चिन्ता तथा निराशा व्यक्त भएको छ । बैशाखबाट प्रारम्भ हुनुपर्ने विद्यालय शिक्षाको शैक्षिक सत्रको चार महिनाभन्दा बढी क्षति भइसकेको छ । अब आठ महिनाजति बाँकी छ । यस बीचमा नेपालीका महत्वपूर्ण चाडपर्व पनि छन् । हिमाल र तराईमा जाडो याममा हिमपात र शितलहरले पनि पठनपाठनमा अवरोध ल्याउँछन् । यस्तो अवस्थामा विद्यालय शिक्षाको शैक्षिक क्षतिलाई जोगाउन विभिन्न उपाय अपनाउनुपर्ने अवस्था छ । यस लेखमा संस्कृत वाङ्मयको पञ्चतन्त्र र हामीले विगतमा गरेका अभ्यासबाट सिक्न सकिने विषयलाई उजागर गरिएको छ र अन्तमा अब अपनाउनुपर्ने बाटोलाई भावी दिशाका रूपमा दिइएको छ ।  

सिक्न सकिने विषय

पञ्चतन्त्रबाट सिक्न सकिने विषय : विष्णु शर्माले लेखेको पञ्चतन्त्र एक अद्भूत ग्रन्थ हो जसमा थुप्रै नीति कथा छन् । यी कथाले अर्थशास्त्र, राजनीति, कुटनीति, राज्य सञ्चालन लगायतका विषयसहित संसारको सारलाई खिचेर तयार गरेका छन् । पञ्चतन्त्र ग्रन्थ तयार हुनुमा एउटा घटना रहेको छ । दक्षिणतिरको कुनै देशमा महिलारोप्य नामक एक नगर थियो । यस नगरमा एकजना ख्याति कमाएका, कलामा निपूर्ण, दयालु राजा थिए । उनको नाम अमर शक्ति थियो । उनले नगरलाई सुख शान्ति दिएर एकछत्र राज्य गरेका थिए । उनका तीनभाइ छोरा थिए : बहुशक्ति, उग्रशक्ति र अनन्तशक्ति । यी तीनजना राजकुमार साह्रै कमजोर बुद्धिका थिए, मुर्ख पनि थिए । छोराहरूको बुद्धि देखेर राजा दिक्क भए । 

राजाले छोराहरूलाई कुनै गुरुकुलमा पठाएका पनि थिएनन् । उनीहरू कुनै गुरुकुलमा गएर पढेका पनि थिएनन् । छोराहरू वयस्क हुँदै गएका थिए । उमेर ढल्किँदै गएपछि राजालाई चिन्ता लाग्न थाल्यो । राजाले सोच्न थाले, यस्ता विद्याविमुख छोराहरूले कसरी राज्य सञ्चालन गर्लान् र यस नगरका नागरिकलाई सुख देलान् ? यही चिन्ताले व्याकुल भएपछि राजाले मन्त्री र विद्वान ब्राह्मणसहितको बैठक डाके र भने, “मन्त्रीगण र विद्वान ब्राह्मणहरू तपाईंहरूलाई थाहै छ हाम्रा युवराजधिराज र राजकुमारहरू विद्याशून्य छन् । यिनले शास्त्र अध्ययन गरेका पनि छैनन् । अध्ययन नभएकाले यिनीहरू शास्त्रविमुख र विवेशशून्य छन् । मेरो शेषपछि यिनीहरूले यस नगरको शासन सञ्चालनमा विवेक पुर्‍याउन सक्दैनन् । जनतालाई सुख सुविधा दिन पनि सक्दैनन् । त्यसैले यिनीहरूको बुद्धि तिखो बनाउन उपाय खोज्नुहोस् । मैले दिएको वृत्ति उपयोग गर्ने पाँचसय ब्राह्मण पनि हुनुहुन्छ । तपाईंहरू सबैले मेरो अभिलाषा पूर्तिका लागि सही उपाय निकाल्नुहोस् ।”

बैठकका सहभागीमध्ये एकजनाले राजालाई भने, “व्याकरणको ज्ञान आर्जन गर्न १२ वर्ष लाग्ने सुनेको छु । त्यसपछि मनुस्मृति पढ्नुपर्छ । अरू अरू विद्वानहरूले लेखेका धर्मशास्त्र, चाणक्यको अर्थशास्त्र लगायत अन्य अर्थशास्त्र, वात्सायनले लेखेका कामशास्त्र आदि पढ्न बाँकी नै रहन्छ । यी सबै शास्त्रको अध्ययन गरी चिन्तन्मनन् गरेपछि यिनीहरूको बुद्धिको विकास होला जस्तो लाग्छ ।” मन्त्रीहरूका बीचबाट सुमति नामका एकजनाले भने, “मानिसको जीवन अनिश्चित छ । व्याकरणशास्त्रको ज्ञान गर्न पनि धेरै समय लाग्छ । लामो समय खर्च गरेर राजकुमारहरूलाई ज्ञानी र बुद्धिमान् बनाउनका लागि सजिलो उपाय खोज्नुपर्छ । संसारमा असीमित र अपार ज्ञान छ, शास्त्रहरू छन् । यी सबैलाई मानिसले पढ्न आयुले नै पुग्दैन । मानिसको आयु छोटो छ, गर्नुपर्ने काम धेरै छ । यही छोटो आयुभित्र अनेकौ विध्नबाधाहरू पनि आउँछन् । जुन कुरा नसिकी नहुने छ, सारगर्भित छ, त्यस्ता महत्वपूर्ण कुरालाई मात्र टिपेर सिकाउनुपर्छ जसरी हाँसले पानीभित्र चाहिने कुरा मात्र छुट्याएर लिन्छ । हाम्रो नगरमा सबै शास्त्रको ज्ञान भएका विष्णु शर्मा नामका कहलिएका ब्राह्मण छन् । तिनैले राजकुमारहरूलाई छिट्टै शिक्षित र बुद्धिमान् बनाउन सक्छन् जस्तो लाग्छ ।” 

सुमतिको कुरा सुनेपछि राजाले विष्णु शर्मालाई बोलाएर भने, “विद्वान् महोदय ! ममाथि अनुग्रह राखेर मेरा बुद्धिहीन तीन छोराहरूलाई अर्थशास्त्रलगायतका विषयहरूमा जति सक्दो छिटो अरूभन्दा जानकार बनाइदिनुहोस् । यति गरिदिनुभयो भने तपाईंलाई एक सयवटा गाउँको शासन गर्ने अधिकार दिनेछु ।” राजाको अनुरोधलाई सुनिरहेका विष्णु शर्माले भने, “महाराज ! मेरो कुरा सुनिबक्सियोस् । म एक सयवटा गाउँको शासनका लागि मेरो विद्या बेच्न सक्दिन । तपाईंको आग्रहमा तपाईंका तीन छोरालाई म छ महिनामा नीतिशास्त्र जान्ने बनाउन सकिन भने म आºनो नाम नै त्यागिदिन्छु । मेरो कुरा स्पष्ट रूपमा सुनिबक्सियोस् कि म धनको लोभी कहलिन चाहन्न । सरकारको आग्रहलाई पालन गर्दै विद्याको खेल खेल्ने विचार गरेको छु । आजको मितिले छ महिनाभित्रमा तपाईंका छोराहरूलाई नीतिशास्त्रका विषयमा दिग्गज बनाउन सकिन भने मेरो स्वर्ग जाने बाटो रोकेर नरकतिर पठाउन सकिबक्सने छ ।” 

विष्णु शर्माको कठोर र कठिन प्रतिज्ञा सुनेर बैठकका मन्त्री, पाँच सय ब्राह्मण र राजा पनि आर्श्चयचकित भए । राजकुमारहरूलाई विष्णु शर्माको सेवा गर्नका लागि पठाएर राजा ढुक्क भए । विष्णु शर्माले ती राजकुमारहरूलाई आफ्नो आश्रममा लगी विद्वान बनाउनका लागि मित्रभेद, मित्रसम्प्राप्ति, काकोलूकीय, लब्धप्रणाश र अपरीक्षितकारक नाम गरेका नीतिका पाँचवटा प्रकरण बनाएर तिनैको अभ्यास गराउन थाले । पढाउन थालेको छ महिनाभित्रै राजकुमारहरू विद्वान र ज्ञानीगुनी भए । विष्णु शर्माले राजकुमारहरूलाई छ महिनाको अवधिमा दिनका लागि तयार गरेका नीतिशास्त्रका पाँचवटा प्रकरणको संयुक्त ग्रन्थ पञ्चतन्त्र हो । त्यस बेलादेखि पञ्चतन्त्र बालबालिकालाई सद्बुद्धि दिई व्यवहारकुशल बनाउन नीतिशास्त्रका रूपमा प्रयोग गर्न थालियो । यो पञ्चतन्त्र निकै लोकप्रिय पनि भयो । आधुनिक शब्दमा भन्ने हो भने पञ्चतन्त्र संश्लेषित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक हो । 

संश्लेषित पाठ्यक्रमको अभ्यास 

औपचारिक शिक्षा लिन नियमित विद्यालय जान नसकेका र बीचैमा विद्यालय छाडेका बालबालिकाका लागि औपचारिक शिक्षासरहको शिक्षा दिनका लागि वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको अनुभव नेपालसँग छ । हामीसँग संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तकको अभ्यास गरेको अनुभव छ । कक्षा १ देखि ५ सम्मको पाँच वर्षको शिक्षा तीन वर्षमा वैकल्पिक शिक्षा कार्यक्रममार्फत् पूरा गरेको सफल अभ्यास पनि छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विगतमा विद्यालय शिक्षामा संश्लेषित फाठ्यक्रमको अभ्यास गरेको थियो । यो अभ्यास उपलब्धिमूलक थियो । यसलाई कन्डेन्स प्याकेज (Condensed Package) पनि भनिन्थ्यो । अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत वैकल्पिक शिक्षा कार्यक्रम (Alternative Schooling) सञ्चालन गरिएको थियो । यसअन्तर्गत प्राथमिक शिक्षा विस्तार कार्यक्रम (School Outreach Programme-SOP) र अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम (Flexible Schooling Programme-FSP) सञ्चालनमा थिए । कक्षा १ देखि ३ सम्मको औपचारिक विद्यालय शिक्षाबाट वञ्चित छ वर्षदेखि आठ वर्ष उमेर समूहका बालबालिकाका लागि दैनिक चार घण्टाका र हप्ताको छ घण्टाका दरले उपयुक्त स्थानमा तीन वर्षसम्म पठनपाठन गराउने, यसका लागि औपचारिक शिक्षाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरिने र यो कार्यक्रमको समकक्षता कक्षा तीन बराबर हुने गरी वैकल्पिक शिक्षा कार्यक्रम अभ्यास गरिएको थियो । कक्षा १ देखि ५ सम्मका औपचारिक विद्यालय शिक्षाबाट वञ्चित आठदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम कार्यान्वयन गरिएको थियो । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा औपचारिक शिक्षाको कक्षा १ देखि ५ सम्मको पाठ्यक्रमलाई संश्लेषण गरी तीन वर्षमा पूरा हुने संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक (Condensed Curriculum and Textbook) निर्माण गरी लागू गरिएको थियो । यो शिक्षाको समकक्षता औपचारिक शिक्षाको कक्षा ५ बराबर थियो । 

हामीसँग खुला विद्यालयको अनुभव पनि छ । कक्षा ५ पूरा गरी पढाइलाई निरन्तरता दिन नसकेका १४ वर्षभन्दा माथिका बालबालिकाका लागि कक्षा ६ देखि ८ सम्मको औपचारिक शिक्षाका पाठ्यक्रमअनुसारको पठनपाठन दुई वर्षमा पूरा गर्ने गरी संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरिएको थियो । दैनिक दुई घण्टाको दरले हप्तामा १२ घण्टा पठनपाठन हुन्थ्यो । स्वाध्ययन, सूचना प्रविधि, अनुभवको उपयोग, आमनेसामनेजस्ता शिक्षण सिकाइ प्रक्रिया उपयोग गरिएको थियो । सहभागीको अनुभव, गृहकार्य, परियोजना कार्य, समूह कार्य, एकाइ परीक्षा र सिकाइ उपलब्धिमा आधारित मूल्याङ्कनका आधारमा सिकारुको लेखाजोखा गरिन्थ्यो । त्यस्तै, कक्षा ८ पूरा गरी १४ वर्षभन्दा बढी उमेरका माथिका बालबालिकाका लागि कक्षा ९ र १० को औपचारिक शिक्षाका पाठ्यक्रमअनुसारको पठनपाठन एक वर्षमा पूरा गर्ने गरी संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरिएको थियो । डेढ महिनाको अन्तरालमा पाँच दिनका दरले सातपटक गरी ३५ दिनमा १७५ घण्टाको सम्पर्क कक्षा सञ्चालन गरिन्थ्यो । ३५ दिनको सम्पर्क कक्षा, सहजकर्तासँग प्रत्यक्ष भेटघाट, रेडियो पाठ, टेलिफोल सम्पर्क, अनलाईन र अफलाइनमा सिकाइ पाठ र सिकाइ पाठको सिडी वितरणजस्ता शिक्षण सिकाइका प्रक्रिया अबलम्बन गरिएको थियो । सम्पर्क कक्षामा नियमित सहभागिता, गृहकार्य, परियोजना कार्य, मध्यावधि तथा अन्तिम परीक्षालाई सिकाइ मूल्याङ्कनको आधार बनाइएको थियो । एक वर्षको अवधिको अन्त्यमा साविककाे एसएलसी परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । हामीसँग अनौपचारिक प्रौढ विद्यालय सञ्चालनको पनि अनुभव छ ।

विद्यालय शिक्षा लिने अवसर नपाएका १५ वर्षभन्दा बढी उमेरका प्रौढका लागि कक्षा १ देखि १० सम्मका विषयको पठनपाठन गराउने पद्धति अनौपचारिक प्रौढ विद्यालय हो । यसका कक्षा १ देखि ५ सम्मको तीन वर्ष, कक्षा ६ देखि ८ सम्मको दुई वर्ष र कक्षा ९ र १० एक वर्ष गरी जम्मा छ वर्षमा १० शैक्षिक वर्षको पठनपाठन सम्पन्न गरिन्थ्यो । यसका लागि कक्षा १ देखि ५ मा औपचारिक प्राथमिक शिक्षा कार्यक्रमको संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक, कक्षा ६ देखि ८ सम्म निम्नमाध्यमिक तहको खुला विद्यालयको संश्लेषित पाठ्यक्रम र कक्षा ९ र १० का लागि कक्षा ९ र १० को नियमित पाठ्यक्रम र पाठ्यपुस्तकलाई नै उफयोग गरिएको थियो । यो कार्यक्रममा कम्तीमा दैनिक दुई घण्टा नघट्ने गरी पठनपाठन गराइन्थ्यो । सहजकर्तासँग आमनेसामने छलफलबाट पठनपाठन सञ्चालन हुन्थ्यो । सामान्य विद्यालय जस्तै गृहकार्य, कक्षाकार्य, कक्षा नियमितता, एकाइ परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा, आवधिक परीक्षाबाट सिकाइको मूल्याङ्कन गरिन्थ्यो ।

संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरिएको अनुभव हामीसँग भएकाले अहिलेको परिस्थितिमा संश्लेषित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी छोटो समयमा तोकिएका सिकाइ उपलब्धि हासिल हुने गरी शिक्षण सिकाइ प्रक्रिया अबलम्बन गर्न सकिन्छ । यसका लागि गृहकार्य, परियोजना कार्य, एकाइ परीक्षा, नजिक नजिकका विद्यार्थीका लागि समूह कार्य, मासिक परीक्षा, पुस्तक हेरेरै परीक्षा दिन मिल्ने प्रश्नको उपयोग गरी घर परीक्षा र अनुकूल अवस्थामा मध्यावधि र अन्तिम परीक्षा सञ्चालन गरी आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ । 

भावी दिशा 

संश्लेषित पाठ्यक्रम बनाउने : कक्षा १ देखि १० सम्मका प्रत्येक कक्षाका प्रत्येक विषयको पाठ्यक्रमलाई पुनरावलोकन गरी संश्लेषण गर्न सकिने सिकाइ उपलब्धि र विषयवस्तुलाई मिलाउनुपर्छ । यसरी मिलाइसकेको सिकाइ उपलब्धि र विषयवस्तुलाई संश्लेषित पाठ्यक्रम बनाएर शिक्षकको पहुँचमा पुर्‍याउनुपर्छ । शिक्षकलाई प्रयोग गर्ने तरिकासहितको निर्देशिका पनि दिनुपर्छ । विगतमा अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, निम्नमाध्यमिक तहको खुला विद्यालय कार्यक्रम र माध्यमिक तहको खुला विद्यालय कार्यक्रममा गरिएको सिकाइ उपलब्धि र विषयवस्तुको संश्लेषणलाई आधार मानेर विगतका अनुभवको उपयोग गर्नुपर्छ । 

संश्लेषित पाठ्यक्रम तयार गर्दा ७० प्रतिशतसम्म संश्लेषण गर्ने प्रयास गर्नुपर्छ । सिकाइ उपलब्धि र सिक्नेपर्ने विषयवस्तुको छनोट र सङ्गठन मिल्ने कक्षाका विषयलाई एकीकृत किसिमले तयार गर्नुपर्छ । जस्तै : कक्षा २ र ३ का नेपाली, गणित, सामाजिक अध्ययन, विज्ञान जस्ता विषयका विषयवस्तुलाई एकीकृत गरी पठनपाठन गराउन सकिने । यसका लागि यस वर्षको बाँकी अवधि र अर्को वर्षको पूरा शैक्षिक सत्रको समय मिलाउन सकिने । कक्षा तीनका विद्यार्थी चारमा पुग्ने भएकाले सिक्नुपर्ने बाँकी विषय कक्षा ४ मा सिकाउने गरी मिलाउन सकिने ।

पाठ्यक्रमको उद्देश्यअनुसार पठनपाठन गराउने : पठनपाठन पाठ्यक्रमका उद्देश्य हासिल गर्नका लागि हो तर अधिकांश विद्यालयमा पाठ्यपुस्तक पढाउने चलन छ । पाठ्यक्रमका उद्देश्यअनुसार पठनपाठन गराउने हो भने समय बचाउन सकिन्छ । उद्देश्यअनुसार सिकाइ उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीका लागि उपचारात्मक शिक्षण विधि प्रयोग गर्नुपर्छ ।  

परियोजना कार्यलाई प्राथमिकतासाथ कार्यान्वयन गर्ने : पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य र विषयवस्तु कक्षाकोठामा पठनपाठन गर्न समयले पुग्दैन । कक्षाकोठामा पढाएर मात्र विद्यार्थीले सिक्न सक्दैनन् । सिकाइमा विद्यार्थीको सहभागिता बढाउनुपर्छ । यसका लागि अधिकतम् परियोजना कार्यको उपयोग गर्नुपर्छ । परियोजना कार्य सम्पन्न गर्न विद्यार्थीका अभिभावक र दाजुदिदीको पनि सहयोग लिनुपर्छ । यसो गरेमा थोरै समयमा नै पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ । 

निरन्तर मूल्याङ्कन पद्धतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने : गृहकार्य, परियोजना कार्य, एकाइ परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा आदिका माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण गरिरहनुपर्छ । तयारी अभ्यास पुस्तिका निर्माण गरी विद्यार्थीले घरमा नै अभ्यास गर्ने प्रबन्ध गर्नुपर्छ । निरन्तर मूल्याङ्कन पद्धतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ ।

शैक्षिक सत्रको समय समायोजन गर्ने : वर्तमान समयको शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न शैक्षिक सत्रको समय समायोजन गर्नुपर्छ । अहिले शैक्षिक सत्र २०७७ को झन्डै साढे चार महिना गुज्रिसकेको छ । कोभिड–१९ को सङ्क्रमण अझ कति दिनसम्म रहिरहन्छ भन्ने अनुमान पनि गर्न सकिँदैन । यस्तो अवस्थामा शैक्षिक सत्रको समायोजन गर्नु बान्छनीय हुन्छ । शैक्षिक सत्र २०७७ साललाई आगामी वर्ष जेठसम्म लम्बाउने, अर्को वर्षको शैक्षिक सत्रमा पढाउने घन्टा नघट्ने गरी ११ महिनाको बनाउने र शैक्षिक सत्र २०७९ मा मिलान गर्ने गरी समायोजन गर्दै जानुपर्छ ।

निष्कर्ष 

माथि उल्लिखित सुझावलाई कार्यान्वयनमा लैजानका लागि सरोकारवालाहरूसँग सघन छलफल गरी निर्णयमा पुग्नु जरुरी भइसकेको छ ।  सरोकारवालाहरूको छलफलपश्चात् आम सहमति कायम गरी कार्यान्वयनमा गएमा कोभिड–१९ बाट हुन गएको शैक्षिक क्षति न्यूनीकरण गरी नियमित अवस्थामा फर्किन सकिनेछ । 

लेखक नेपाल सरकारका सचिव हुन् ।