
महालक्ष्मी नगरपालिका ललितपुरले विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित गर्न एक निर्देशिका जारी गरेको छ । निर्देशिका नगरभित्र रहेका सामुदायिक, गुठी र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागु हुने भएको छ ।
कक्षा एकदेखि १० सम्ममा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य, जनसङ्ख्या र वातावरण, पेसा, व्यवसाय र प्रविधि विषयका लागि नगरपालिकाले निर्देशिका जारी गरेको हो ।
निर्देशिकाअनुसार विद्यालयका सबै परीक्षा तथा दैनिक शिक्षण सिकाइ प्रक्रिया निर्देशिकामा व्यवस्था गरेका परियोजना कार्यहरू सञ्चालन गरी तोकिएको आधारमा वस्तुगत मूल्याङ्कन गरी ग्रेड प्रदान गर्ने व्यवस्था गरेको छ । प्रायोगात्मक परीक्षा र परियोजना कार्यको हरेक विद्यालयले आन्तरिक र बाह्य सुपरीवेक्षण गर्नै पर्ने व्यवस्था छ ।
विद्यार्थीहरूले सैद्धान्तिक विषयमा न्यून अंक ल्याए पनि प्रयोगात्मक परीक्षामा ३.६ जीपीए भन्दा बढी नम्बर विद्यालयले ल्याउँदै आएको गुनासो सर्वत्र सुनिन थालेपछि नगरपालिकाले प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको हो ।
नेपालको शिक्षणसिकाइ प्रक्रिया व्यावहारिक छैन । कक्षाकोठामा सैद्धान्तिक सिकाइमात्र हुन्छ । उत्पादि त जनशक्ति विश्वबजारमा प्रतिस्पधार्न गर्न सक्ने छैनन् । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले सञ्चालन गरेका गतिविधिहरू पनि प्रभावकारी हुन सकेका छैनन् । एकातिर सैद्धान्तिक विषयमा सामान्य ज्ञान हासिल नगरेका विद्यार्थीको जीपीए पनि प्रायोगात्मक परीक्षाका कारण उच्च हुन गएको छ । नेपालीमा ३.६ जीपीए ल्याउने विद्यार्थीको भाषिक शुद्धता मापन गर्ने हो न्यून भेटिन्छ । भने सामाजिक विषयमा ३.६५ जीपीए ल्याउने विद्यार्थीमा सामान्य नागरिक चेतना पनि विकास नभएको निरीक्षणका क्रममा भेटिएपछि यसलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको नगर शिक्षा प्रमुख रामबन्धु सुवेदीले बताए ।
विद्यालयमा प्रयोगात्मक कक्षा कम हुने गरेका छन् । एकातिर पाठ्यक्रम छ भने अर्कोतिर पाठ्यपुस्तकका आधारमा सैद्धान्तिक सिकाइमात्र हुने गरेको छ । हरेक पाठलाई सिपसंग जोडेर व्यवहारिक सिकाइका लागि निर्देशिका जारी गरिएको हो । ‘हाम्रो सिकाइ घोकाइमा आधारित छ ।’ प्रमुख सुवेदीले भने, ‘सिकाइलाई व्यवहार परिवर्तनसंग जोडी दैनिक जीवनका समस्या समाधान गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने निर्देशिका तयार गरिएको हो ।’
निर्देशिकामा हरेक विषयका छुट्टाछुट्टै परियोजना कार्य सञ्चालनका उद्देश्य, मूल्याङ्कन प्रक्रिया समावेश गरिएको छ । त्यस्तै प्रयोगात्मक परीक्षाको विशिष्टीकरण तालिका निर्माण गरिएको छ ।विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाइ पद्धति सञ्चालन निर्देशिका २०७६ नामक निर्देशिकाले नगरको शिक्षणसिकाइ प्रक्रियामा गुणात्मक परिवर्तन ल्याउने नगर प्रमुख रामेश्वर श्रेष्ठले विश्वास व्यक्त गरे । ‘कक्षाकोठाको सिकाइ पद्धति कमजोर छ ।’ प्रमुख श्रेष्ठले भने, ‘प्रयोगात्मकको टेको टेकेर २ नम्बर ल्याउने विद्यार्थीको पनि जीपीए माथि देखिएपछि यसलाई व्यवस्थित गर्दै मूल्याङ्कन प्रक्रियामा सुधार ल्याउन निर्देशिका ल्याएका हौं ।’
नगरपालिकाले छुट्टाछुट्टै विषयको निर्देशिका लेखन समिति गठन गरेको थियो । तहगतरुपमा गठन गरिएका विषय विज्ञ,शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधिले पाँच महिनाको लामो अध्ययन, अनुसन्धान गरेर निर्देशिका जारी गरेको हो ।