Ranakalin Shiksha

बन्दाबन्दीमा मिश्रित पठनपाठन रणनीति

पृष्ठभूमि

विद्यालय बन्द हुने समय लम्बिदै जाने सङ्केत देखिएको छ । कोभिड-१९ को कहर भन्दाभन्दै यसको दोस्रो लहर आयो  । अर्को तेस्रो लहर आउने हल्ला छ । यसले के देखाउँछ भने विगतमा जस्तै अब विद्यालयमा निर्धक्क भएर सँधैभरि पठनपाठन सञ्चालन गर्ने अवस्था आउँछ भन्ने छैन । त्यसैले अब विद्यालयमा पठनपाठनलाई कुनै पनि उपायबाट निरन्तरता दिन सबै अभिभावक, शिक्षक  र सरोकारवालाले उपयुक्त पठनपाठन रणनीति बनाउनु आवश्यक भएको छ । कति दिन विद्यालयीय पठनपाठन बन्द गर्ने, कति पटक पठनपाठन र बाह्य मूल्याङ्कन बिना कक्षा चढाउने भन्ने बारेमा अब सबैले सोच्ने समय आएको छ ।

परिचय

शैक्षिक सामग्रीका किसिमका रुपमा श्रव्य, दृश्य र श्रव्य-दृश्य सामग्री भनेर हामीले पढ्यौँ । अनलाइन अफलाइन पनि एक प्रकारले श्रव्य, दृश्य र श्रव्य-दृश्य सामग्रीहरु नै हुन् । कक्षाकोठामा श्रव्य, दृश्य र श्रव्य-दृश्य सामग्री प्रयोग गरेर हामीले प्रवचन, छलफल, प्रदर्शन आदि जस्ता विभिन्न विधिबाट पठनपाठन गरायौँ । यो हाम्रो परम्परागत तरिका भयो । यसमा अनलाइन विधि मिसाएपछि त्यो मिश्रित (यसपछि: ब्लेन्डेड) पठनपाठन विधि बन्छ । यो कुनै अप्ठेरो र फरक कुरा होइन ।

अनलाइनबाट गरिने पठनपाठनलाई विभिन्न किसिमका नाम दिने गरिएको छ । कतै भर्चुअल कक्षा, डिजिटल कक्षा, अनलाइन कक्षा आदि भनिन्छ । कतै इ-लर्निङ, एम-लर्निङ आदि पनि भनिएको पाइन्छ । तर ब्लेन्डेड विधि र वैकल्पिक माध्यम भनेको अनलाइन माध्यम मात्र होइनन् अफलाइन माध्यम पनि हो । इन्टरनेट बिना प्रयोग गर्न सकिने श्रव्य, दृश्य र श्रव्य-दृश्य सामग्री नै अफलाइन माध्यम हो । विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुन नसकेका कारण अनलाइन अफलाइन माध्यम परिवारपछिको ‘दोस्रो पाठशाला’ र विद्यालयपछिको ‘दोस्रो शिक्षक’का रुपमा स्थापित हुँदै गएका छन् ।

ब्लेन्डेड सिकाइ विधिलाई हाइब्रिड (वर्णशङ्कर) सिकाइ, मिश्रित माध्यमको शिक्षण, वेब इनह्यान्स्ड शिक्षण, टेक्नोलोजी मेडएटेड शिक्षण आदि पनि भनिन्छ । सर्वप्रथमत: यस अवधारणाको विकास सन् १९६० को दशकदेखि र २००६ देखि ठोस सिकाइ प्रणालीकै रुपमा विकसित भएको विकिपेडियामा उल्लेख छ ।

ब्लेन्डेड विधिको उद्देश्य

बन्दाबन्दी वा त्यस्तै कुनै महामारी वा भौगोलिक दूरीका कारण शिक्षक र विद्यार्थी बीच टुटेको शैक्षिक सम्पर्क कायम गर्नु र पठनपाठनलाई निरन्तरता कायम गर्नु नै  ब्लेन्डेड विधिको मुख्य उद्देश्य हो । यसले इन्टरनेट पहुँच भएका र नभएका सबै किसिमका विद्यार्थीलाई पठनपाठन र परीक्षासँग जोडनुलाई यसको अर्को महत्वपूर्ण उद्देश्यका रुपमा लिन सकिन्छ । यसैगरी ब्लेन्डेड विधिले विद्यालयलाई समुदायसँग पनि जोडन सक्दछ ।

नतिजा

ब्लेन्डेड विधिको प्रयोगबाट शिक्षक र विद्यार्थीबीच निरन्तर सम्पर्क कायम हुन्छ । विद्यार्थीहरु पठनपाठनमा आत्म निर्भर हुन्छन् । उनीहरुमा आफै अनलाइन अफलाइनबाट सामग्री खोज्ने, डाउनलोड गर्ने, सामग्रीहरु सेभ गरेर राख्ने, आफूले चाहेको समयमा सेभ गरिएका सामग्रीहरु पढने, शिक्षकसँग अनलाइन-अफलाइन सम्पर्क गरी पढने, शिक्षकले दिएका पाठपत्रहरु अध्ययन गर्न र कार्यपुस्तिकाका अभ्यास गर्न सक्षम हुन्छन् । शिक्षकहरु निरन्तर सक्रिय हुन्छन् । विपद्को समय र परिस्थितिमा समेत विद्यालयको शैक्षिक गतिविधि क्रियाशील हुने वातावरण बन्छ ।

ब्लेन्डेड शिक्षण रणनीतिको छनोट

परम्परागत र अनलाइन-अफलाइन प्रणालीका विभिन्न शिक्षण विधि समावेश गरेर ब्लेन्डेड पठनपाठन रणनीति बनाउन सकिन्छ । सबै विद्यालयको ब्लेन्डेड पठनपाठन रणनीति एउटै नहुन सक्छ । यस विषयमा अरु विद्यालयसँग एकरुपता ल्याउनु परेन । कुन कुन रणनीति समावेश गर्ने भन्ने कुरा विद्यालयमा उपलब्ध सञ्चार सुविधा, शिक्षकको कार्यदक्षता र सिप, विद्यार्थीको कक्षा र स्तर, समुदाय र अभिभावकको सहभागितामा भरपर्दछ । यस विषयमा विद्यालयमा बैठक बसेर छनोटको निर्णय गर्न सकिन्छ । यस्तो रणनीतिलाई आवश्यकतानुसार संशोधन वा परिमार्जन गर्न सकिन्छ ।

ब्लेन्डेड पठनपाठन रणनीतिका केही उदाहरण

इन्टरनेटको पहुँच भएका र नभएका दुवै प्रकारका विद्यार्थीलाई समेटने एउटा प्रविधि सियुजी (क्लोज युजर ग्रुप) सीम कार्डबाट प्राप्त हुने सुविधा हो । फोनमा सियुजी सिम राखेपछि सेवा प्रदायक कम्पनीले दिएको सुविधा उपयोग गरी भ्वाइस कल, भिडियो कल, इमेल, युट्युब आदि सहुलियत दरमा चलाउन सक्छन् ।  इमेलको उपयोग गरी पाठपत्र, कार्यपुस्तिका, गृहकार्य, परियोजना कार्य, लिखित परीक्षाका प्रश्न र उत्तरहरु पठाउन तथा प्राप्त गर्न सकिन्छ । भिडियो कल (जुम, गुगल मिट, भाइबर, मेसेन्जर आदि) अहिलेको सबैभन्दा उपयोगी र लोकप्रिय अनलाइनमा आधारित सिङ्क्रोनस प्रविधि हो । इन्टरनेटको पहुँच भएको स्थानमा यसबाट प्रत्यक्ष देखादेखमा दोहोरो सञ्चारसहित पठनपाठन सञ्चालन गर्न सकिन्छ ।

त्यसैगरी रेडियो र टेलिभिजनबाट प्रसारण हुने पाठसँग पाठ्यपुस्तकको पाठ जोडेर गरेर पनि पठनपाठन सञ्चालन गर्न सकिन्छ । विद्यार्थीले चाहेको समयमा पढन र हेर्न मिल्ने गरी पेनड्राइभमा श्रव्य दृश्य सामग्रीहरु वितरण गरेर पठनपाठन गराउन सकिन्छ । यस्ता रणनीति अफलाइन प्रविधि अन्तर्गत आउँछन् । यसका लागि शिक्षकले सबै विद्यार्थीहरुलाई रेडियो र टेलिभिजनबाट प्रसारण हुने पाठको समय तालिका उपलब्ध गराउन सक्छन् । मेसेजबाटै रेडियो र टेलिभिजनबाट पाठ प्रसारण गर्ने च्यानलहरुको नाम र समय पठाइदिन सक्छन् । स्रोतभएका विद्यालयले जुम जस्ता एप्लिकेसन र सफ्टवेयर खरीद गरेर भर्चुअल कक्षा सञ्चालन गर्नसक्छन् । माथि भनिएका रणनीतिको कार्यान्वयन गर्न विद्यालयमा नियमित रुपमा आउने गरेको विद्यालय सञ्चालन खर्चलाई स्थानीय तहको अनुमतिमा खर्च गर्न सक्छन् । उक्त बजेट रकम अपुग भएमा स्थानीय तहसँग अनुरोध गर्न सकिन्छ । स्थानीय तहका सबै विद्यालयका लागि एकीकृत सफ्टवेयरसमेत प्रयोग गर्न सकिन्छ ।           

फाइदा

घर दैलो सिकाइ सहजीकरण रणनीतिले माथि भनिएका सबै खाले रणनीतिको उपयोग र प्रभावकारिताको अवस्था पहिचान गर्न, विद्यार्थी अलमल परेको ठाउँमा पथप्रदर्शन र परामर्श प्रदान गर्न सहयोग गर्दछ । विद्यालय खुलेको समयमा कक्षा सञ्चालन गर्न सकियो भने त्यसले अनलाइन अफलाइन र घरदैलो विधिबाट गरिएको सिकाइ सहजीकरणलाई जोडछ र ब्लेन्डेड विधिको पूरापूर उपयोग हुने वातावरण बन्छ । यसबाट विद्यार्थीलाई सही र उपयुक्त पृष्ठपोषण प्राप्त हुन्छ । त्यसैले ब्लेन्डेड विधिमा पृष्ठपोषण रणनीति समावेश गर्न आवश्यक हुन्छ । ब्लेन्डेड विधिबाट अध्ययन गरेका विद्यार्थीहरु पढाइ-लेखाइमा आत्मनिर्भर बन्छन् । शिक्षकमा अनलाइन-अलाइनमा आधारित पठनपाठनमा  आत्मविश्वासको भावना जागृत हुन्छ । ब्लेन्डेड विधिमको प्रयोगले अनलाइन र अफलाइन विधिबाट लिखित तथा मौखिक परीक्षा सञ्चालन गर्न सहज वातावरण बन्छ । शुरु-शुरुमा घरैबाट लेखेर ल्याउने गरी खुला पाठ्यपुस्तक विधिबाट परीक्षा लिन सकिन्छ । यसपछि आमने-सामने सरह भिडियोबाट हेरेर नियन्त्रित वातावरणमा लिखित परीक्षा चलाउन पनि सकिन्छ । यो कुरा विद्यालयमा रहेको प्रविधिको जडान र प्राविधिक क्षमतामा भर पर्दछ ।

निष्कर्ष

बन्दाबन्दीका कारण विद्यालयमा कक्षाहरु सञ्चालन हुन सकिरहेका छैनन् । यसले गर्दा विद्यार्थीहरुको उमेरसँगै पठनपाठनलाई निरन्तरता दिने कसरी भन्ने अर्को चुनौती बनेको छ । यसका लागि ब्लेन्डेड शिक्षण रणनीति एउटा उपाय हुनसक्छ । यसले विद्यालयबाट टाढिएका विद्यार्थी र शिक्षकलाई एउटै शैक्षिक वातावरणमा ल्याउन मद्दत गर्दछ । यसका विभिन्न रणनीतिहरु छन् । विद्यालयले आफ्नो तरिकाले रणनीतिहरु छनोट गर्न सक्दछन् । रणनीतिहरु पहिचान भएपछि शिक्षकले आफ्नो विषय र कक्षाअनुसार तिनका कार्यनीति बनाउन सक्छन् । कार्यनीतिलाई समयतालिका बनाएर कार्यान्वयन गर्न सकिन्छ । सबै रणनीतिका फाइदाहरु मात्र हुँदैनन्, केही सीमितता पनि हुन्छन् । गुण-दोष, फाइदा-बेफाइदा घटीबढीको कुरा मात्र हो । पठनपाठनका रणनीतिको छनोट र उपयोग गर्ने कला विद्यालयका शिक्षक आफैले विकास गर्ने कुरा हो, अरु कसैले आएर गर्दैन ।

यस आलेखमा उठाइएको विषय सन्दर्भ सम्बन्धमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा स्थानीय तहहबाट समेत विभिन्न मितिमा जारी भएका सहजीकरण निर्देशिका, समायोजन ढाँचा, परिपत्रहरुले समेत बाटो खोलिदिएकै छन् । तिनको अध्ययन गरी नीति विपरित नहुने गरी पठनपाठनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।

लेखक कोहलपुर नगरपालिका, बाँकेका शिक्षा शाखा प्रमुख हुन् ।