After SEE Portal

तनहुँका स्थानीय तहमा शिक्षकलाई हाजिर गराउन रोक

Bridge Course

दमौली, १२ वैशाख (रासस) : तनहुँका दुई स्थानीय तहले स्थायी भएर पदस्थापन भएका शिक्षकलाई तत्काल हाजिर गराउन रोक लगाएको छ । शिक्षा विकास तथा समन्वय एकाइबाट नियुक्तिपत्र लिएर पदस्थापन भएका शिक्षकलाई भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले तत्काल हाजिर नगराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

भिमादका मेखबहादुर थापाले यही वैशाख २ गते नगरपालिकासँग सहकार्य र समन्वय नगरी धमाधम शिक्षक पठाएको भन्दै सामुदायिक विद्यालयलाई परिपत्र गर्नुभएको छ ।

नगरपालिकासँग कुनै पनि सहकार्य र समन्वय नै नगरी धमाधम शिक्षक पठाएको भन्दै तत्कालका लागि हाजिर गर्न रोक लगाइएको शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले बताउनुभयो । उहाँका अनुसार जनशक्ति व्यवस्थापनसँग वित्तीय व्यवस्थापनको पाटो समेत जोडिने हुँदा शिक्षक पठाउँदा तलब भत्ता तथा विषयगत शिक्षक मिलानमा समेत कठिनाइ उत्पन्न हुने देखिएको छ ।

यसैगरी म्याग्देले समेत स्थायी भएर पदस्थापना भएका शिक्षकलाई हाजिर गर्नबाट रोक लगाएको छ । शिक्षा शाखाप्रमुख विजयराज बडूले शिक्षक नभएर ताला लागेको विद्यालयमा शिक्षक नपठाई दरबन्दी धेरै भएका विद्यालयमा शिक्षक पदस्थापन भएपछि तत्काललाई हाजिर हुन रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पालिकाभित्रका प्रधानाध्यापकलाई पदस्थापन भइआएका शिक्षकलाई तत्कालका लागि हाजिर नगराउन निर्देशन दिइएको हो ।

समन्वय एकाइ प्रमुख दामोदर आचार्यले अधिकांश शिक्षक पहिल्यै कार्यरत रहेकै ठाउँमा पदस्थापन गरिएकाले विवाद गर्न नहुने बताउनुभयो । समन्वय एकाइले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएका ४०७ शिक्षकलाई नियुक्तिपत्र दिएर पदस्थापन गराएको थियो । आचार्यका अनुसार प्राथमिक तहका ३३५, निम्न माध्यमिक तहका ३९ र माध्यमिक तहका ३३ शिक्षकलाई पदस्थापन गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books