SEE Result 2082

गोकर्णेश्वरको आधारभूत तहमा स्थानीय पाठ्यपुस्तक

गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलोपटक आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगर कार्यपालिकाले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक विमोचन गर्नुहुँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएका विषयवस्तुलाई उत्तिकै महत्व दिइनुपर्ने बताउनुभयो ।

“स्थानीय र राष्ट्रिय धरोहर पाठ्यपुस्तकमा समन्वयात्मक रुपमा समावेश हुनुपर्छ, अङ्ग्रेजीसँगै नेपाली भाषालाई पनि महत्वका साथ अध्यापन गराइनुपर्छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिनुपर्छ, विकसित देशमा कार्यकारी प्रमुख र उनका चालक पनि सामुदायिक विद्यालयमै पढ्छन्, सार्वजनिक शिक्षालाई सुधार गर्न स्थानीय तहको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनअनुसार राष्ट्रिय शिक्षा नीति बनाउने कामलाई हालैको मन्त्रिपरिषद् बैठकले अघि बढाएको मन्त्री पोखरेलले बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गर्न पनि उहाँले नगरपालिकालाई आग्रह गर्नुभयो ।

शिक्षक सेवा आयोग उत्तीर्ण गरेकालाई मात्र शिक्षक बनाउन पनि मन्त्री पोखरेलले स्थानीय तहलाई आह्वान गर्नुभयो । शिक्षा रुपान्तरणको महत्वपूर्ण भूमिका शिक्षककै हुने गरी स्थानीय तहले पनि नीति निर्धारण गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काठमाडौँ अध्यक्ष एवं सांसद कृष्ण राई र नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नगरप्रमुख सन्तोष चालिसेले पछिल्लो पुस्ताले स्थानीय पहिचान, धर्म, संस्कृति, संस्कार र परम्परालगायत विषय बिर्सन लागेकाले पाठ्यपुस्तकका माध्यमबाट सम्झाउन खोजिएको बताउनुभयो । मानिसले बिहानदेखि बेलुकीसम्म प्रयोग गर्ने शब्दावली अङ्ग्रेजी हुँदा संस्कार बिग्रिएकाले आफ्नो भाषा भेष सिकाउन पनि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारी लागू गरिएको उहाँको भनाइ थियो ।

नगर उपप्रमुख शान्ति नेपालले कक्षा १ देखि १२ सम्मको शिक्षाको अधिकार संवैधानिक रुपमा स्थानीय तहलाई दिइए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेकोतर्फ मन्त्री पोखरेलको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नगर शिक्षा शाखाप्रमुख विजयप्रसाद आचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, पाठ्यक्रम व्यवस्थापन समिति संयोजक दीपकसिंह भण्डारी, पाठ्पुस्तक लेखन समिति संयोजक कृष्णप्रसाद नेपाल, प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले नगरपालिकाका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू भएको बताउनुभयो । सो अवसरमा पाठ्यपुस्तक लेखनमा संलग्न विभिन्न व्यक्तित्वलाई मन्त्री पोखरेलले सम्मान गर्नुभएको थियो ।

+2 School
Counseling
Bachelors Portal