नेपाली आवश्यकताका आधारमा विश्वविद्यालय खोल्नुपर्छ

नेपाल भौगोलिक रुपमा सानो छ तर प्राकृतिक सम्पदामा धनी छ । हामी यसैमा गर्व गर्छौं । सके व्यापार पनि गर्छौं । हामीसंग संसारको सर्वोच्च शिखर सगरमाथा छ । घाँटी, भन्ज्याङ, बेँसी, नदी नाला प्रशस्त छन् । तराईका सम्म फाँटले पहाडका नागबेली भूभागलाई स्पर्श गर्दै बर्सैंदेखि हिमालको यात्रा  गरिहेको छ भने हिमालका  मोति लहरले चिप्लेटी खेल्दै तराईका  भूभागलाई सिङ्गारी रहेको छ । यसैमा हामी रमाएका छौं । यिनै सम्पदाको विश्वमा चर्चा गर्छौं । धर्तीले आफ्नो छातिमा लुकाएर राखेको बहुमूल्य जडिबुटीको कुरा गर्छौं, त्यसैको पहिचानले आफूलाई विश्वमा चिनाउँछौं । यिनका उपमा र उपमेयले हामी बाँचेका छौं।

इलामको अन्तु डाँडामा गएर गीत गाउँछौं फेरी फोक्सुन्डोमा गएर शीतलताको अनुभूतिसंगै प्रफुल्लित हुन्छौं तर हामी सबै विर्सन्छौं यी त हाम्रा प्राकृतिक उपहार हुन् । अथाह संभाव्य क्षेत्र र सीमित स्रोतका कारण हामीले आफैं केही गर्न सकेका छैनौं ।

हाम्रो शिक्षा केवल डिग्री लिनका लागि मात्र सीमित भइरहेको छ । हामीले सिकाइलाई जीवनसंग जोड्न सकेका छैनौं । हाम्रा अनुसन्धानहरू अर्थोपार्जनसंग जोडिन सकेका छैनन् । त्यसैले हामी गरिबका गरिब नै रहेका छौं ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटनको प्रचुर सम्भावना छ । हाम्रो भौगोलिक, पारिस्थितिक प्रणालीको विविधता जस्ता अन्य कारणले पर्यटन व्यवसाय फस्टाउन सक्छ । तर यसलाई हामीले व्यवस्थित रूपमा विकास गर्न सकेका छैनौं । हामी कहाँ बाह्य पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन र ल्याउन सक्ने दक्ष जनशक्तिको अभाव छ ।

हामीले यसमा विचार पुर्‍याउन सकेका छैनौं । यी क्षेत्रमा विश्वविद्यालयले आवश्यक जनशक्ति उत्पादन गर्न सकेको छैन । सरकारले नेपालमा पर्वातारोहणका लागि ४०३ भन्दा बढी हिमाललाई खुला गरिसकेको छ । तर आरोहीलाई हिमाल आरोहणका प्राविधिक पक्षमा जानकारी गराउने दक्ष जनशक्तिको खाँचो छ । विश्वका आरोहीहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन गाइड तथा उद्दार कर्मीको आवश्यकता छ । पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनका लागि सिप युक्त जनशक्तिको अभाव छ ।

नेपालमा प्रशस्त जलस्रोत छ । तर यसको सदुपयोग गर्न सकेका छैनौं । कृषि प्रधान हाम्रो देशमा अहिले पनि आकाशे पानीको भरमा खेती गर्नु परिरहेको छ । समयमा पानी नपरे खेतबारी बाँझै हुन्छन् । सिंचाइ गर्न सकिएको छैन् । जलस्रोतको उपयोग गरेर जलविद्युत उत्पादन गर्न सकिएको छैन । यसका लागि पनि विदेशीकै भर पर्नु परिरहेको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देशलाई त्यही सम्पदाको संरक्षण, संवर्धन गर्दै जीवन निर्वाह गर्न सिकाउने विश्वविद्यालयको खाँचो छ । नेपाल सांस्कृतिक विविधताले सम्पन्न छ । यसको प्रचारप्रसार गरी आर्थिक समृद्ध हासिल गर्न सक्ने शिक्षाको आवश्यकता छ । यसका लागि विश्वविद्यालयले विशेष प्राथमिकताका साथ पठनपाठन गराउने व्यवस्था गर्नुपर्छ ।

हामीले चिकित्सा क्षेत्रमा पनि आवश्यक जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौं । औँलामा गन्न सकिने राम्रा चिकित्सकहरू उत्पादन भएका छन् । सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको खाँचो छ । एकै खालको शिक्षा प्रदान गर्ने वातावरण तयार गर्न सकिएको छैन । सरकारी छात्रवृतिबाट उत्पादन भएका चिकित्सकहरूलाई पनि नेपालमा रोक्न सकिएको छैन । सरकारले उत्पादन गरेका चिकित्सक पनि ८० प्रतिशतभन्दा बढीले आफ्नो कर्म क्षेत्र विदेशलाई नै बनाउने गरेका छन् । 

त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, लुम्बिनी बौद्ध, पोखरा, पूर्वाञ्चल, मध्य पश्चिम, सुदुर पश्चिम, कृषि तथा वन, खुला र राजर्षिजनक विश्वविद्यालय तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) जस्ता अनुसन्धान केन्द्र छन् । यिनीहरूले एक आपसमा अन्तरसम्बन्धित विषयको पठनपाठन गराइ रहेका छन् । कतिपय विश्वविद्यालयले केही विषय परिमार्जन गरी पठनपाठन गराइ रहेका छन् । तर यी विषयहरू पर्याप्त छैनन् ।

अबको आवश्यकता भनेको प्रमाणपत्रधारी भन्दा पनि प्रमाण पात्र उत्पादन गर्ने हो । प्रमाण पत्रमा हासिल गरेको विज्ञताको उपयोग गरी जीविकोपार्जन गर्न सिकाउने हो । त्यसैले सिकाइलाई जाीविकोपार्जनसंग जोड्ने हो । जीवनोपयोगी, व्यावहारिक शिक्षा भनेर नारा लगाएर मात्र हुँदैन । यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सिकाइलाई निर्वाहमुखी बनाउनुपर्छ । स्थानीय आवश्यकता र मागलाई ध्यानमा राखी विश्वविद्यालय खोल्नुपर्छ । चाहे त्यो सरकारी होस् वा सामुदायिक । यसले फरक पार्दैन तर विश्वविद्यालय सिकाइका लागि हुनुपर्छ ।

पुराना विषय नै पठनपाठन गराउने विश्वविद्यालयभन्दा पनि अनुसन्धानलाई अर्थव्यवस्थासंग जोड्ने गरी पठनपाठन गराउने विश्वविद्यालय खोल्नुपर्छ । त्यसैले नेपालमा वातावरण तथा पर्यटनलाई केन्द्र विन्दुमा राखेर शिक्षण गर्ने विश्वविद्यालको आवश्यकता छ । देशमा उफलब्ध जनशक्ति, देशका लागि चाहिने जनशत्तिको मूल्याङ्कन गरी आवश्यकीय क्षेत्रको विश्वविद्यालय नेपालमा खेल्नु सान्दर्भिक हुन्छ । 

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम.आई.टी), स्ट्यानफोर्ड विश्वविद्यालय, हार्वर्ड विश्वविद्यालय तथा बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज जस्ता विश्वविद्यालयमा पढ्ने विश्वका हरेक विद्यार्थीले सपना देख्ने गरेका छन् । विश्वका अधिकांश विद्यार्थी तथा अनुसन्धानकर्ताको आकर्षणका केन्द्र बनेका यी विश्वविद्यालय त्यसै सबैको रोजाइमा परेका भने होइनन् । यिनमा विशुद्ध शैक्षिक वातावरण छ । हरेक विषयको अनुसन्धान प्रभावकारी छ । प्रत्येक अनुसन्धानले युगान्तकारी परिवर्तन लिएर आउँछन् । त्यतिकै विश्वसनीय पनि छन् । त्यसैले विश्वका विद्यार्थीको आकर्षणका केन्द्र बनेका हुन् ।

नेपालमा यस्तै विश्वविद्यालय सञ्चालन गर्न नसकिने होइन । तर नेपालमा यस्तो वातावरण छैन । नेपालका विश्वविद्यालयलाई विशुद्ध रूपमा विश्वविद्यालयका रूपमा चल्न दिइएको छैन । कहिले विद्यार्थी, कहिले प्राध्यापक कहिले पदाधिकारी छनौट लगायत अनेक बाहानामा बाह्य हस्तक्षेप हुनु गरेको छ । कतिपय अवस्थामा ठाडो हस्तक्षेप हुन्छ । ज्ञानको मन्दिर तथा अनुसन्धानको केन्द्र मानिने विश्वविद्यालय यसको प्रहारले पटकपटक शिथिल हुने गरेको छ । त्यसैले हाम्रा विश्वविद्यालयले चाहे जस्ता जनशक्ति उत्पादन गर्न सकिरहेको छैन ।

विश्वविद्यालय भनेको विज्ञतालाई निखारी हिरा जस्तै कञ्चन जनशक्ति उत्पादन गर्ने स्थल हो । यहाँबाट उत्पादित जनशक्तिले आफ्नो विषय तथा रूचिका विषयमा आफ्नो वौद्धिकता हासिल गर्ने हुनाले उनीहरूले सोही क्षेत्रमा सेवा प्रवेश गरेमा राज्यको प्रगतिले छिट्टै फड्को मार्छ ।

विश्वका आर्थिक समृद्ध हासिल गरेका देशमा विश्वविद्यालयहरू स्वतन्त्र हुन्छन् । प्राज्ञिक क्षेत्रकै पदाधिकारी हुन्छन् । त्यसैले ती देशका विश्वविद्यालयले देशका लागि आवश्यक दनशक्ति उत्पादन गर्न सफल भएका हुन् । समृद्ध राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त विशुद्ध विश्वविद्यालयको नेपालमा खाँचो छ । 

त्यसैले विश्वविद्यालय सञ्चालन सम्बन्धी ऐन नियममा नै हस्तक्षेपमुक्त विश्वविद्यालयको सुनिश्चितता गरेपछि माक्र राष्ट्रलाई आवश्यक जनशत्ति उत्पादन गर्न सकिन्छ ।

(कुराकानीको सम्पादित अंश)