A Levels MA

यातायात सहजभएपछि लाइसेन्स वितरण

शिक्षक सेवा आयोगले यातायात सहज भएपछिमात्र अध्यापन अनुमतिपत्र वितरण गर्ने भएको छ ।

आयोगले सञ्चालन गरेको अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएकाहरुको प्रमाणपत्र कोभिड–१९ का कारण वितरण हुन सकेको छैन ।

आयोगका प्रशासकीय प्रमुख वैकुण्ठ अर्यालले अध्यापन अनुमतिपत्र छपाइ गरेर सुरक्षितसाथ राखिएको बताउँदै भने, “यातायात सहज हुन नसक्दा प्रमाणपत्र पठाउन पाएका छैनौँ । यातायात सञ्चालन हुने अवस्था आएपछि धमाधम पठाउनेछौँ ।”

२०७६ सालमा सञ्चालन गरिएको अध्यापन अनुमतिपत्रका लागि करिव दुई लाख २६ हजार परीक्षार्थी सम्मिलित थिए र तीमध्ये करिव १८ हजार उत्तीर्ण भएका थिए । बन्दाबन्दी अघि नै माध्यमिक र निम्न माध्यमिक तहको तथा गत असारमा प्राथमिक तहको नतिजा सार्वजनिक गरिएको थियो । यसपटक विषयगत परीक्षा लिइएको थियो ।

अध्यापन अनुमतिपत्र सम्बन्धित प्रादेशिक शिक्षा विकास निर्देशनालयमा पठाइने भएको छ । पहिलोपटक प्रादेशिक शिक्षा विकास निर्देशनालयमा पठाउन लागिएको हो । विगतमा क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाइन्थ्यो । उत्तीर्ण भएका विद्यार्थीले अध्यापन अनुमतिपत्र लिन सम्बन्धित शिक्षा निर्देशनालयमा जानुपर्ने हुन्छ ।

यसैबीच आयोगले शिक्षकको स्थायी पदका लागि तत्काल विज्ञापन नखुलाउने भएको छ । आयोगका अध्यक्षको पदावधि आगामी असोजमा सकिदैछ भने बाँकी दुई सदस्य रिक्त छन् ।

आयोगका प्रशासकीय प्रमुख अर्यालले आयोगले पूर्णता नपाउँदासम्म विज्ञापन आह्वान नगरिने स्पष्ट गर्दै थपे, “विज्ञापन नखुले पनि त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।” 

Thuprai - Books and E-books