Ranakalin Shiksha

पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादान

मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा मार्न जानुअघि उनीहरूकी आमा कुमारी माझी खाना बनाउँदै थिइन्। ‘दुवैले पढ्दापढ्दै स्कुल छाडे,’ ४५ वर्षीया कुमारीले कराईमा तिहुन ओइरिँदै भनिन्, ‘पैसा नभएपछि, घर धान्न गाह्रो भएपछि पढाइ छोडाउनुप-यो।’

स्थानीय हीरादेवी आधारभूत विद्यालय पढिरहेका हरिले कक्षा ७ र दीपकले ८ बाट पढाइ छाडेका थिए। त्यसपछि उनीहरूको दिनचर्या इन्द्रावतीमा माछा मारेर बित्ने गरेको छ। सिजनमा खेतीपातीको काम गर्छन्। ‘माछा नमारेर के गर्नु ?’ केही पश्चात्तापको भाव दर्साउँदै दाजुभाइले भने, ‘साथीभाइको लहलहैमा पढाइ छाडिहालियो।’

ठूलीकान्छी माझीका दुई छोराले पनि कक्षा ९ पढ्दापढ्दै विद्यालय छाडे। एक वर्षअघि पढाइ छाडेर गाडीमा सहचालकको काम हिँडेका उनका जेठा छोरा राजकुमार र कान्छा कमल अहिले चालक बनेका छन्। ‘सधैं पढ्न गए कसले कमाएर ल्याउँछ ?’ ४५ वर्षीया ठूलीले अड्डी कसिन्, ‘दुई–चार सावाँ अक्षर चिने पुगिहाल्यो नि !’

घरको पिँढीमा बसेर बिहानीको पारिलो घाममा शरीर तताउँदै गर्दा भेटिइन् १७ वर्षीया सीता माझी। हीरादेवीमै कक्षा ७ पढ्दै गर्दा तीन वर्षअघि उनले पढाइ छाडेकी रहिछन्। राम्रो परिवारको केटा पाए यो वर्ष आफ्नो बिहे गराइदिने चर्चा घरमा सुरु भएको उनले सुनाइन्। ‘पढाइ छोडिहालियो,’ उनले भनिन्, ‘अब परिवारले भनेको नमानेर के गर्नु ?’ विद्यालय छाडेयता उनको समय खेतीपातीको काममा बित्दै आएको छ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि बनाइएको ४६ घरधुरीको माझी बस्ती चिटिक्क देखिन्छ। सहरकै छनक दिने उक्त बस्तीका बालबालिकाको शैक्षिक अवस्था निकै कारुणिक छ। बस्तीमा बीचमै पढाइ छाडेका १४–१७ वर्ष उमेर समूहका बालबालिका प्रशस्तै भेटिन्छन्। पढाइ छाडेर छोराहरू ड्राइभर बन्न निस्कन्छन् भने छोरीहरूको उमेरै नपुगी बिहे हुने गरेको छ। पढाइ छोडेका केही इन्द्रावतीमा माछा मारेर बरालिन्छन्। कतिपय खेतीपातीमा समय बिताउँछन्। गाउँमा अझै बालविवाहको प्रचलन छ।

‘गाउँमा यस्तै चलन छ,’ ६० वर्षीय धनबहादुर माझीले बस्तीका बालबालिको अवस्था चित्रण गरे, ‘कक्षा ५ देखि ८ पढ्दापढ्दै बालबालिकाले पढाइ छाडिदिन्छन्।’ गाउँमा हुर्केका छोरा चालक बन्ने लहड छ। बाबुआमाले बिहे नगराए पनि छोरीहरू प्रेमविवाह गरेर हिँड्ने गरेको उनले बताए।

हीरादेवीमै कक्षा ८ मा पढ्ने छात्रा सावित्री माझीको महिनाअघि बिहे भयो। १५ वर्षीया उनी बिहेपछि विद्यालय आउन छाडेको प्रधानाध्यापक गणेश दाहालले बताए। उनका अनुसार चालु शैक्षिक सत्रको एक तिहाइ समय बाँकी रहँदै सावित्रीसहित ६ जनाले विद्यालय छाडिसकेका छन्। कक्षा ५ का पुकार तथा ६ का भूपेन्द्र, गोपाल, रामकुमार र सञ्जयले पढाइ छाडेका हुन्। ‘सहचालकको काम थालेका उनीहरू गाडी चलाउन जान्ने भइसके,’ उनीहरूका बारेमा बताउँदै उनले भने।

शैक्षिक सत्र सकिन तीन महिना समय बाँकी रहेकाले बीचमै पढाइ छाड्नेको संख्या अझै बढ्न सक्ने प्रधानाध्यापक दाहाल औंल्याउँछन्। गाउँमा छोरीको मात्र होइन, छोराको पनि सानै उमेरमा बिहे हुन्छ। बिहेपछि उनीहरू पढ्न जाँदैनन्। गत वर्ष कक्षा ७ मा पढ्दै गर्दा बिहे भएपछि सुधीर माझीले विद्यालय छाडे। उनी अहिले बाबु बनिसकेका छन्। कक्षा ७ मा पढ्दै गर्दा गत वर्ष प्रमिला माझीको पनि बिहे भयो। त्यसयता उनी विद्यालय फर्केर आइनन्।

माझी बस्तीबाट सबैभन्दा नजिकको हीरादेवी १५ मिनेटको दूरीमा छ। यो शैक्षिक सत्रको सुरुमा ३८ माझी बालबालिका हीरादेवीमा पढ्थे। बर्सेनि १० जनाजति माझी बालबालिकाले विद्यालय छाड्ने गरेको तथ्यांक प्रधानाध्यापक दाहालले पेस गरे। उनका अनुसार तल्लो कक्षामा अधिकांश बालबालिका भर्ना हुन आउँछन्। कक्षा चढ्दै जाँदा ५ पछि उनीहरू अनियमित हुन थाल्छन्। त्यसपछि कक्षा ५/७ पढ्दै गर्दा धेरैले विद्यालय छाडिसक्छन्।

‘कक्षा ८ उत्तीर्ण गरेर ९ पढ्न जाने मुस्किलले एक–दुईजना भेटिन्छन्,’ उनले भने। हीरादेवीमा कक्षा ८ सम्म पढाइ हुन्छ। कक्षा ९ देखि माथि पढ्न गाउँकै शीतलादेवी र ४५ मिनेट पैदल दूरीको मेलम्चीको इन्द्रेश्वरी मावि जानुपर्छ। शीतलामा पढ्ने यो बस्तीका माझी बालबालिका एउटा छैनन्। पढ्ने बालबालिका पनि नियमित विद्यालय जाँदैनन्। उनीहरू आलोपालो गरेर मात्र विद्यालय पुग्छन्। एउटा शैक्षिक सत्रमा एक सय ८० दिन विद्यालय खुल्दा अधिकांश माझी बालबालिकाको हाजिर ६० दिन पनि नपुग्ने प्रधानाध्यापक दाहालले जानकारी दिए।

माझी गाउँमा पढ्ने उमेरका बालबालिकाको संख्या झन्डै ७० छ। हीरादेवीमा यो वर्ष भर्ना भएका ३८ मध्ये ६ जनाले पढाइ छाडिसकेका छन्। अरूले अघिल्ला वर्षमा विद्यालय छाडेका हुन्। १० जनाजति साना उमेरका बालबालिका बोर्डिङ पढ्न मेलम्ची पुग्छन्। इन्द्रावतीमा माछा मार्ने र दुवाली थुन्ने सल्लाह हुँदा होस् या गाउँमा बिहे, व्रतबन्ध पर्दा विद्यालय माझी बालबालिकाविहीन हुन्छ।

‘माझी बालबालिकालाई विद्यालय टिकाउन केही सीप लागेन,’ प्रधानाध्यापक दाहालको गुनासो छ। उनीहरूलाई टिकाउन हीरादेवीले केही वर्षदेखि नर्सरीदेखि कक्षा १ सम्म चारवटा कक्षामा अंग्रेजी माध्यममा पढाउँदै आएको छ। कक्षा ८ सम्म माझी बालबालिकाका लागि मात्र विद्यालयले दिवाखाजा कार्यक्रम लागू गरेको छ। उनीहरूको पढाइलाई नियमितता दिन विद्यालयले कक्षा ८ सम्मै दिवाखाजा विस्तार गरेको हो। बर्सेनि झोला, पोसाक र कापीकलमको व्यवस्था गर्दै आए पनि माझी बालबालिकाको बीचमै विद्यालय छोड्ने दरमा सुधार ल्याउन नसकिएको दाहाल बताउँछन्।

भूकम्पपछि माझी परिवार बढेर ५२ घरधुरीमा विस्तार भएको छ। अल्पसंख्यक, सीमान्तकृत माझी समुदाय सामाजिक, आर्थिक र शैक्षिक रूपमा निकै पिछडिएका छन्। उनीहरूलाई खेतीपातीको उब्जनीले तीन महिनाभन्दा बढी खान पुग्दैन। बाँकी समयका लागि रसदपानी जुटाउन इन्द्रावतीमा माछा मार्नु र मजदुरी गर्नु उनीहरूको बाध्यता हो। त्यसैले उनीहरू हुर्केका छोरा कमाउन निस्किऊन् भन्ने चाहन्छन्। छोरीको बिहे गरे घरव्यवहार छारितो बन्दै जाने सोच्छन्।

नजिकैको इन्द्रावतीमा गिटी, बालुवा उत्खनन हुने भएकाले छोराहरूको रोजाइमा टिपर पर्ने गरेको छ। गाउँमा टिपर चालक बन्ने होडबाजी रहेको ४० वर्षीया पदमकुमारी माझी बताउँछिन्। उनका अनुसार चालक बनेकाले रामै्र कमाइ गरिरहेका छन्। ‘एक किलो माछा मारेर बिक्री गरे पनि एक हजार रुपैयाँ कमाइ हुन्छ,’ कमाइकै लोभले हुर्केका छोराछोरीले पढाइ छाड्ने सुनाउँछिन् उनी।

माझी समुदायमा उमेरै नपुगी छोरा र छोरीको बराबरी संख्यामै बिहे हुने गरेको छ। त्यसैले बस्तीमा कलिलै उमेरका बुहारी धेरै भेटिन्छन्। कतिपय सानैमा आमा बनिसकेका छन्। कलिलैमा आमा बन्ने मध्येकी हुन् १९ वर्षीया अप्सरा माझी। बस्तीमा भेटिँदा उनी आफ्नो पाँच महिने शिशुलाई तेल घस्दै थिइन्। छिमेकी ज्यामिरे रामपुर गाउँकी उनको कक्षा ८ पढ्दापढ्दै दुई वर्षअघि बस्तीका लक्ष्मण माझीसँग बिहे भएको थियो। बिहेपछि लक्ष्मण पनि पढाइ छाडेर सहचालक बन्न निस्किए। बिहेअघि उनी पनि कक्षा ८ पढ्दै थिए।

आफ्ना पति लक्ष्मण अहिले ड्राइभर चालक बनिसकेको अप्सराले बताइन्। उनका अनुसार आफूजस्तै सानैमा बिहे गरेर कलिलैमा आमा बन्ने बस्तीमा धेरै छन्। ‘पढाइ छुटाएर छोरीकै बिहे गर्दिने गाउँमा बुहारीलाई विद्यालय पठाउने कुरा सपनाजस्तै हो,’ निदाउनै लागेका काखे शिशु थुमथुम्याउँदै उनले भनिन्।

समाचार आजको नागरिक  दैनिकले छापेको छ ।