पृष्ठभूमि
आजको युग विज्ञान तथा प्रविधिको युग हो । परापुर्वकालदेखि नै जानेर या नजानेर होस् मानिसले विज्ञानको प्रयोग गर्दै आएको छ । वर्तमानसम्म आइपुग्दा यसको प्रयोग गर्ने तरिकामा केही परिवर्तन आएको देखिन्छ । विज्ञानको प्रयोग जुन राष्ट्रले राम्रोसँग गर्न सक्यो, सबैभन्दा शक्तिशाली राष्ट्र त्यही बन्नसक्छ । कुनै पनि विषयको प्रयोग, अनुभव र अवलोकनमा आधारित रहेर गरिने क्रमवद्ध र व्यवस्थित ज्ञान नै विज्ञान हो । विज्ञानले ब्रम्हाण्डका बारेमा परीक्षण योग्य व्याख्या र भविष्य वाणीको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । विज्ञानको प्रमुख उद्देश्य नै प्रमाणमा आधारित सत्य तथ्यको खोजी गर्नु हो । यो अवलोकन गरेर सिक्ने सिद्धान्तमा आधारित छ । जीवन अथवा गैर जीवित ब्रह्माण्डको बारेमा अधिक जानकारी प्राप्त गर्नु विज्ञान हो । मानव सर्वश्रेष्ठ प्राणी हो, जसले ज्ञानको इच्छा गर्नसक्छ । मानव बाहेक अन्य जीवले ज्ञानको इच्छा गर्न सक्दैन ।
विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विधा हो, जो विचार अवलोकन, अध्ययन र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्त ज्ञानका लागि गरिन्छ । विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरिकालाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ । यसप्रकार भन्न सकिन्छ कि कुनै पनि विषयको क्रमवद्ध ज्ञानलाई विज्ञान भनिन्छ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ ।(स्रोतः विकिपिडिया )
हरेक व्यक्ति परिस्थितिको दास हो । परिस्थितिले सिर्जना गरेका विपद्, सुख, दुःख हरेक व्यक्तिले झेल्नैपर्छ । विश्वमा विभिन्न समयमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा विपद आएका घटना हाम्रा सामु जगजाहेर नै छन् तर विज्ञानलाई नै चुनौती दिने अन्य प्रकोपभन्दा पृथकरूपमा प्रस्तुत भएको यो कोरोना भाइरसको महामारीले अहिले विश्व नै सन्त्रासपूर्ण वातावरणमा छ । अन्य मुलुक जस्तै नेपाल सरकारले पनि आफ्नो देशमा थप संक्रमण बढ्न नदिन लकडाउन गरिरहेको छ । विपदको अवस्थामा हरेक व्यक्तिलाई मानसिक तनाव बढ्नु स्वाभाविकै हो तर हरेक समस्याको पनि सकारात्मक पक्ष खोतली परिस्थितिसँग सामना गर्ने र आफुलाई अग्रगामी दिशातर्फ लैजानसक्नु नै एक सफल र जिम्मेवार नागरिकको कर्तव्य हो । त्यसकारण यो चुनौतिपूर्ण समयमा आफू र आफ्नो परिवारको ख्याल राखी आफुलाई व्यस्त राख्नुको साथै सिर्जनात्मक कार्यमा लाग्नुपर्दछ । विज्ञान विषय आफैंमा एक खोजी गर्ने, अन्वेषण गर्ने विषय भएकोले कोरोना महामारीसम्बन्धी विशेष घटनाको जानकारी राख्ने, अनिश्चित र भ्रामक समाचारको पछि नलागी सही र तथ्यगत समाचारको खोजी गर्ने तथा आगामी दिनमा हुनसक्ने घटनाबारे अनुमान गर्ने जस्ता क्रियाकलाप गर्नुपर्छ ।
घरभित्रको सिकाइ
घर बालकको पहिलो पाठशाला हो । अभिभावक पहिलो शिक्षक हुन् । विद्यालयको चौघेराभित्र मात्र सिकाइ हुँदैन । विना पाठ्यपुस्तक पनि सिकाइ हुन्छ । सिकाइले बालबच्चाको व्यवहारमा सकारात्मक परिवर्तन गराउन सक्नुपर्छ । जब बच्चाले आफ्नो कार्य आफै गर्न सक्छ, अनुशासित र असल हुन्छ, तब मात्र सिकाइ भएको ठहर्छ । त्यसकारण बच्चाहरूले आफ्नो सामानको सुरक्षा, जतन र प्रयोग गर्न सिक्ने, आफ्नो व्यक्तिगत तथा वातावरणको सरसफाइ गर्न सिक्ने, परिवारका सदस्य तथा अन्यसँग गरिने शिष्टाचार गर्न सिक्ने, धर्म, संस्कृति, संस्कार, नैतिक शिक्षा, ज्ञानगुनका कुराहरू सिक्ने, करेसावारी तथा फूलबारीको हेरचाह गर्न सिक्ने, घरायसी काम तथा भान्साको काम गर्न सिक्ने, माया ममता तथा सद्भाव आदान प्रदान गर्न सिक्ने, पारिवारिक वातावरण उल्लासमय बनाउन प्रयत्न गर्ने, उपयोगी सामग्री डाउनलोड गर्न सिक्ने जस्ता क्रियाकलाप गर्नुपर्दछ । यस्तै आचरणसम्बन्धी महत्वपूर्ण जानकारीका साथै यस लेखमा मैले घर र घर वरिपरिको वातावरणलाई विज्ञानसँग जोडेर विद्यालय बन्द भएको अवस्था तथा अन्य अवस्थामा पनि गर्न सकिने सिकाइ रमाइला सिकाइ क्रियाकलापमार्फत पस्कदै घरभित्रको सिकाइलाई केही हदसम्म भने पनि सहयोग हुने विश्वास लिएकी छु ।
घरभित्रको विज्ञान
हाम्रो घर भित्रको प्रत्येक क्रियाकलापसँग विज्ञान जोडिएको हुन्छ । हामी भान्साकोठामा विभिन्न प्रकारका खाना बनाउने, खाने जस्ता कार्य गर्छौं । चिया बनाउँदा चियामा दूध, चिनी, चियापत्ती, पानी जस्ता वस्तु मिसाइएको हुन्छ । जसबाट मिश्रण बन्ने तरिकाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । त्यस्तै चिया छान्दा मिश्रण छान्ने विधिको प्रयोग तथा अवलोकन गर्न सकिन्छ । जब पानीलाई ताप दिइन्छ, तब पानीका अणुहरू गतिशील हुन्छन् र पानी उम्लन थाल्छ । यसबाट पानीको उम्लने प्रक्रिया, वाष्पीकरण तथा पदार्थमा तापको असरको बारेमा पनि अवलोकन गर्न सकिन्छ । त्यस्तै भान्सामा पाइने चिनी, नुन आदिको मणिभ अवलोकन गर्ने, बनाउने जस्ता क्रियाकलाप गर्नुपर्छ । यस्तो प्रक्रिया अवलोकन गर्दै अभ्यासमा ल्याइरहँदा सिकाइलाई निरन्तर कायम राख्न सकिन्छ । घर परिवारप्रतिको आफ्नो जिम्मेवारी बोध हुन्छ साथै आफ्ना अभिभावकलाई पनि काममा सघाउ पुग्न जान्छ ।
भान्सामा बिभिन्न प्रकारका गेडागुडी हुन्छन् । तिनीहरूलाई एक दलीय र दुई दलीय गरी छुट्याउने, सूची बनाउने तथा तिनीहरूको विशेषता लेख्ने । भान्सामा विभिन्न धातुका भाडाकुडा हुन्छन् । तिनीहरूको प्रकृति कस्तो हुन्छ ? मिश्रित धातु के के छन् ? तिनीहरू कुन कुन धातुबाट बनेका छन् ? भौतिक र रासायनिक गुणहरू कस्ता हुन्छन् ? जस्ता कुराको खोजी तथा अवलोकन गर्ने, विश्लेषण गर्ने गर्नुपर्छ । सेन्टीफ्यूजिङ विधिअनुसार हलुका र गह्रौ मिश्रणलाई छुट्याउन सकिन्छ, जुन हाम्रो भान्सामा दहीबाट नौनी निकाल्ने (मही बनाउने) प्रक्रियामा प्रयोग गरिन्छ । यसबाट फर्मेन्टेसनको बारेमा समेत जानकारी लिन सकिन्छ ।
हामी करेसाबारीमा विभिन्न प्रकारका फूलहरू तथा तरकारीहरू लगाउने गर्छौँ, जसबाट बिउ अंकुरण हुने प्रक्रियाको प्रयोग तथा अवलोकन गरी ज्ञान लिन सकिन्छ । फूलबारीमा भएका फूलहरूबाट फूलका विभिन्न भाग (पत्रदल, पुष्पदल, भाले प्रजनन् र पोथी प्रजनन् अँग) छुट्याउन सकिन्छ ।
तराईका प्रायः भागहरूमा पानीको स्रोतको रूपमा ट्यूबवेल पाइन्छ । ट्यूबवेलबाट पानी निकाल्दा हुने चापको अप स्ट्रोक र डाउन स्ट्रोक प्रक्रियाको प्रयोग गर्न सकिन्छ । लुगा धुँदा प्रयोग हुने साबुन, डिटर्जेंटको रासायनिक प्रकृति तथा सुत्र पत्ता लगाउने तथा बन्ने प्रक्रिया अध्ययन गर्न सकिन्छ ।
मानव शरीरमा विभिन्न भाग छन् । आफ्नै शरीरमा भएका विभिन्न भागको अवलोकन तथा अध्ययन गर्ने, ज्ञानेन्द्रियहरूको सूची तयार पार्दै तिनीहरूको कार्य लेख्ने प्रयास गर्नुपर्दछ ।
परियोजना कार्य
कोठाभित्र इन्द्रेणी बनाउने
सामग्रीहरू : गिलास, पानी र सेतो कागज
घाम लागेको दिनमा सूर्यको प्रकाश भएको ठाउँमा (झ्याल नजिक) बस्ने, एउटा पानी भएको गिलास र कागज लिने, कागजको माथि पानी भएको गिलास उठाउने र त्यसमा सूर्यको प्रकाश गइरहेको र बाँगिएको हेर्ने जहाँ इन्द्रेणीको निर्माण भएको हुन्छ । यसको विभिन्न असर हेर्न गिलासलाई विभिन्न उचाइमा कोठामा उठाउन प्रयास गर्ने । त्यस्तै गिलासमा आधा पानी राखी त्यसमा पेन्सिल, सिक्का डुबाएर प्रकाश आवर्तनको प्रक्रिया अवलोकन गरी प्रकाश आवर्तनको प्रक्रिया चित्र बनाउने ।
पानीको प्रयोग गरेर सँगीत र ध्वनि सुन्ने
सामग्रीहरू : पानी र गिलास
पानीको प्रयोग गरेर सँगीत र ध्वनि सुन्न सकिन्छ । यसको लागि बराबर आकारका तीनवटा गिलासहरू लिने, ती गिलास मध्ये एउटामा आधाभन्दा कम, एउटामा आधा र अर्कोमा आधाभन्दा बढी पानी राख्ने र प्रत्येक गिलासको मुखमा हातको औँलो या पेन्सिलले ठोक्दा फरक फरक गिलासबाट आएका फरक फरक आवाज र ध्वनी सुन्न सकिन्छ ।
गिलासमा आँधी बनाउने
सामाग्रीहरू : सेभिंग क्रिम, खाद्य रंग, पानी
एक ठुलो गिलासमा आधा जति पानी लिने, त्यसमाथि दारी काट्दा प्रयोग हुने सेभिंग क्रिम छर्कने र चम्चाले चलाउने अर्को भाँडोमा १० थोपा खाद्य रंगलाई आधा कप पानीमा मिसाउने र उक्त पानीलाई चम्चाले बिस्तारै गिलासमा भएको पानीमा थप्दै जाने र अवलोकन गर्दै जाने । यसबाट हावापानी र मौसमको बारेमा पनि जानकारी लिन सकिन्छ ।
लकडाउन परियोजना निर्माण गर्ने
सामग्रीहरू : पेन्सिल, कागज, रंग
अहिले लकडाउन छ । सडकमा गाडी तथा मोटर गुडेका छैनन् । धूलोधूवाँ छैन् । वायु प्रदूषण छैन । हावा स्वच्छ छ । मौसम राम्रो छ । आकाश सफा र नीलो देखिन्छ । वातावरण स्वच्छ र हरियाली छ । यिनै कुराहरू समेटेर “लकडाउन र वातावरण“ शीर्षकमा चित्रसहितको परियोजना कार्य निर्माण गरी रंग लगाउने जसबाट अधिक सिकाइ हुनुका साथै कालान्तरसम्म एक सम्झन योग्य क्षण पनि बन्नसक्छ ।
अध्ययनका लागि अन्य सन्दर्भ सामग्री
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले “सिकाइ चौतारी“ भन्ने लर्निंग पोर्टलको निर्माण गरेको छ । जसको लागि learning. cehrd. gov. np मा क्लिक गरी आफ्नो कक्षा रोज्न र विषय छान्न सकिन्छ । यसका विषयवस्तु नेपाली र अँग्रेजी दुवै माध्यममा प्राप्त गर्न सकिन्छ । यसमा विद्यार्थीहरूलाई रमाइलोसँग पढ्नका लागि विभिन्न भिडियो, पुस्तक खेल सामग्री लगायतका विषयवस्तु प्रत्यक्ष अन्तरक्रिया तथा मूल्याँकन गर्न सकिने गरी समावेश गरिएका छन् । साथै एनसीइडी भर्चुअल कक्षाहरू पनि यस पोर्टलमा समेटिएका छन् ।
त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एनटीभी प्लसबाट आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म एसईई लक्षित भर्चुअल कक्षाहरू प्रसारण गरिरहेको छ । उक्त कक्षाहरू Nced Virtual Class खोजी गर्दा युट्युबमा समेत भेट्न सकिन्छ ।
पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठ्यपुस्तक तयार पारेको छ जुन पाठ्यपुस्तक केन्द्रको वेवसाइट (https://moecdc.gov.np)बाट डाउनलोड गरी सिक्न सकिन्छ ।
त्यस्तै मोबाइलमा Khan Academy सर्च गर्दा यसको वेबसाइटमा जुनसुकै कक्षा र विषयका भिडियोहरू भेट्न सकिन्छ ।
Deerwalk learning Centre ले विज्ञानका अतिरिक्त अन्य विषयका लागि पनि विषयवस्तु र प्रत्येक पाठको भिडियो सामग्री तयार गरेको छ जसको लागि एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा DLCMobile सर्च गरी प्राप्त गर्न सकिन्छ ।
युनेस्कोले ग्लोबल डिजिटल लाइब्रेरी भन्ने वेवपोर्टल निर्माण गरेको छ । जुन पोर्टलमा विज्ञान लगायत अन्य विषयवस्तुसँग सम्बन्धित चित्र, कथा तथा रोचक विषयवस्तुका साथै बैज्ञानिकहरूका जीवनी, खोज तथा आविस्कारको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
Sikne Thalo मोबाइल एप्लिकेसनले घरमा नै बसेर मोबाइल चलाउँदै अध्ययन गर्न सकिने गरी विज्ञान लगायत विभिन्न विषयका अध्ययन सामग्रीहरू (नोट, अभ्यास सेटहरू, नमूना प्रश्नहरू)को अंग्रेजी र नेपाली दुवै माध्यममा अध्ययन सामग्री तयार गरेको छ । उक्त एप गुगल प्ले स्टोरमा Sikne Thalo गरी प्राप्त गर्न सकिन्छ ।
अध्ययनका लागि केही मुख्य वेवसाइट
काेभिड १९ बाट उत्पन्न विषम परिस्थितिका कारण विद्यालयहरू बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिइ सिकाइलाई शून्य हुन नदिन तथा यसलाई निरन्तरता दिन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्न निकायबाट निर्मित या अन्य स्रोतबाट उपलब्ध र Education Cluster द्वारा बालबालिकाको लागि उपयोगी ठानी सिफारिस गरिएका सामग्री देहायअनुसारका वेवसाइट (लिँक)मा प्रशस्त भेट्न सकिन्छ । यी वेवसाइटमा विज्ञानका अतिरिक्त अन्य विषयका अध्ययन सहयोगी सामग्री पाइन्छन् । जसमध्ये केही वेवसाइटहरू यस प्रकार छन् ।
कक्षा ६ देखि ८ सम्म अंग्रेजी, गणित र विज्ञानका विषयवस्तुका लागि
१) https://moest himalayantechies.com
२) E-pustakaalaya free and open Digital library: https://pustakalaya.org/ अथवा E-Pustakalaya मोबाइल अप्लिकेसनबाट सिधै डाउनलोड गर्न सकिने, अनलाइन, अफलाइन डाउनलोड गर्न सकिने ।
३) E-paath-Digital learning activities https://pustakalaya.org/epath/
४) Children’s stories and games :https://egr.pustakalaya.org/
५) Children’s books :https://pustakalaya.orgbalpaathmala/
६) class 9-10 maths science and english content https://www.youtube.com/channel/
८) https://www.digitallibrary.io (Global Digital Library)
९) Science Self Learning Materials (पाठ्यक्रम विकास केन्द्र )