शिक्षा मन्त्रालयको जग्गा निजी क्षेत्रलाई नदिइने: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतको भौतिक सम्पत्ति निजी क्षेत्रलाई नदिने बताएक छन् । आज केशरमहलको निरीक्षण गर्दै मन्त्री पौडेलले महल परिसरमा रहेको जग्गा निजी क्षेत्रको प्रयोजनका लागि नदिने बताएका हुन्।

सञ्चार माध्यममा केशरमहलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिने भन्ने समाचार बाहिरिएपछि आफू निरीक्षणमा आएको बताउँदै उनले सरकारी संरचनाहरू नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने बताए निरीक्षण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ‘केशरमहल शिक्षासँग सम्बन्धित ऐतिहासिक पुरातात्विक महत्वसंग जोडिएको छ ।’ मन्त्री पौडेलले भने, ‘यसको बाहिरतिर जमिनको कुरा पनि केही सामाजिक सञ्जाल, पत्रिकाहरूमा प्रकाशित भएको पनि जानकारी प्राप्त गर्यौं कतै शिक्षा मन्त्रालयमातहतका निकायहरूले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमिन दिन खोजेको हो कि भन्ने आशयको कुराहरू आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएको कुरा हो। कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालयमातहतका यसप्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन। कहीँ कतै भए–गरेको प्रप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ।’

उनले अबको ६ महिनाभित्रमा केशरमहलको पुनःनिर्माण गरीसक्ने गरी काममा लाग्न समेत निर्देशन दिए । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ ।